काठमाडौं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले कोसी प्रदेशको 'राजनीतिक डढेलो' फैलन नदिन पार्टींभित्र गम्भीर समीक्षा आवश्यक भएको बताएका छन् । आइतबार ट्विटरमार्फत धारणा सार्वजनिक गरेका महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई पद्धतिमा नहिँडाएको भन्दै फरक विचार राख्नेले पनि त्यसै गर्नु उचित नहुने बताएका छन् ।
पार्टीभित्र सल्लाह नगरी एमालेसँग भएको सहमतिप्रति उनले विमति जनाएका छन् ।
“कोसी घटनालाई डढेलो झैँ बन्न नदिन संयम र परिपक्वता राखौँ ! गणितीय जटिलता अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो– कोसीमा एमालेसहितको समाधान खोजौँ । तर, मौजुदा गठबन्धन कायमै राखेर,” शर्माले भनेका छन्, “कांग्रेस, माओवादी र एसको गठबन्धन संसद् विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । कांग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौँ। तर, पार्टीको संस्थागत निर्णय मान्यौँ ।”
उनले वर्तमान सत्ता गठबन्धन छोडेर अर्को गठबन्धन ठिक हुन्छ भने संस्थागत निर्णय गर्नुपर्ने उनको मत छ ।
“यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौँ । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन । तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न,” शर्माले भनेका छन्, “सल्लाहले डिभोर्स गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । पुस १० पनि नबिर्सौं ।”
गठबन्धन कायम राख्ने हो भने माअोवादीका तर्फबाट गम्भीर प्रश्न रहेको भन्दै त्यसको सम्बोधन पनि कांग्रेसको कर्तव्य हुने उनको भनाइ छ ।
“माओवादीको यक्ष प्रश्न– कोसीमा एमाले नेतृत्वको सरकार छोड्यौँ, सभामुख छोड्यौँ, कांग्रेसलाई दुईपटक ब्ल्याङ्क चेक दियौँ । तेस्रोपटकमा हामीले किन नपाउने ?,” शर्माले लेखेका छन्, “कांग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनुपर्ने ? यो गठबन्धन दलहरूको कि गुटहरूको ? कोसी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पूरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।”
उनले गठबन्धन कि गर्नै नहुने कि यसका राम्रा तथा नराम्रा पक्ष पनि स्वीकार गर्नुपर्ने बताएका छन् । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति स्वीकार्नैपर्ने भन्दै उनले त्यसका लागि नेतृत्वले संवाद गर्नुपर्ने उनको भनाइ छ ।
“गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो–नराम्रो सबै बेहोर्नुपर्छ । एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ । सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो,” शर्माले भनेका छन्, “गणित नै त्यस्तो छ– एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवादमार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।”
उनले कांग्रेसले गम्भीर आत्मसमीक्षा पनि गर्न जरुरी रहेको बताएका छन् । “व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र साझा मत खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न,” शर्माले भनेका छन्, “जमाना बदलिएको छ, अब तपाईंहरू बदलिनुस् । हामी बदलिन तयार छौँ । पार्टीको हित तपाईं हामी बदलिनुमा सुनिश्चित छ ।”