site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मृत्युदण्ड दिन बनाइएको त्यो गोलघर.., अहिले छन् सात कैदी

काठमाडौं । गएको असोज १९ गते सुन्धारा कारागार प्रशासनले गोलघरभित्र राखिएका मोरङका चूडामणि उप्रेती ‘गोरे’लाई बाहिर निकाल्यो ।  ०७४ माघमा साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेर जेल पुगेका गोरेलाई गोलघरभित्र राखिएको थियो ।

गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको र परिवारका सदस्य समेतले गोलघरबाहिर राख्दा कुनै समस्या नहुने बताएसँगै उनलाई पाँच वर्षपछि त्यहाँबाट बाहिर निकालिएको हो । 

त्यसयता गोरे कारागारका अरू कैदीसरह बस्दै आएका छन् । सुन तस्करी र शाक्य हत्या प्रकरणमा ०७८ मा जिल्ला अदालत मोरङले गोरेलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

Dabur Nepal
NIC Asia

कति छ सुन्धारा कारागारभित्र गोलघर ?

देशभरमा गोलघरको सुविधा भएको जेल काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार मात्र हो । सुन्धारा कारागारका प्रमुख ललित बस्नेतका अनुसार त्यहाँ गोलघरभित्र आठ कोठा छन् । सात कैदीबन्दीलाई गोलघरभित्र राखिएको छ । एउटा भने खाली छ । गोलघरभित्र राखिएका कैदीलाई केही दिनअघि अर्को कारागारमा सरुवा गरिएपछि एउटा खाली भएको हो ।

गोरेलाई गोलघरबाट बाहिर निकालिएपछि सो स्थानमा सिन्धुपाल्चोकका २२ वर्षीय सञ्जय भण्डारीलाई राखिएको छ । उनी गएको भदौ ३० गते तीनकुनेस्थित दिव्य सःमिलमा दोलखाका कुमार भुजेलको परिवारसहित चारजनाको हत्या अभियोगमा पुर्पक्षका निम्ति जेल पुगेका कैदी हुन् ।

एक चिनियाँ नागरिकलाई पनि गोलघरभित्र राखिएको छ । लागुऔषध मुद्दामा पक्राउ परेर पुर्पक्षका निम्ति जेल पुगेका ती चिनियाँ नागरिकलाई अस्पताल लैजाँदा भाग्न खोजेका थिए । त्यसपछि उनलाई गोलघरभित्र राखिएको कारागार प्रमुख बस्नेतले जानकारी दिए ।

उनका अनुसार कैदी राखिएका अरू गोलघरमध्ये दुइटामा तेस्रोलिंगी र एउटामा चोरी डाँका मुद्दामा जेल पुगेका अमित तुलाधार छन् । तुलाधरले पटक–पटक आत्महत्याको प्रयास गरेको खुलेपछि उनलाई गोलघरभित्र राखिएको हो । अरू दुई गोलघरमा कारागारबाट भाग्न खोज्ने कैदीलाई राखिएको बस्नेतले बताए ।

कस्तो छ गोलघर ?

गोलघर राणाशासनकालमा राणाविरोधी गतिविधि गर्नेलाई ‘डेथ पेनाल्टी’ मृत्युदण्ड दिने उद्देश्यले निर्माण गरिएको हो । 

वि.संं १९७१ सालमा चन्द्रशमशेरले निर्माण गराएको गोलघरभित्र राणाशासनविरोधी गतिविधि गरेको भन्दै गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई राखिएको थियो । पछि उनीहरूलाई मृत्युदण्ड दिइयो ।

पञ्चायतविरोधी गतिविधि गर्ने नेताहरूलाई समेत पक्राउ गरेर गोलघरभित्र राखिएको थियो । कारागार प्रशासनका अनुसार बाहिरबाट हेर्दा गोलो आधारको घर देखिए पनि त्यहाँ करिब ४ फिट उचाइ र ६ फिट चौडाइका कोठाहरू छन् । त्यसको बाहिरपट्टि सानो ठाउँमा शौचालयको व्यवस्था मिलाइएको हुन्छ ।

हाल कुख्यात अपराधी, संगठित अपराधको जालो फैलाउने प्रवृत्तिका कैदीहरूलाई गोलघरभित्र राख्ने गरिएको छ । उनीहरूले कारागारभित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्ने खतरा देखिएपछि प्रशासनको निर्णयानुसार नै गोलघरभित्र राख्ने गरिएको बस्नेतले बताए ।

केन्द्रीय कारागारभित्र करिब तीन हजार कैदी छन् । यो संख्या दिनैपिच्छे बढ्ने र घट्ने गर्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro