
किभ । युक्रेनका विभिन्न सहरमा शनिबार बिहान गरिएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी नागरिक घाइते भएका छन् ।
खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यहाँ हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरिएको छ । बिहान करिब ४ बजे सुरु आक्रमणमा ४८ ड्रोन, दुई मिसाइल र चार बम प्रयोग गरिएको उनले जानकारी दिए । खार्किभमा मात्र तीनको मृत्यु र १७ जना घाइते भएका जनाइएको छ ।
यस्तै, खेरसोनमा एक दम्पतीको मृत्यु र दुई भवनमा क्षति पुगेको छ । ड्निप्रो सहरमा दुई महिला घाइते भएका छन् । लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ ।
आक्रमणपछि उद्धारकर्मीले सक्रिय रूपमा प्रभावित क्षेत्रमा काम गरिरहेका छन् । अधिकारीहरूले घाइतेको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।
रुसले पछिल्ला दिनमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रूसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन ।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ । रासस/एएफपी