site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसी सेनामा भर्ती भएका श्रीमान् दुई महिनादेखि सम्पर्कमा नआएपछि...
सांकेतिक तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गोरखाकी शर्मिला (नाम परिवर्तन) आइतबार बिहान ११ बजे त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग पुगेकी थिइन् ।  उनी हतारिँदै विभागका महानिर्देशक प्रकाशमणी पौडेलको कोठामा प्रवेश गरेर आफ्नो दुःख बिसाइन् । 

“तपाईँ नआत्तिनोस्,” महानिर्देशक पौडेलले उनलाई ढाडस दिँदै भने, “हामी सक्दो प्रयास गर्छौँ । तपाईँको श्रीमानका बारेमा जानकारी प्राप्त गर्नेबित्तिकै हामी तपाईँलाई सम्पर्क गर्नेछौं ।” 

महानिर्देशकको आश्वासनले उनमा केही आशा जगायो । लगभग एक घण्टा कुराकानी गरेपछि उनी रसिला आँखा बनाउँदै विभागबाट बाहिरिइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“रूसी सेनामा भर्ती हुनुभएको मेरो श्रीमान् दुई महिनादेखि सम्पर्कमा हुनुहुन्न । जानुपर्ने ठाउँ सबैतिर गएँ, तर उहाँ कस्तो अवस्थामा हुनुहुन्छ बताइदिने कोही भएन,” शर्मिलाले बाह्रखरीसँग भनिन् । 

आफ्नो र श्रीमान‍्को नाम नखुलाउन अनुरोध गर्दै उनले भनिन्, “आज म सबै कुरा भन्छु । मैलै भोगेको जस्तो पीडा अब अरुले भोग्नु नपरोस् !” 

Royal Enfield Island Ad

शर्मिलाका श्रीमान‍्ले २०८० साउनको पहिलो साता उनीसँग रूस जाने कुरा गरेका थिए ।  आफ्नै साथीले उनको श्रीमान‍्लाई रूस जानको लागि उक्साएका थिए ।  उनको श्रीमान् रमेश (नाम परिवर्तन) नेपाली सेनाबाट अवकास प्राप्त व्यक्ति थिए । फुर्सदमा भएका कारण र परिवारलाई केही रकमको आवश्यकता परेका उनले रूसी सेनामा भर्ना हुने मुड बनाएका थिए । 

“त्यस्तोमा जानु हुँदैन । तपाईँ नजानोस् । बरु यहीँ केही गरौंला,” श्रीमान् रूस जानुअघि शर्मिलाले धेरै सम्झाएकी थिइन् । तर उनको श्रीमान‍्ले उनको रोदन सुनेनन् । 

रूस जाने निर्णयमा पुगेपछि रमेश आफ्ना साथीको साथ काठमाडौंको तीनकुनेस्थित एक कन्सल्टेन्सी पुगेका थिए । शर्मिलाले उक्त कन्सल्टेन्सीको नाम बिर्सिइन् तर त्यहाँ जानुपरे पहिल्याउन सक्छिन् रे । 

“रूसी सेनामा भर्ती हुनको लागि पठाउने सम्पूर्ण काम कन्सल्टेन्सीले गरेको थियो,” शर्मिलाले भनिन् । 

कन्सल्टेन्सीलाई सात लाख रुपैयाँ बुझाएपछि काम अगाडि बढेको थियो ।  त्यसपछि काठमाडौंस्थित रूसी दूतावासले रमेशलाई सात दिनको भिजिट भिसा दियो ।  कन्सल्टेन्सीले भिसा आउनेबित्तिकै जानुपर्ने बताएपछि रमेशले राम्रोसँग किनमेलसमेत गर्न भ्याएनन् । 

२०८० साउन १० गते रूस जाने हवाई टिकट रमेशको हात पर्‍यो । उक्त दिन रूसी सेनामा भर्ती हुनका लागि तीनजना सँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँदै थिए । ट्रान्जिट कतार थियो । 

“यहाँ बाहिर कसैले सोधे रूस जान लागेको नभन्नू है । यहाँ सादा पोशाकमा प्रहरी पनि हिँड्न सक्छन् । थाहा पाए भने समातेर लग्छन् हामीलाई,” साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि रमेशले शर्मिलालाई सम्झाएका थिए । 

रूस जान लागेको तीनको सामूहिक तस्बिर खिचेर रमेशले मोबाइलबाट कसैलाई पठाए । त्यसबारे शर्मिलाले चासो राखेपछि रमेशले भनेका थिए, “भित्र रहेका प्रहरीलाई पठाएको । उनीहरुले यो फोटो हेरेर हामीलाई यहाँबाट भित्र जान सघाउनेछन् ।” प्रहरीको नम्बर कन्सल्टेन्सीले दिएको थियो । 

विमानस्थलमा यस्तो सेटिङ हुन्छ भन्ने शर्मिलाले पहिलोपटक थाहा पाउँदै थिइन् । सबैजना भित्र गइरहेका थिए तर रमेश र उनका दुईजना साथी बाहिरै थिए । केही बेरपछि भित्रबाट एक जना प्रहरी आएर मसिनो स्वरमा सोधे, “तपाईँहरु नै हो रूस जाने ।” 

हो– रमेशले भने । 

ती प्रहरीले आफ्नो पछि–पछि आउन आग्रह गरेपछि उनीहरूले त्यसै गरे । उनीहरूलाई चेक नै नगरी भित्र लगियो । शर्मिला त्यहीँबाट फर्किइन् । उनको मन भारी भयो । आँखाबाट आँसु खसिरहे ।  

“मेरो श्रीमान‍्लाई केही नहोस्, छिटो फर्काइदिनोस्,” भगवानलाई सम्झिँदै उनी विमानस्थलबाट बाहिरिइन् ।  खासमा साउन १० गते बिहान ११ बजेको फ्लाइट रमेशको थयो । तर उक्त दिन उनीहरू काठमाडौंबाट दिउँसो ३ बजेबाट उडेका थिए ।
 
रमेश र उनका दुई जना साथी साउन ११ गते कतारको दोहाबाट रूसतर्फ लागेका थिए । सोही दिन उनीहरु रूस पुगेका थिए । 

“विमानस्थलमै सेनामा भर्ती हुन सक्ने वा नसक्नेबारे जाँच हुने रहेछ । जाँचमा पास हुनेलाई विमानस्थलबाट बाहिर निकाली तालिमको लागि पठाउने रहेछन् । पास नहुनेलाई विमानस्थलबाट नै कतार हुँदै नेपाल फर्काउने,” रमेशले सुनाएको कुरा शर्मिलाले सम्झिइन् । 

२०८० साउन १३ गते आफू रूसी सेनामा भर्ती भएको जानकारी रमेशले शर्मिलालाई दिएका थिए । मोबाइल धेरै चलाउन नदिने हुनाले रमेशले उनलाई प्रायः भ्वाइस पठाउँथे ।

“गाह्रो अप्ठेरो भएको बताए यता म आत्तिन्छु भनेर होला उहाँ केही भन्नु हुन्थेन,” शर्मिलाले भनिन् । 

२०८० साउन १४ गतेबाट आफ्नो सैन्य तालिम सुरू भएको रमेशले बताएका थिए ।  तालिमको सुरुवाती दिनमा उनीहरूलाई ‘भीआईपी’ ट्रिट गरिएको थियो रे ।  प्रायः १५ दिनमा क्याम्प परिवर्तन गरिन्थ्यो । क्याम्प परिवर्तन भएसँगै पाउँदै आएको सुविधा खस्किन्थ्यो । 

आइतबार मात्र छुट्टी पाउने हुँदा रमेशले सोही दिन शर्मिलालाई फोन गर्थे । सुखदुःखका कुरा हुन्थे । रमेशले अन्तिम पटक २०८० असोज २५ गते शर्मिलालाई फोन गरेका थिए । 

“अब हामी चौंथो क्याम्पबाट रेड जोनमा जाँदैछौं । हाम्रो सम्पर्क हुन पनि सक्छ, नहुन पनि । मेरो चिन्ता नलिनू,” रमेशले फोन राखे । 

शर्मिला रून थालिन् । 

“उहाँसँग सम्पर्क नभएको दुई महिनाभन्दा बढी भयो,” शर्मिलाको गला अवरूद्ध भयो । 

एकछिन सुकसुकाएपछि मनलाई दह्रो पार्दै उनले भनिन्, “उहाँको खोजी गर्दिनुपर्‍यो भनेर कहाँ कहाँ मात्र गइन, तर सहयोग गर्ने कोही पाइन ।” 

दुई साताअघि शर्मिला काठमाडौंस्थित रूसी दूतावास पुगेकी थिइन् । उनले त्यहाँ आफ्नो सम्पूर्ण बेलिविस्तार लगाइन् । 

“यहाँबाट केही हुँदैन । यहाँ यस्तै समस्या लिएर दिनको सय जना जति आउँछन्,” दूतावासका एक अधिकारीले भनेपछि शर्मिला निराश हुँदै फर्केकी थिइन् । 

यसबीचमा श्रीमान्सँगै रूस गएका अन्य नेपालीका परिवारलाई पनि उनले सम्पर्क गरिन् । 

उनले थाहा पाइन्– श्रीमान‍्सँगै रूसी सेनामा भर्ती भएका बुटबलका एक जना युवक पनि बेपत्ता रहेछन् । उनको श्रीमतीको अवस्था पनि उनको जस्तै रहेछ । 

शर्मिलाले श्रीमान‍्को खोजी गर्ने क्रममा रूसी सेनामा भर्ती भएका एक जना युवाको नम्बर पाइन् । ती युवाले भने, “हामी १८ जना आएका थियौं । युद्धमा एकैदिन ९ जना मारिए । बाँकी यतै छन् । म घाइते भएकोले अहिले अस्पतामा उपचार गराइरहेको छु ।” 

उपचार सकिएपछि आफू नेपाल फर्किने ती युवकले बताए । 

ती युवाले शर्मिलासँग भन्दै थिए, “यहाँ हामी नेपालीहरूलाई केही भइहाले रूसीले हेर्दैनन् । नेपालीले नै भेटे भने अस्पताल पुर्‍याउँछन्, तर त्यसै अलपत्र भइन्छ । मलाई पनि घाइते भएको पाँच दिनपछि नेपालीले भेटेर अस्पतालसम्म पुर्‍याएका थिए । रूसीलाई केही मतलब छैन । कोही यहाँ आउन लागेको छ भने, नजान भन्दिनू होला ।” 

काभ्रेका युवकको कुरा सुनेपछि शर्मिला छाँगाबाट खसेजस्तै भइन् । उनको मनमा अनेक तर्कना आउन थाले । श्रीमान‍्को बारेमा अनेकथरी कुरा खेल्न थाले । आफूलाई सम्हाल्दै आइतबार उनी त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेकी थिइन् । 

“यो दुई महिनामा मैले भोगेको जस्तो पीडा अरूले भोग्न नपरोस् । खाना खान मन लाग्दैन । निद्रा लाग्दैन । कहाँ जाउँ कसो गरूँ, खाली छटपटी मात्र हुन्छ,” शर्मिलाले आँशु पुछिन् । 

उनले अनुरोध गरिन्, “प्रहरीले मात्र विमानस्थलमा कडाइ गरिदिने हो भने पनि हामी जस्ताले दुःख पाउने थिएनौं ।” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro