काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’ हेर्नेलाई क्लाइमेक्स सिन यादै होला । पशुपतिप्रसादले भेट्टाएको सुनको औँठीमा सुन पसलेले आँखा गाडेपछि पशुपतिप्रसाद (खगेन्द्र लामिछाने)को हत्या गरिन्छ । उसलाई पर्खिएर बसेकाको छटपटी र भष्मे (विपीन कार्की)ले जिन्दगीप्रति गरेको ‘रियलाइज’सँगै सिनेमा ‘पशुपतिप्रसाद’ सकिन्छ ।
वियोगान्त मौलिक कथामा आफ्नै कथ्यशैली प्रयोग गरिएको सिनेमा समीक्षक र दर्शक दुवैले मन पराए । यसका निर्देशक, लेखक र निर्माताले सात वर्षपछि सिक्वेल बनाए । नाम राखे– पशुपतिप्रसाद–२ : भष्मे डन । यो अहिले सिनेमा हलमा प्रदर्शनरत छ ।
पशुपतिप्रसादको मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा पात्रको प्रवेश हुन्छ । यसपछि सुरु भएको परिचय र आत्मसम्मान अनि शक्तिसंघर्षको कथा नै ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को मुख्य कथा हो ।
‘पशुपतिप्रसाद’को क्लाइमेक्समा जिन्दगीलाई ‘रियलाइज’ गर्ने भष्मे डनको कथा यो सिनेमाले भन्छ । अथवा, यो सिनेमा स्पिनअफ हो । अघिल्लो सिरिजको मुख्य पात्र भष्मे डनको कथालाई लिएर बनाइएको चलचित्र हो । ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ ‘पशुपतिप्रसाद’मा जस्तै उट्पट्याङ छ कि साँच्चै सुध्रियो ? मुख्य पात्रको निधन भइसकेको अवस्थामा कथा कसरी अगाडि बढ्छ ? अरू को–को पात्रको प्रवेश कसरी हुन्छ ? यसकै वरिपरि ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को कथा घुम्छ ।
केन्द्रीय चरित्रमा भष्मे डन छ । कालीप्रसादको भूमिकामा सौगात मल्ल भित्रिएका छन् । माताको भूमिकामा ‘मैना’ अर्थात् स्वस्तिमा खड्का छिन् ।
भष्मे डनले पशुपति एरिया आफ्नो ठान्छ । उसलाई साथ दिने केटाहरू छन् । तर, उसले आफैँले एउटा प्रतिज्ञा गरेको छ । उसको आफ्नै शब्दमा भन्दा ‘व्रत’ । उसको प्रतिज्ञाले कालीप्रसादलाई सहज भएको छ, तर कसरी ?
मैना मास्क र छुट्टै पहिरनमा छिन् । उनी एक ठाउँमा भन्छिन्– म डान्सबारमा नाच्थेँ । एउटै मान्छे पनि दुईवटा मान्छे हुन सक्दो रहेछ भनेर त्यही बेला थाहा पाएको हुँ मैले । गाउँको सोझो केटीलाई आस देखाएर ल्याएको त्यो असत्तीले । ‘ओइ, जाने हो ! कति लिन्छेस् ?’ बचाएँ एक दिन आफूलाई अनि सकिनँ । झुटा सपना देखाउने त्यो असत्तीले जिन्दगीमा कहिल्यै बाटो पाउँदैन ।
एक ठाउँमा भष्मे भन्छ– मैले व्रत तोडेको भए तँ वाग्मतीको भ्यागुताको डाइट भैसक्थिस् ! हेर्, अझै पनि केही बिग्रिएको छैन । आइज, शान्ति वार्ता गरौँ ।
सिनेमामा कालीप्रसादको एउटा डाइलग छ– बहुत भयो तेरो व्रत र वार्ता । जिन्दगीमा अशान्ति मच्चा’र साला शान्ति वार्ता भन्छ !
यी संवादले चरित्र कस्ता छन् मोटामोटी संकेत मिल्छ । चलचित्रमा संघर्ष छ । आकर्षण र समर्पण छ । संवेदना र पीडा छ । बाध्यता र छटपटी छ, जसले दर्शकलाई बाँधेर राख्छ । हँसाउँछ । जिन्दगी के हो सोच्न बाध्य पनि बनाउँछ ।
जिन्दगी एक चक्र हो । जसरी हरेक मान्छे जन्मिन्छ र अन्त्यमा घाटमा पुगेर धुवाँमा विलीन हुन्छ, जिन्दगीको त्यस्तै चक्र सिनेमामा देखाइएको छ । भष्मे र कालीप्रसादको पात्र, उनीहरूको अवस्था, संघर्ष र परिबन्दको चक्रमा समय, सन्दर्भ र पात्रबाहेक खासै ठूलो भिन्नता छैन । मितबा (प्रकाश घिमिरे) र चन्द्रबहादुर (लोकेन्द्र लेखक)का दुःखमा तात्त्विक भिन्नता पनि त्यति धेरै छैन । भलै, त्यसको सुरुआतको कारण जेसुकै होस् ।
सिनेमाको कथा आमनेपालीको घटनासँग जोडिन्छ । समाजका निम्नवर्गका आमचरित्रलाई सिनेमाका पात्रले प्रतिनिधित्व गर्छन् ।
तर, पात्र स्थापित गर्न सिनेमामा कन्जुस्याइँ गरिएको छ । कालीप्रसाद कुन बाध्यतामा छ र त्यसका निम्ति उल्टोसुल्टो काम गर्छ त्यो त स्पष्ट छ, तर त्यसको कारण के हो ? सिनेमाले भन्दैन । माता किन माता बनिन्, त्यो सिनेमाले भन्छ । तर, के कति कारणले उनी घरपरिवार छोडेर सुन्दर सपनाका निम्ति काठमाडौं आइन्, त्यसको भेउ पाउन कठिन छ । उनी किन मास्क लगाएर हिँड्छिन्, थाहा छैन । जबकि, अघिल्लो सिरिजमा हनुमानले हनुमानको मास्क र वस्त्र पहिरिनुको स्पष्ट कारण थियो ।
मितबा किन दोहोरो चरित्रमा छन् ? अघिल्लो सिरिजको हनुमानको बोली र व्यवहारमा किन इमानदारिता छैन ? शोभाकान्त किन निर्दयी छ ? थाहा पाइँदैन ।
तर, करिबकरिब उस्तै समस्याबाट आमनिम्नवर्गीय समाज गुज्रिरहेको यथार्थ सिनेमामा सुन्दर ढंगले देखाइएको छ । मधेस होस् वा सुदूरपहाड सबै अभावको दलदलमा रहेको तथा त्यसको मुक्तिका निम्ति काठमाडौं आइपुग्ने र यहाँ समस्या नसुल्झिएपछि आर्यघाटको वरिपरि घुम्ने गरेको सत्यलाई सिनेमामा देखाइएको छ । आर्यघाटको वरिपरि घुम्ने चरित्रले वास्तवमै जीवन हमेसा त्यसकै नजिक छ भन्ने पनि बुझिन्छ ।
यति हुँदाहुँदै पनि मध्यान्तरअघि चलचित्र दोस्रो हाफको तुलनामा केही ढिलो अगाडि बढ्छ । भष्मे डनको क्यारेक्टर अनावश्यक ठाउँमा आइरहेको अनुभूत हुन्छ ।
‘भष्मे डन’ स्थापित पात्र भइगयो । ‘कालीप्रसाद’ यो सिनेमाको हिरो हो । अक्सर सिनेमामा लाउड सुनिने सौगात यो चलचित्रमा अभिनयका हिसाबले हिरो हुन् । सिनेमाका कति सिन अनुत्तरित छन् । त्यसको रहस्य अर्को सिक्वेलमा खुल्न सक्छ । तर, अनुभवी र कुशल लेखक एवं निर्देशक त्यही हो, जसले एउटै सिनेमामा हररहस्यको कारण बताउन सक्छ । हरेक चलचित्र आफैँमा पूर्ण हुनुपर्छ ।
सिनेमेटोग्राफीमा मिहिनेत देखिएको छ । विशेष गरी रातिका सिनहरू राम्रा लाग्छन् ।
ब्याकग्राउन्ड स्कोरले सिनेमा पशुपति क्षेत्रमा खिचिएको स्पष्ट संकेत गर्छ । ब्याकग्राउन्ड स्कोरमा मौलिकता देखिन्छ । सिंक साउन्ड छ । सिंक साउन्डले कथा भन्न सहयोग गरेको छ । तर, मुख्य पात्र भष्मे डनको स्वर ‘पशुपतिप्रसाद’मा जस्तो स्पष्ट छैन । भासिएको स्वर भए पनि ‘पशुपतिप्रसाद’मा स्पष्ट सुनिएको थियो । योपटक ठाउँठाउँमा स्वरले विपीनलाई साथ दिएको छैन ।
सस्पेन्स र थ्रिलर त हैन ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ कथा सस्पेन्स राख्न, तर कतिपय ठाउँमा सजिलै सस्पेन्स क्रिएट गर्न सकिने ठाउँ हुँदाहुँदै लेखकले त्यसो गरेका छैनन् । रियालिस्टिक सिनेमाभित्र पनि फिक्सन हुन्छ नै । लेखकलाई यसको स्वतन्त्रता पनि छ । यसमा पनि फिक्सन छ । तर, फिक्सनलाइज गरेर थप सुन्दर सिनेमा बनाउन सकिने ठाउँमा मिहिनेत कम छ ।
‘पशुपतिप्रसाद’ बजारभन्दा पनि निर्देशकले मनबाट बनाएको सिनेमा थियो । योपटक निर्देशकले बजारलाई समेत केन्द्रमा राखेका छन् । समीक्षकलाई रचनात्मक आलोचना गर्ने ठाउँ छोडिएको छ ।
सिनेमाले हँसाउँछ । दर्शकले भष्मेको चरित्र मन पराउँछन्, रमाइलो मान्छन् । योपटक निर्देशकले बजार र दर्शकको नाडी छामेर रमाइलो सिनेमा बनाएका छन् ।
० ० ०
निर्देशक : दीपेन्द्र के खनाल
लेखक : खगेन्द्र लामिछाने
निर्माता : खगेन्द्र लामिछाने
कलाकार : विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, सजन थापा मगर आदि ।