काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फामा मिलेर अघि बढ्ने बताएका छन् ।
शनिबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईसहित संयुक्त पत्रकार सम्मेलन गर्दै उनले आफू नेपाली फुटबलमा मिलेर अघि बढ्न खोजेको बताए । पंकजविक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने तुलाधरले उल्लेख गरे ।
विधानमा रहेको प्रावधानानुसार नै नेम्वाङलाई हटाउने प्रयास आफूहरूले गरे पनि सफल नभएको उनले बताए । विधानानुसार सबैलाई समट्ने प्रतिबद्धता नेम्वाङले गरेकाले अब सहयोग गर्ने उनले सुनाए ।
तुलाधरले एन्फाको ‘कन्ट्रोल फन्डिङ’लाई फुकाउन र प्रतियोगिता सञ्चालनको जिम्मेवारीमा सहयोग गर्ने पनि बताए । हरेक नेतृत्वलाई दुई कार्यकाल काम गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा एन्फाका महासचिव राईले कन्ट्रोल फन्डिङका कारण काम गर्न अप्ठ्यारो भएको सत्य भए पनि त्यो विषय आफूहरू नेतृत्वमा आउनुभन्दा पहिलेकै रहेको जिकिर गरे । उनले फुटबल विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हेटौँडामा गएको भदौ २५ गते भएको एन्फाको विशेष महाधिवेशनमा तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गराएका नेम्वाङलाई नै साथ दिए । उनकै सहयोगमा नेम्वाङले झन्डै दुईतिहाइ विश्वासको मत प्राप्त गरेका थिए । हिमालयन टेली भ्वाइस