site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सार्वजनिक लेखा समिति सभापतिको अभिव्यक्तिमा गगनको आपत्ति, भन्छन्– संसदीय मर्यादा यसरी रहँदैन 

काठमाडौं । एनसेल प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले दिएको अभिव्यक्तिप्रति सांसद गगन थापाले गम्भीर आपत्ति जनाएका छन् । उनले एउटा समितिको सभापतिले अर्को समितिलाई ‘सुन्ड मुसन्ड’ भनेर गरेको टिप्पणीले संसदीय मर्यादामाथि नै गम्भीर प्रश्न उठाएको बताए । 

सांसद थापाले मंगलबारको बैठकमा आफू उपस्थित हुन नपाएको भन्दै छलफल भने राम्रै भएको जानकारी आफूले पाएको बताए । तर, त्यस विषयमा सार्वजनिक लेखा समितिका सभापतिबाट आएको अभिव्यक्ति भने गम्भीर प्रकृतिको भएको उनको भनाइ छ । 
 
“एनसेलको विषयमा योभन्दा अघिल्लो बैठकमा मैले पनि र साथिहरुले पनि उठाउनुभएको थियो । सरकारले  मन्त्रिपरिषद्‌बाट निर्णय गरेर एनसेल सम्बन्धी छानबिन समिति बनायो । मन्त्रिपरिषद्ले त्यो निर्णय किन गर्‍यो भनेर समितिमा छलफल हुनुपर्छ भन्यौं । मैले हिजो सुने पछाडि पढ्दै गर्दा राम्रो छलफल पनि भयो,” थापाले भने, “तर आज सार्वजनिक लेखा समितिका सभापतिले यो सरकारी सुन्ड मुसन्ड भनेर हाम्रो समितिका सभापतिलाई भ्रष्टाचार छोप्नका निम्ति सरकारले अह्राएर यो बैठक राख्नुभएको र निर्णय पनि त्यही अनुरुप गर्नुभयो भनेर सार्वजनिक रुपमा उठाउनुभएको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखा समिति सभापतिले भने– सरकारी 'सुन्ड मुसन्ड'ले एनसेलमा विषयान्तर गर्न खोजे 

उनले मन्त्रिपरिषद्का निर्णयमा छलफल गर्ने सार्वजनिक लेखा समितिको क्षेत्राधिकार हो कि होइन भनेर प्रश्न उठाए । एउटा समितिको सभापतिले अर्को समितिमाथि उठाएका गम्भीर प्रश्नको निरुपण पनि हुनुपर्ने उनको भनाइ छ । 

“यो समितिको विषय हो कि होइन ? यो बैठक राख्ने विषय समितिमा छलफल गरेर राखिएको हो । समितिले नै छलफल गरेर निर्देशन दिएको हो,” थापाले भने, “यो स्तरमा संसद्कै एउटा समितिको सभापतिले अर्को समितिका बारेमा सार्वजनिक टिकाटिप्पणीमा उत्रिने कुरा समितिका सभापतिहरुको व्यक्तिगत कुरा नभएर संसद्काे गरिमा र मर्यादासँग जोडिने कुरा हो । यसलाई हल्का रुपमा नलिन र सभामुखसँग गएर निरुपण गर्न आग्रह गर्छु ।” 

थापाले सांसदहरुले नै संसद् र समितिको मर्यादा राख्नुपर्ने भन्दै यसका विषयमा एउटा निस्कर्षमा पुग्नुपर्ने बताए । “हाम्रो र संसद्को मानमर्यादा हामी आफैँले राख्ने हो । संसद्को मर्यादा पनि हामी सांसदहरुले नै गर्ने हो,” थापाले भने, “यसका विषयमा यस्तो भयो भनेर अर्को बैठकमा जानकारी पाइयोस् ।”

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्