काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले एमालेको विरोध गरेको बताएका छन् । एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै बुधबार उनले देशलाई विकासको बाटोमा लैजान सक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको तर्क गरे ।
उनले एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको पनि बताए । उनले माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताए ।
"एमालेको विरोध किन गरेका छन् भन्दा एमाले अयोग्य, असक्षम भएर होइन, काम गर्न नसकेर होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्न सक्छ । मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ । देशमा सुशासन ल्याउन सक्छ । शान्ति सुव्यवस्था कायम गर्न सक्छ, त्यसो भएपछि विरोध भइरहेको छ," उनले भने ।
उनले अगाडि थपे, "कांग्रेस हामीसँग आत्तिएको किन, आफ्नै भविष्य अन्धकार देख्न थालेर । माओवादी आत्तिएको किन ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । तपाईंहरू सच्चिनुहुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईंहरूको भविष्य छैन । नसच्चिए त तपाईंहरूको भविष्य अन्धकार भएर जाने नै हो ।"