site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिसो छल्न चितवनमा आउन थाले ‘पर्यटक’ चरा 
चितवन राष्ट्रिय निकुन्जको राप्ती नदीतटीय क्षेत्रमा देखिएको चखेवाको बथान । तस्बिर : कृष्ण आचार्य/रासस ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजातिसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् ।

यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए ।

उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँका नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । नेपालकै पहाडी भेगबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।

चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट नेपालमा चरा आउने गरेका छन् । हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा नेपाल आउने गरेका छन् । वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेका उनले बताए ।

उनले भने, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

नेपालमा १५० प्रजातिका चरा आगन्तुक रूपमा आउने गरेका उनले उल्लेख गरे । अहिलेसम्म १०० प्रजातिका चरा आइसकेका उनले बताए । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए ।

पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्न समय समेत नहुने भएकाले ती चरा आउने गरेका उनले बताए ।

नेपालमा विशेष गरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ८९२ प्रजातिका चरा पाइन्छ । चितवनमा ६५० प्रजातिका चरा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो वासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro