site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७५ वर्ष पुरानो ‘नेपाल पुकार’ बन्द भएको ३१ वर्षपछि पुनः प्रकाशनमा 

काठमाडौं । नेपाली कांग्रेसले २००५ साल कात्तिक २१ मा प्रकाशन सुरू गरेको ‘नेपाल पुकार’ पत्रिका पुनः प्रकाशनमा आएको छ । ०१७ सालपछि बन्द भएर ०३९ सालमा प्रकाशित हुँदै पुनः बन्द भएको ‘नेपाल पुकार’ को प्रकाशन कांग्रेसले पुनः थालेको छ । 

नेपाली कांग्रेसको मुखपत्रको रुपमा प्रकाशित हुने नेपाल पुकार कोलकाताबाट प्रकाशन सुरू भएको थियो । 

शुवर्ण शमशेर जबराका भाइ बबरशमशेरको कोलकातास्थित टाइगर सिनेमा हलमा भेला भएर महेन्द्रविक्रम शाह (मुसिकोटे)को अध्यक्षतामा सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री, राजेश्वरीप्रसाद उपाध्याय कोषाध्यक्ष र प्रेमबहादुुर कंशाकार सहायक महामन्त्री रहेको संगठनको नाम ‘नेपाली प्रजातन्त्र कांग्रेस’ राखिएको थियो । 

यो समूहले नै नेपाल पुकारको प्रकाशन ००५ साल कात्तिक २१ गतेबाटै सुरू गरेको थियो । नेपाल प्रजातन्त्र कांग्रेसकै तर्फबाट प्रकाशन हुँदै आएको ‘नेपाल पुकार’लाई पनि नेपाली कांग्रेसको मुखपत्रका रुपमा स्वीकार गरिएको थियो । 

राजा महेन्द्रले जनताबाट निर्वाचित पहिलो संसद् विघटन, जन निर्वाचित सरकार अपदस्थ गर्दैै दलीय व्यवस्थामै प्रतिबन्ध लगाएपछि बन्द भएको ‘नेपाल पुकार’ ०३९ साल देखि पुनः प्रकाशन सुरू भएको थियो । 

०४० देखि ०४६ सालसम्म प्रजातान्त्रिक धारको पत्रिकाका रूपमा प्रकाशित भएको नेपाल पुकार ०४७ वैशाख ३ गते देखि कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको आग्रहमा नेपाली कांग्रेसको मुखपत्रकै रुपमा पुनः प्रकाशन सुरू भएको थियो । 

पुरुषोत्तम बस्नेत, निरञ्जन शर्मा भट्टराई र तेजप्रकाश पण्डितले प्रकाशनमा काम गरे । उनीहरुले स्वयम्सेवी रुपमा काम गरे पनि कांग्रेस गुट र सत्ताको छिनाझपटीमा फसेपछि ०४९ साल देखि प्रकाशन बन्द भएको थियो ।

प्रकाशन बन्द भएको ३१ वर्षमा नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागले पार्टीको मुखपत्रकै रुपमा नेपाल पुकारको प्रकाशन सुरु गरेको छ । त्रैमासिक रुपमा प्रकाशन सुरू गरेका नेपाली कांग्रेसको प्रचार विभागले पार्टीका पदाधिकारी र सदस्यहरुसहित पढ्न चाहनेहरुका लागि वार्षिक सदस्यता दिएर संचालन खर्च जुटाउने प्रयास थालेको जनाएको छ ।
 
नेपाल पुकारको पुनः प्रकाशित पहिलो अंकमा इतिहासको झलक समेटिएका लेख रचना समावेश गरिएको छ भने बीपी साहित्य महोत्सव विशेष बनाइएको छ । पत्रकार पुरुषोत्तम दाहालले कांग्रेसमा पठन संस्कृति नै नभएको भन्दै पठन संस्कृति सुरू नभए नेपाल पुकारको भविश्य फेरि पनि अनिश्चित हुने चिन्ता जाहेर गरे । 

उनले गुटका राजनीति र सत्ताको छिनाझपटी जारी राख्ने हो भने यस्ता प्रकाशनको प्रभाव र आवश्यकता दुवै नहुने भएकाले पठन संस्कृति सुरुवातका लागि पहल गर्न नेताहरुलाई आग्रह गरे । 

नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागका संयोजक मीन विश्वकर्माले भने नेपाल पुकारको प्रकाशन निरन्तरतासँगै त्यसलाई किनौँ किनौँ, पढौँ पढौँ मात्र होइन संग्रह गरौँ गरौँ बनाएर निरन्तरता दिने उद्घोष गरे ।

उनले यससँगै ‘रेडियो प्रजातन्त्र’ र लाइब्रेरी पनि सञ्चालन गर्ने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro