काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त सुझाव दिएको र प्रधानमन्त्रीले सोअनुसारकै मितिमा हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि आउँदो फागुन २० गते समाप्त हुन लागेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गतेसम्म) चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ ।
राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना, २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका निम्ति मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी आयोगबाट निर्णय भइसकेको छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचकमण्डलकोे व्यवस्था छ । रासस