site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा एमाले–पहिचानवादी आमनेसामने : यी नेतालाई रोक्न आन्दोलन !
एमाले कोसी प्रदेश कार्यालयले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन ।

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ मंसिर २६ गते कोसी प्रदेशमा प्रवेश गर्दै छ । कोसी नामकरणको विरोधमा आन्दोलनरत पहिचावादीले पनि त्यही दिनदेखि आमहड्तालसहित कार्यक्रमको घोषणा गरेका छन् ।

जागरण अभियान भनिएको संकल्पयात्रा नरोकिने एमालेले स्पष्ट गरेको छ । जागरण अभियान यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरिएको थियो ।

पाँच प्रदेश छिचोलेर १३औँ दिनमा कोसी प्रदेश टेक्ने अभियानअन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा खोटाङका खुर्कोट, हर्कपुर र हलेसीमा भेटघाट कार्यक्रम तय गरिएको छ । घुर्मी र हर्कपुरमा सभा पनि गरिनेछ । कोसीमा ४५० किमिभन्दा धेरै दूरीको यात्रा र सात दिनसम्म दर्जनौँ स्थानमा कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

तर, ठ्याक्कै जागरण अभियानसँग जुध्ने गरी पहिचानवादीले समेत बन्द–हड्ताल र अरू कार्यक्रम तय गरेका कारण एमाले र ‘कोसी नामविरोधी शक्ति’ आमनेसामने हुने देखिएको छ । यसबाट मुठभेडको अवस्था सिर्जना हुन सक्ने आकलन गर्न थालिएको छ ।

एमाले केन्द्रीय कमिटीको निर्णयानुसार पूर्वघोषित पुष्पलाल (मध्यपहाडी) लोकमार्गकेन्द्रित विशेष अभियान र पहिचावादीको नवघोषित कार्यक्रमका कारण मुठभेडको अवस्था सिर्जना हुन सक्ने देखिएको हो । सोही कारण एमालेले पहिचानवादीलाई आफ्ना कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी वार्षिक कार्ययोजनाअनुरूप अभियान आयोजना गरिएको जानकारी गराइयो । पार्टीका सचिव एवं कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले भने, “यो हाम्रो पूर्वनिर्धारित कार्यक्रम हो । तर, हामी कोसी प्रदेश प्रवेश गरेकै दिनदेखि पहिचानवादीले कार्यक्रम गर्नु सुनियोजितजस्तो देखिएको छ । त्यसैले हामी उहाँहरूलाई आफ्ना सबै कार्यक्रम स्थगन गर्न आग्रह गर्दछौँ ।”

आफूहरूले संघीय सरकारसँग समेत सुरक्षा माग गरेको भन्दै बाधा, अवरोध हटाउनुपर्नेमा उनले जोड दिए । “छलफलका माध्यमबाट केही असमझदारी भए त्यसलाई हटाउन सकिने तर संकल्पयात्रा रोकिँदैन,” महासेठले भने, “पहिचानवादीभित्र पनि एकमत छैनन् । एकथरीले यस्ता काममा नफसौँ पनि भनिरहनुभएको छ । अब हामी छलफल गर्छौँ । एमालेलाई बाइपास गरेर पहिचानको मुद्दा सार्थक बन्न सक्दैन ।”

एमाले स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले आफूहरूको अभियान नरोकिने बताए । “यसो (बाधा) गर्ने नियत हो भने त्यो नक्कली पहिचानवादी हो, अभियान रोकिँदैन । यहीँबाट नक्कली र मुखुन्डोधारीको पर्दाफास हुनेछ,” राईले भने, “हामी छलफल र वार्ताबाट नै समस्या समाधान हुनुपर्ने पक्षमा छौँ ।”

के छ पहिचानवादीको तयारी ?
प्रदेश नम्बर–१ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २५ गतेदेखि सुरु हुने गरी आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । आन्दोलनअन्तर्गत मध्यपहाडी लोकमार्गको घुर्मी–लेगुवा सडकखण्ड अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । शनिबार सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी घोषित कार्यक्रमबारे जानकारी गराइएको हो ।

fgm-1702129786.jpg

पहिचानवादीले सुनसरीको धरानमा आयोजना गरेको पत्रकार सम्मेलन । 


पहिचानवादीले घुर्मी–लेगुवा सडक मंसिर २६ गतेदेखि नै ठप्प बनाउने घोषणा गरेका छन् । यद्यपि, यो आन्दोलन एमालेको केन्द्रीय बैठकले तय गरेको कार्यक्रमविरोधी नभएको प्रदेश नम्बर–१ पुनः नामकरण समितिका संयोजक डकेन्द्रसिंह थेगिमको भनाइ छ ।

“हामीले एमाले अध्यक्ष केपी ओली, नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोसी नाममा हस्ताक्षर गर्ने प्रदेशसभाका ८२ सांसदविरुद्ध कार्यक्रम गर्न लागेका हौँ,” उनले भने ।

८२ सांसद र पहिचान पक्षधरलाई ‘गाली गर्ने’ एमालेका तीन नेताविरुद्ध मात्र आफूहरू विरोधमा उत्रन लागेको उनले बताए । “तीन नेताले गल्ती स्वीकार गरेर आत्मालोचना गरे अवरोध गर्दैनौँ,” उनले भने ।

गत वर्ष फागुन १७ गते प्रदेशसभाबाट तत्कालीन प्रदेश नम्बर–१ को नाम कोसी पारित भएको थियो । एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले समर्थन जनाई दुईतिहाइभन्दा बढी मतसहित नाम पारित भएको थियो । ९३ मध्ये ८२ सांसद कोसीका पक्षमा खुलेका थिए ।

किराँत याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले भने, “आत्मालोचना गरे हामीहरू सबै मिलेर घुर्मीमा स्वागत गर्न जानेछौँ ।”

पहिचानवादीले घुर्मीदेखि लेघुवा र लेघुवादेखि चिवाभन्ज्याङसम्म सांस्कृतिक अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरेको जनाइएको छ । प्रदेशसभा सदस्य र एमालेका ती तीन केन्द्रीय नेताबाहेकलाई कुनै अवरोध नगरिने थेगिमको भनाइ छ ।

“हामी अरू प्रदेशको जिम्मा लिन सक्दैनौँ, यहाँ भने अवरोध गरिनेछ । कसको बिर्ता हो भनेर गालीगलौज गरेकोले त्यो मान्य हुँदैन,” उनले भने, “त्यसकै विरोधमा हो । संघीय गणतन्त्रलाई संरक्षण गर्ने नै हाम्रो अभियान हो । तीनजनाले गरेको गल्ती महसुस गरे अवरोध गर्दैनौँ ।”

एमाले अभियान
कोसीमा प्रवेश गरेसँगै दैनिक ५०० एमाले नेता–कार्यकर्ता जागरण कार्यक्रममा सहभागी भई यात्रा गर्ने पार्टीका कोसी अध्यक्ष घनश्याम खतिवडाले बताए । कोसीमा यो अभियान घुर्मीबाट सुरु भई पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ । त्यहाँ एमाले अध्यक्षबाट झन्डोत्तोलन गरिने खतिवडले सुनाए ।

उनले भने, “यो अवधिमा कोसी प्रदेशमा मात्र ४५० किलोमिटर यात्रा हुनेछ । विभिन्न स्थानमा भेला, सभा, विश्राम तथा छलफल हुनेछन् ।”

मध्यपहाडी क्षेत्रबाट हुँदै गरेको बसाइँसराइ र अरू सामाजिक अनि आर्थिक समस्याबारे मन्थन, विचारविमर्श र जानकारी लिने उद्देश्यसाथ जागरण अभियान सञ्चालन गरिएको खतिवडाले बताए ।

राष्ट्रिय एकतालाई खलबल्याउने, सामाजिक सद्भावलाई कमजोर पार्ने र जनताका बीचमा फाटो ल्याउने प्रयास देखिन थालेको उनले उल्लेख गरे । खतिवडाले भने, “यस्ता अतिवादी र संकीर्ण सोचहरू गलत, हानिकारक र अस्वीकार्य छन् । यस अभियानले सामाजिक सद्भाव र राष्ट्यि एकतालाई बलियो बनाउन योगदान गर्नेछ ।”

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro