site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
धान आयात–निर्यात प्रतिबन्धका सही आयाम

कूल ग्रार्हस्थ उत्पादनको करिब करिब २४ प्रतिशत कृषि क्षेत्रको योगदान छ । किसानको ठूलो आय स्रोत कृषि हो र त्यसमा पनि धान उत्पादन र बिक्री । धान किसानहरुले जहिले पनि सस्तोमा आफ्नो उत्पादन बिक्री गर्नुपर्ने बाध्यता छ । यसो हुनुको मुख्यकारण धान उत्पादन र दाउनी देशभरि एकै पटक हुनु हो । 

स्थानीयस्तरमा धान भण्डारका लागि चाहिने ठूल–ठूला साइलो वा भण्डारणकक्ष नहुँदा किसानले प्रायः सबै उत्पादन एकै पटकमा बिक्री गर्नुपर्छ ।  त्यही समयमा छिमेकी मुलुक भारतमा पनि ठूलो परिमाणमा धान उपलब्धताले किसानले बाध्य भएर सस्तोमा बिक्री गर्नुपरेको अवस्था छ । 

परम्परागत मूल्यमा किसानलाई धान खेतीमा फाइदा नै छैन । यसले निर्वाहमुखी भूमिका मात्र खेलेको छ । खेती किसानीको श्रम खर्च बढ्दै जानु, मल तथा उन्नत जातको बिउ तथा सिँचाईका असुविधाका कारण धान खेती दिन प्रतिदिन महँगिँदै गएको छ । 

यसैले होला नेपालमा धान खेती गर्ने किसानहरु पलायन भएका हुँदैछन् । तथ्यहरु केलाउने हो भने पछिल्लो १० वर्षमा साढे २ लाख हेक्टरले धान खेती हुने क्षेत्रफल घटेको छ ।  मुलुक चामलमा आत्मनिर्भर हुन सर्वप्रथम धान किसानले धान बिक्री गर्दा उचित फाइदा पाउनै पर्छ, त्यसपछि मात्र उनीहरु प्रोत्साहित भएर धान खेती बढाउँछन् । 

साथै वर्षको दुई बाली धान उत्पादनका लागि पनि अग्रसर हुन्छन् ।  धान खेतीमा फाइदा बढ्दै गएको खण्डमा उत्पादन पद्धतिमा पनि आधुनिकीकरण गरी बढी फलाउने जमर्को गर्नेछन् । उत्तरी छिमेकी चीनले प्रति हेक्टर ६.५ मेट्रिक टन धान उत्पादन गरिरहेको छ । 

त्यसैगरी भारतले प्रति हेक्टर ४.५ का दरले उब्जनी गरिरहेको छ । यसको दाँजोमा नेपाललाई ३.५ मेट्रिक टन पुर्‍याउन धौ–धौ भइरहेको छ । गत चैते धान (असारमा दाउनी हुने) देखि भारतमा वातावरण तथा अनियमित वर्षाका कारण धान खेती र उत्पादनमा ह्रास आउन थालेको छ । 

यसैकारण भारतको आन्तरिक बजारमा चामलको भाउलाई नियन्त्रण गर्न जुलाई २० देखि धान निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  यसले गर्दा नेपाली किसानको धान बिक्री मूल्यमा अप्रत्याशित रुपले मूल्य बढेको छ । 

चैते धानको परम्परा मूल्य १७/१८ रुपैयाँ प्रति केजी बिक्री मूल्य रहेको थियो । गतवर्ष यो बढेर २७/२८ रुपैयाँ भयो, जसले गर्दा चैते धान खेती गर्ने किसानहरुले मनग्गै फाइदा गरे । 

त्यसैगरी यसपालीको अधनी धान (मंसिरमा दाउनी हुने) को मूल्य पनि किसानहरुले निकै राम्रो मूल्य पाएका छन् । गत वर्ष २७/२८ रुपैयाँ प्रति केजीमा बिक्री भएको धान अहिले रु. ३५–३६ केजीमा बिक्री भइरहेको छ । 

यस प्रकारको मूल्य निरन्तर पाएको खण्डमा किसानहरु धान खेतीबाट मनग्यै फाइदा लिन सक्ने छन् । किसानहरु प्रोत्साहित भएर वर्षको दुई बाली धान खेती गर्ने नै छन् ।  साथै खेतीपातीबाट मनग्य आम्दानी गरेर बीचमा अर्को बाली तोरी, गहुँ वा मकै पनि खेती गर्नेछन् । 

बढ्दो मूल्यका कारण धान किसानहरु अझ हौसिनेछन् र अन्ततोगत्वा राष्ट्र चामल, कनिका, ब्रानमा आत्मनिर्भर पथमा अग्रसर हुनेछ । त्यसैकारण अबको राष्ट्रिय नीति धान आयातमा पूर्ण रोक लगाउनुपर्छ । 

तराईका अधिकांश सिमाना जोडिएका गाउँबाट नेपाली धान भारततिर जाने क्रम पनि रोकिनुपर्छ । यदि नेपाली धानले राष्ट्रिय खपत अपुग भएको खण्डमा चामल मात्र आयात गरिनुपर्छ । धान आयातलाई पूर्णतयाः रोकिनुपर्छ । 

यस नीतिबाट किसानको धानले राम्रो फाइदाजक मूल्य पाउने र राष्ट्रभित्रै धान प्रशोधन मिलहरु थप खुल्ने वातावरण निर्माण हुनेछन् । यसले रोजगारीमा पनि थप ढोका खुल्नेछन् ।

हामीकहाँ यस किसिमको प्रयोग पोल्ट्री (कुखरा र अण्डा) उद्योगमा सफलताका साथ लागू भइसकेको छ । पोल्ट्रीको आयातमा पूर्ण प्रतिबन्धका कारण हामी आज यस उत्पादन र खपतमा पूर्ण आत्मनिर्भर भएका छौं । जसले राष्ट्रको अर्थतन्त्रमा दसौं अर्बको फाइदा दिलाएको छ । 

पूरक उद्योग दानामा पनि आत्मनिर्भर हुनुका साथै अर्बौँ रुपैयाँको दाना राष्ट्रमै उत्पादन गर्न सक्षम भएको छ । यस प्रतिवन्धका कारण अर्बौ मुद्रा देश बाहिर जानबाट मात्र नरोकिएर देशलाई थप राजस्वका साथै हजारौं संख्यामा स्थानीय रोजगारीमा पनि वृद्धि भएको छ ।

यस नीतिबाट चामल उपभोक्तालाई पनि फाइदा हुन सक्छन् । देशभित्रै ‘आरजु राईस मिल’ले नेपाली किसानहरुसँगको सहकार्यमा यस्तै मूल्यमा धान खरिद गरी आयातित चामल भन्दा गुणस्तरीय एवं सस्तोमा उपभोक्ता माझ ल्याएर बिक्री वितरण गरिरहेको छ । 

(लेखक आरजु राईस मिलका कार्यकारी अध्यक्ष हुन् । उनको ज्येष्ठ सुपुत्री आरजु बस्नेतको नाउँमा मिलको नामकरण गरिएको छ)
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro