site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा सोमबार ओलीले दैलेखमा आठ राजनीतिक दलले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै यस्तो बताएका हुन् ।

उनले चीनले कुनै पनि विषयमा नेपाललाई सहयोग गर्ने भनिरहेको उल्लेख गरे । तर, अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

“...अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ,” उनले भने, “चीनसँग डराएको होइन, अरू कोकोसँग कहाँकहाँ डराउँछ ।”

उनले राजनीतिक दलले अब विकासका निम्ति राजनीति गर्नुपर्ने बताए । आफ्नो मुलुकको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल त्यसका निम्ति काम थाल्न उनले नेता–कार्यकर्ता निर्देशन दिए ।

“अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसरी विकास हुन सक्दछ, के हुनसक्छ ? यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ,” उनले भने, “यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ । किनभने, कुनै पनि देश अर्काले आएर बनाइदिँदैन । आफ्नो देश आफैँले बनाउने हो ।”

अध्यक्ष ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनै पनि उत्पादन हुन नसकेको बताए ।

“आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ । हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन,” उनले भने, “हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ । बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने । नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्