site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
नेपालमा बोरो धानको खेती 

धानको इतिहास धेरै पुरानो छ । धान बालीको उब्जनी पाँच हजार वर्ष ईसापूर्वबाट सुरु भएको विश्वास इतिहासकारहरूको छ । यसको पहिलो जानकारी २८०० ईसापूर्व चीनमा उल्लेख भएको पाइएको छ। धान दक्षिण एसिया र नेपालमा प्रमुख खाद्यान्न बाली हो। आर्थिक वर्ष २०२०/२०२१ को अनुमानअनुसार १४ लाख ७३ हजार ५०० हेक्टरमा धान बाली उत्पादन गरी ५६ लाख २१ हजार मेट्रिक टन उत्पादन भएको थियो भने उत्पादकत्व ३.८१५ टन प्रति हेक्टर रहेको थियो । 

सन् २०२२/२०२३ मा देशमा ७ लाख २४ हजार मेट्रिक टन चामल आयात गरिएको थियो भने स्वदेशी उत्पादन ५ लाख ८६ हजार टन थियो । यो बजारको माग धान्न अपुग थियो । नेपालमा धानको उत्पादनमा ह्रास र उपभोगमा वृद्धि भएसँगै चामलको माग पूरा गर्न आयात गर्नुपरेको हुन्छ । बढी जमिनलाई उत्पादनमा ल्याउने सम्भावना कम भएकोले  ज्ञान, विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित खेती गरेर प्रतिहेक्टर उत्पादकत्व बढाउनुपर्छ । यो अभाव परिपूर्ति गर्ने राम्रो उपाय दोहोरो धान खेती हुन सक्छ। 

नेपालको पूर्वी तराईमा खेती गरिने "बोरो धान" दोहोरो खेतीको लागि र आन्तरिक उत्पादनलाई वृद्धि गर्न उपयुक्त छ । बोरो राइसलाई हिउँदे धान भनेर चिनिन्छ।

KFC Island Ad
NIC Asia

" बोरो" एक बंगाली भाषाको शब्द हो जुन संस्कृत शब्द "बोरोब" बाट आएको हो। यसको अर्थ सिञ्चित क्षेत्रमा नोभेम्बरदेखि मेसम्मको खेतीलाई बुझाउँछ। पूर्वी तराईमा जाडो मौसमको अवधि छोटो हुने र पानी जमेको माटोको बाहुल्यका कारण गहुँ खेतीका लागि अनुकूल वातावरण छैन। त्यसैगरी त्यस्ता क्षेत्रमा गहुँबालीमा बाँझोपन पनि गम्भीर समस्या बन्दै गएको छ । तसर्थ, किसानले त्यस्ता क्षेत्रमा गहुँ खेती गर्न रुचाउँदैनन् । 

सिँचाइ सुविधा उपलब्ध भएपछि भने किसानहरू ती क्षेत्रमा गहुँभन्दा वसन्त वा बोरो धानमा जमिन छुट्याएर अधिकतम उत्पादन गर्न रुचाउँछन्। मोरङ, झापा, सर्लाही, नवलपरासी र सिरहा जिल्लामा बोरो धान खेतीमा सफलता देखिएको छ र यो सिँचाइमा सुविधा भएको क्षेत्रमा समेत लोकप्रिय बन्दै गएको छ । बोरो धानले प्रतियुनिट क्षेत्रफलमा धानको उत्पादन बढाउनसक्ने क्षमता राखेको छ तर अझै पनि कम क्षेत्रफलमा यसको खेती गरिएको छ । 

Royal Enfield Island Ad

सिँचाइ हुने क्षेत्रहरूमा, बोरो धान दोहोरो धान खेतीको विकल्प हो जहाँ किसानहरू गहन उत्पादन प्रविधि अपनाउन तयार हुन्छन् । झापा, मोरङ र नवलपरासी जिल्लामा परम्परागतरूपमा यसको खेती हुनेगरेको छ । यसको बीउ अक्टोबर/ नोभेम्बर महिनामा राखिन्छ, जनवरी/फेब्रुअरीमा रोपिन्छ र मे/जुनमा बाली भित्र्याइन्छ । बाली असफल हुने कम जोखिम, उच्च इनपुट प्रयोग र कम कीरा र रोगहरूको प्रकोपको कारणले यसमा अन्तर्निहित उच्च उत्पादन क्षमता छ। बोरो धान प्रतिहेक्टर ६.५ देखि ७.५ टनसम्म उत्पादन हुनेगरेको पाइएको छ । कम बादल, पर्याप्त घामको किरण र चिसो रातका कारण बोरोको उच्च उत्पादन हुन्छ । 

राष्ट्रिय धान अनुसन्धान कार्यक्रम (एनआरआरपी) ले सन् १९५० को दशकबाट विभिन्न प्रजातिहरूको विकासको लागि विदेशी प्रजातिहरू र स्थानीय जातहरुको सङ्कलन, उपयोग र चयन गर्न प्रणालीगत प्रजनन कार्यहरू सुरु गरेको थियो । मोरङ जिल्लाको रंगेली र यसका छेउछाउका गाउँहरूमा तुलनात्मकरूपमा थोरै भए पनि यी गाउँहरूमा काम गर्न आएका आसामका मजदुरहरूको सहयोगमा बोरो धानको खेती सुरुभएको थियो । 

सन् १९९० अन्त्यतिर मोरङ र झापामा परीक्षणको काम प्रारम्भ गर्न एनआरआरपी, परवानीपुर र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहराको पहलमा बोरो सिजनमा १२ सामान्य धानका जातहरुको सेट बनाएर स्क्रिनिङ गरिएको थियो । तीमध्ये,"जया" जातको धान चिसो सहने क्षमता र अन्न उत्पादनमा उत्कृष्ट रहेको थियो। पछि, डा. पिटर हब्सले बंगलादेश र भारतबाट केही उच्च वर्गको बोरो धान ल्याएर यसमा थप काम गरेका थिए । नतिजाका आधारमा जया, डीआर–११ र बीआर २९ ले बोरो सिजनमा राम्रो प्रदर्शन गरेको थियो । 

एनआरआरपीले झापा र मोरङ जिल्लाका कृषकमाझ बोरो धान जातको डीआर–११ र बीआर २९ प्रदर्शन गरेको थियो। किसानहरूले यी प्रजातिहरूलाई प्राथमिकता दिए र उनीहरूले डीआर–११ र जया बोरो सिजनमा खेती गर्न थाले । एनआरआरपीले सन् २००० देखि इन्टरनेसनल नेटवर्क फर जेनेटिक इभ्यालुएसन अफ राइस, (आईएनजीईआर) नर्सरीमार्फत बोरो धानका जात परीक्षण गर्न थालेको थियो । त्यस यता बोरो सिजनका लागि उपयुक्त धानका जात पहिचान गर्न आईएनजीईआर नर्सरी सञ्चालन भइरहेको छ। यसको आधारमा एसएसीजीए-४ बोरो सिजनमा रिलीजको लागि प्रस्तावित उपयुक्त जीनोटाइप मानिएको छ ।

उच्च उत्पादन र राम्रो बजार मूल्य हुने भएकाले बोरो धान खेतीमा किसानहरू चासो बढ्दो क्रममा छ । व्यापारीहरूले यसलाई चिउरा उत्पादनको लागी प्रयोग गर्ने भएकाले भर्खरै काटिएको अन्न पनि महँगो मूल्यमा बेच्न सकिन्छ । पूर्वी तराईको धेरैजसो जमिनमा चिस्यान बढी छ जुन जाडोमा दलहन बाली र गहुँ खेती गर्न उपयुक्त हुँदैन । तर, यी जमिनलाई सन्तोषजनक उत्पादनसहित बोरो धान खेती गर्न प्रयोग गर्न सकिन्छ । उच्च उत्पादन र कम रोग तथा कीरा संक्रमण हुने भएकाले यसको उत्पादनमा जोड दिन आवश्यक छ । बोरो धानको उत्पादन वृद्धि गरेर खाद्य सुरक्षा सुनिश्चित गर्न सकिन्छ । 

अपर्याप्त बोरो जात, गुणस्तरीय बीउको अभाव, अपर्याप्त प्राविधिक ज्ञान, सिँचाइको अभाव र बजार मूल्य बोरो धानको विस्तारका लागि सामान्य बाधा रहेको पाइएको छ । बोरो धानका लागि विकास गरिएका जातहरू जलवायु परिवर्तनका कारण बिस्तारै लोकप्रियता गुमाउँदै गएका छन् । ती जातहरूले किसानहरूको सामाजिक र सांस्कृतिक आवश्यकता पनि पूरा गर्नसकेका छैनन्। त्यस्तै, एउटै जीनोटाइपको बोरो धान खेतीमा प्रयोग भइरहेकाले विभिन्न रोग र कीराहरुको समस्याले सताउने समस्या उजागर हुने संभावना उच्च हुन्छ । नोभेम्बरको मध्यदेखि फेब्रुअरीको मध्यसम्ममा प्रायः १५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा जाने भएकाले बोरो उत्पादकहरूले सामना गर्ने प्रमुख समस्या भनेको बिरुवाको फिजियोलोजी र जैविक रासायनिक प्रक्रियालाई असर पर्ने र बिरुवाको प्रारम्भिक विकासमा नकारात्मक प्रभाव पर्दा उत्पादनमा ह्रास आउने हो। बिरुवाको प्रारम्भिक समयमा चिसोको चोट सहन सक्ने र छोटो अवधिको बोरो धानका जात अहिले किसानको माग हो । 

नेपालजस्तो देश जहाँ सीमित जमिन छ त्यहाँ एकल धान खेतीबाट रूपान्तरण गर्न जरुरी छ । अहिलेको समयमा उत्पादन लागतमा न्यूनीकरण गरी उत्पादन वृद्धिमा ध्यानाकर्षण गरेर सरकारले बोरो धान खेती विस्तार गर्न तत्पर रहनुपर्छ । पछिल्लो दश वर्षमा किसानहरूले लिने कृषि ऋण १०प्रतिशतले घट्दै गइरहेको देखिन्छ । तसर्थ नेपालमा कृषि तथा धान खेती बढाउन कृषि अनुदानमा वृद्धि गर्न पनि अत्यावश्यक देखिन्छ। 

जलवायु परिवर्तन सहन सक्ने जातको अनुसन्धान गरी गुणस्तरीय बीउ उपलब्ध गराउन सकिएमा बोरो धान खेती बिस्तार सहज र फाइदाजनक हुनेछ ।एकीकृत कीट व्यवस्थापनको ज्ञानको प्रयोग गरेर लाग्ने विभिन्न रोग तथा कीराको व्यवस्थापन गर्न सकिन्छ। बोरो धान खेती सम्बन्धी प्रसार र तालिमहरू किसानहरू माझ लगेर प्रोत्साहित गर्न पनि आवश्यक छ ।

चामल अभाव परिपूर्ति गर्नु अहिलेको समयमा एक ठूलो चुनौती रहेको छ। यसको उपयुक्त समाधानको लागि धेरै अनुसन्धान र उत्पादन वृद्धिका लागि किसानहरूलाई प्रोत्साहन दिनु अत्यावश्यक छ । बोरो धान खेती खाद्य सुरक्षा सुनिश्चित गर्ने एक उपयुक्त उपाय हुनसक्छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro