site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मासु

छोराछोरीले कराएर मनकलीको आधा मासु खाइसकेका थिए । दसैँका लागि दुई किलो मासु जोहो गर्न नसक्दा मनकली पनि चिन्तित थिइन् । बिरामी लालबहादुरको ज्यान सुकेर आधा मासु घटिसकेको थियो ।

अष्टमीको दिन सकीनसकी लालबहादुर बिहानै दश घर डुलेर रित्तो हात फर्किए । मनकलीले आँखा रसिलो पार्दै भनिन्, “केही नलिई आयौ बुढा ! मुखियाबाले केही सहयोग गर्नुहुन्थ्यो होला, गएनौ ?”

पिँढीमा थचक्क बसेर लालबहादुरले निधारको पसिना कमिजको फेरले पुछ्दै भने, “मुखिनी बज्यै बिरामी रहेछिन्, पाठेघरबाट दुई किलो मासु निकालेर फालेको रे !”

मनकलीको मन पग्लियो । मुखिनीलाई भेट्न र आफ्नो दुखेसो पोख्न उनी मुखियाबाको घरतर्फ लागिन् । मुखियाको घरको ढोकामा पुगेर भित्र आँखा तन्काएर हेरिन् ।

मुखिनी बज्यै भित्र ओछ्यानमा नै बसेर मासु भात खाँदै रहिछिन् । मुखिया बा दाँतमा अड्केको मासु कोट्ट्याउँदै बाहिर निस्किए ।

मनकलीले आफ्नो दुखेसो पोखिहाली, “मुखियाबा, यसपालि दसैँमा छोराछोरीलाई मासु किनेर खुवाउन सकिएलाजस्तो छैन, बुढा रोगले थला परे । कतै काममा जान पनि सकेका छैनन् । अब हाम्रो लागि हजुर नै त हो जे भने पनि !”

मुखियाबाले पावरवाला चस्माभित्रबाट मनकलीको विवशतालाई सूक्ष्म आकलन गरेर उसको देहमा गिद्धे नजर गाड्दै भने, “भइहाल्छ नि मनकली, मासु बाँडेर खाउँला नि !”

(हेटौँडा–४)
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro