काठमाडौं । नेपालीको महान पर्व विजया दशमी (बडादसैँ) मनाउन आम सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । दसैँ तथा तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएपछि काठमाडौं सुनसान भएको हो ।
आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारण सडकमा देख्न सकिन्छ । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले सुनसान भएका छन् ।
सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसल प्रायः बन्द छन् । काठमाडौंमा मानिसको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकालीलगायत ठाउँहरूमा पसल बन्द छन् ।
दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।