site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
भोयजर–१ सँगको सम्पर्कविच्छेद
तस्बिर : नासा ।

काठमाडौं । नासाको अन्तरिक्षयान भोयजर–१ मा आएको समस्याका कारण ४६ वर्ष पुरानो यानको पृथ्वीसँगको सम्पर्कविच्छेद भएको छ ।

यो मिसन हेर्ने टोलीले समस्या के कारणले आएको भन्ने पत्ता लगाउन र सञ्चार पुनःस्थापित गर्ने प्रयास गरिरहेको बताइएको छ ।

सन् १९७७ सेप्टेम्बर ५ मा प्रक्षेपण गरिएको यानले सौर्यमण्डलभन्दा निकै पर अज्ञात ब्रह्माण्डको अन्वेषण गरिरहेको छ ।

भोयजर–१ हाल पृथ्वीबाट करिब २४ अर्ब किलोमिटर टाढा पुगेको छ । १९७७ कै अगस्ट २० मा प्रक्षेपण गरिएको भोयजर–२ पृथ्वीबाट २० अर्ब किलोमिटर टाढा पुगिसकेको छ ।

यी दुवै अन्तरिक्षयान इन्टरस्टेलर अन्तरिक्षमा पुगिसकेका छन् । सूर्यको चुम्बकीय क्षेत्र हेलियोस्फियरभन्दा पर पुगेका यिनै पहिलो यान हुन् ।

पाँच वर्षसम्मको मिसनका निम्ति बनाइएका भोयजर प्रोबहरू इतिहासमा सबैभन्दा लामो समयसम्म चलिरहेका अन्तरिक्ष यान हुन् । यी दुवैको असाधारण आयुले सौर्यमण्डल र त्यसभन्दा बाहिरको ब्रम्हाण्डबारे थप बुझ्न मद्दत गरेको छ । सीएनएनबाट ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्