काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कार्तिक १७ गतेको विनाशकारी भूकम्पपछि एक जिम्मेवार अत्यावश्यक सेवा प्रदायकका रूपमा ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरूलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरू निःशुल्क उपलब्ध गराएको थियो ।
एनसेलले बिहीबार आफ्नो प्रतिबद्धताअनुरूप कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय, सुर्खेत पुगेर ५० लाखको चेक हस्तान्तरण गरेको छ । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्री कृष्णबहादुर बिसीलाई एक कार्यक्रममाझ हस्तान्तरण गरेका थिए ।
‘‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत । पुनर्स्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ,’’ वन तथा पर्यटनमन्त्री बिसीले भने ।
कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरूमा आफ्नो तर्फबाट एनसेलले कसरी सहगोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग एनसेलले छलफल जारी राखेको जनाएको छ ।
“यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौँ,” एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले भने ।
एनसेलको यो सहयोगका लागि धन्यवाद दिँदै कर्णाली प्रदेश सरकारका का.मु. मुख्य सचिव चुडामणि पौडेलले भने, “कर्णालीका भूकम्पपीडित जनतालाई सहयोग लिएर सुर्खेतमा आउनु भएकोमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट म सम्पूर्ण एनसेल परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।”
यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै एक करोड पुगेको छ ।