काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दै छ । भदौदेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा जसपाले बैठक बोलाएको हो ।
उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।
पहिचानका राष्ट्रिय समितिहरूमध्येका लिम्बूवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् । बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् । जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन् ।
यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन् । जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेशअन्तर्गतका रहेका जसपाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । मधेस प्रदेश समितिले पालिका समितिपछि जिल्ला समिति र जिल्ला समिति पुनर्गठन पछि प्रदेश समिति पुनर्गठन गर्नेछ ।
तीन महिने अभियानमा जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । । उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समितिको बैठकलगायत एजेन्डामा आजको बैठक केन्द्रित हुने जसपाले जनाएको छ ।