काठमाडौं । मकवानपुरकी ५० वर्षीया नारायणी तिमिल्सिना ‘अप्सरा’ को उमेर ढल्किँदो थियो । सामान्य ज्याला मजदुरी गरेर काठमाडौंको बसाइ जेनतेन धानेकी थिइन् ।
छोराछोरी हुर्कँदै थिए । श्रीमान् परलोक भएको वर्षौँ भइसकेको थियो । उमेरले डाँडा काट्दै गरेपछि उनलाई बुढेसकालको सहारा छोराछोरी भन्दा जीवनसाथी पाए हुन्थे भन्ने लागेको थियो ।
उनी आफैँले मन खाने कोही पुरुष भेट्न सकेकी थिइनन् । उनले त्यही चाहना चिनेकै साथी धादिङ त्रिपुरा गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारीसँग साटेकी थिइन् ।
अधिरारीले कुनै राम्रो पुरुष श्रीमती नभएको र भेटिहाले बिहेका लागि प्रस्ताव गरिदिने आश्वासन दिएका थिए ।
त्यो कुरा भएको केही समयमै अर्थात् २९ पुस २०७४ मा शिवरामले अप्सरालाई फोन गरेर भने, “तपाईले चाहेजस्तै पुरुष भेटिएको छ । भूपु आर्मी पनि हो । मन मिले बिहे गर्ने भनेको छ । तपार्ईंलाई हेर्ने भन्छ के गर्नु हुन्छ ?”
शिवरामको कुरा सुनेपछि अप्सराले नाइँ भनिनन् ।
उनले भनिन्, “हुन्छ भेट्छु”
प्रतिउत्तरमा शिवरामले अप्सरालाई भने, “त्यसो भए गरगहना लगाएर अलि राम्री बन्नू । छ, भने १५–२० हजार रुपैयाँ पनि बोकेर माछापोखरी आउनू ।”
कालिमाटी बस्ने अप्सरा शिवरामले भनेअनुसार बालाजु माछापोखरी पुगिन् ।
उनी माछापोखरी पुग्दा शिवरामसँग आर्घाखाँचीका जगत विश्वकर्मा पनि साथमै थिए । सुरुमा अप्सरालाई आफूसँगै बिहे गर्न खोज्ने पुरुष जगत् नै हुन कि भन्ने लागेको थियो ।
तर, शिवरामले उनी साथीमात्रै रहेको परिचय अप्सरालाई गराए ।
विहे गर्ने भन्ने भुपू आर्मी बाटोमा आउँदै गरेको खबर सुनाए । अप्सरालाई होला त भन्ने लागेको थियो । आफूमाथि अकल्पनीय घटना घट्दै छ भन्ने उनले कल्पना पनि गरेकी थिइनन् ।
शिवरामसहित अप्सरा र जगत तीनै जनाले करिब तीन घण्टा माछापोखरी क्षेत्रमै बिताए । तीन घण्टा बित्दा पनि आफूलाई विहेको लागि हेर्न आउँछु भन्ने पुरुष नआएपछि उनको मनमा शंका लाग्यो ।
शिवरामलाई भनिन्, “चित्त बुझेन होला त्यो मान्छे आउँदैन अब म फर्किन्छु ।”
शिवरामले उनलाई एक्लै फर्कन दिएनन् । उनीसँगै तीनै जना फेरि चक्रपथ चल्ने बसमा नै चढेर बल्खु हानिए । बल्खु पुग्दा साँझ परेको थियो ।
बेलुकाको खाना सँगै खाएर छुट्टिने प्रस्ताव शिवरामले राखे । शिवरामको त्यो प्रस्ताव पनि अप्सराले नकार्न सकिनन् ।
उनीहरु तीनैजना बल्खुबाट फेरि गाडी चढेर ललितपुरको कुसुन्ती पुगे । त्यहाँ एक होटलमा बेलुकाको खाना खाएर पुनः बल्खु फर्किए ।
जब बल्खु निकाराको मन्दिरमा पुगे...
कुसुन्तीमा सँगै खाना खाएर फर्किएका शिवराम, जगत र अप्सरा फर्किएर बल्खु पुग्दा पनि छुट्टिएनन् ।
अझ बल्खु खोला निकाराको भूवनेश्वरी मन्दिर पुगेपछि त शिवरामले अप्सरासँगै छुट्टै कुरा गर्नु छ भन्दै जगतलाई समेत छाडेर दुई जनामात्रै मन्दिर छेउकै चौरमा बसे । समय रातिको १० बज्न थालिसकेको थियो ।
जगत र शिवराम अप्सराको हत्या गरी उनले लगाएको सुन र पैसा लुट्न उपयुक्त समयको खोजीमा थिए ।
अप्सराले आफू माथिको षडयन्त्रको चालसमेत पाएकी थिइनन् । मन्दिर नजिक शिवरामसँग बसेकी अप्सरा भने एकाएक ढलिन् ।
त्यही बेला जगतसमेत पुगे । शिवराम र जगत दुवैले अप्सराको टाउकोमा ढुंगा प्रहार गर्न थाले । विहेको लागि बोलाएका शिवरामकै योजनामा अप्सराको ज्यान गयो । हत्यालगत्तै शिवराम र जगतले अप्सराले बोकेको नगद रुपैयाँ र सुनका गहना लुटेर भागेका थिए ।
हत्याको ६ वर्ष पछि खुल्यो रहस्य
हत्याको अनुसन्धानमा निरन्तर लागेको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अप्सराको हत्याको ६ वर्ष पछि घटनाको रहस्य खोलेको हो ।
कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसी नेतृत्त्वको टोलीले हत्याका आरोपी आर्घाखाँची शितगंगा–१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई पक्राउ गरेपछि सो घटनाको रहस्य खुलेको हो ।
जगतलाई पक्राउ गरेर कार्यालयले बिहीबार सार्वजनिक गरेको हो । कार्यालय स्रोतका अनुसार उनलाई कार्यालयको टोलीले भारतीय प्रहरीको सहयोगमा भारतको गोवाबाट पक्राउ गरेर ल्याएको हो ।
यद्यपी कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले भने उनी विमानस्थलबाट पक्राउ परेको दाबी गरे ।
उनले भने, “गोवामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएको खुलेको थियो । तर, त्रिभुवन विमानस्थलबाट नेपाल आउँदै छ भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौँ ।”
उनी पक्राउ परेसँगै हत्याका योजनाकार शिवराम रहेको खुलेको हो ।
उनी आफ्नो नाम परिवर्तन गरेर हत्या पछि पनि नेपालमै बसेर विभिन्न आपराधिक गतिविधिमै सक्रिय रहेको खुलेको हो ।
पछिल्लो समय उनी अर्जुन अधिकारीको नामबाट चिनिने गरेको र २०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष जेल सजाय पाएर कारागारभित्र रहेको खुलेको हो ।
प्रहरीले शिवराममाथि अब ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।