काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।
आजै प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ ।
युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको विषय, नयाँ विमान खरिद प्रक्रिया र निगमबारे बैठकमा छलफल गरिने कार्यसूची छ ।