काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित विद्यार्थी राष्ट्रको भाग्य र भविष्य भएको बताएका छन् । सोमबार त्रिविको ४९औँ वार्षिकोत्सव एवं दीक्षान्त समारोहमा उनले अब राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
“तपाईंहरूमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ,” राष्ट्रपति पौडेलले भने, “नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी र तपाईंहरूको परिश्रम समेतका कारण आज तपाईंहरू यो स्थानमा हुनुहुन्छ । राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ ।”
दीक्षित विद्यार्थी आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्ने विषयमा नचुक्ने विश्वास उनले व्यक्त गरे ।
“तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका लागि उपयोगी हुनेछ,” उनले भने, “एउटा सक्षम, सबल तथा समृद्ध राष्ट्र निर्माणका लागि आज दीक्षित हुने तपाईं छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेमा म विश्वस्त छु ।”
राष्ट्रपति पौडेलले दीक्षित विद्यार्थीको अनुहारमा राष्ट्रको सुन्दर अनुहार देखिरहेको टिप्पणी गरे ।
“आज तपाईंहरूको अनुहारमा मैले नेपालको सुन्दर अनुहार प्रतिविम्बित भइरहेको पाएको छु । तपाईंहरू आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षता बोकेर उत्पादनशील कार्यका लागि जाँदै हुनुहुन्छ,” उनले भने, “भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ । देशबाट मैले के पाएँभन्दा पनि मैले देशलाई के दिएँ, के दिँदै छु वा भविष्यमा के योगदान गर्न सक्छु भन्ने कुराको सकारात्मक सोच तपाईं–हामीमा आउन सकोस् ।”