काठमाडौं । बुधबार काठमाडौंको कमलादीबाट २ जना भारतीय ‘सुटर’ पक्राउ परे । उनीहरुलाई थुनामा राखेर अनुसन्धान जारी राखेको भए पनि ‘पञ्जाब प्रहरी’ को परिचयपत्र रहेको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।
नेपालमा कसैको हत्या योजनाका साथ उनीहरु छिरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
कमलादीबाट पक्राउ परेका जसवित सिंह र हर देवेन्द्र सिंहलाई अहिले हिरासतमा राखेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुईजनाबाट प्रहरीले भारतीय सुरक्षाकर्मीले प्रयोग गर्ने अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोली बरामद गरेको छ ।
यसअघि २२ असोजमा पनि प्रहरीले काठमाडौंको बौद्धबाट दुई भारतीय ‘सुटर’ पक्राउ गरेको थियो ।
चुनावको मुखमा हतियार बरामद हुनु र बारम्बार ‘भारतीय सुटर’ पक्राउ पर्नुलाई प्रहरीले फरक ढंगबाट हेरेको र त्यहीअनुसार सचेत भएको पनि प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरी अनुसन्धानबाट यसअघि नेपालमा भएका विभिन्न हत्या योजना भारतीयले नै बनाएको र भारतबाटै सुटर आएर उनीहरुको हत्या गरेको निष्कर्ष निकालिएको थियो ।
तत्कालीन सांसद मिर्जा दिलसाद बेग, कमल सिंह नेपाली, जमिम साह, बुटवल र नेपालगन्जमा मारिएका सौकत बेग र मजिद मनिहार, फैजान अहमद अन्सारी अनि प्रहरी हिरासत र केन्द्रीय कारागारमै हत्या प्रयास गरिएका युनुस अन्सारीदेखि बाराका आलम हत्यामा भारतीय सुटरको प्रयोग भएको यसअघि नै प्रहरीको अनुसन्धानले पुष्टि गरिसकेको छ ।
मिर्जा दिलसाद बेग
२०५५ असार १५ गते काठमाडौंको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरियो । ‘सार्प सुटर’ ले मिर्जालाई गोली प्रहार गरेका थिए । मिर्जा हत्या प्रकरणलाई लुकाउन उनका चालक भुवन कार्कीको समेत हत्या गरिएको थियो । मिर्जाको हत्यामा पनि भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नता देखिएको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो ।
कमलसिंह नेपाली
२०६३ भदौ २४ गते काठमाडौंको नयाँ बानेश्वरमा कमलसिंह नेपालीलाई गोली हानी हत्या गरियो । भारतको कुख्यात अपराधिक समूह छोटा राजनका लागि काम गरेको भनिएका नेपालीको राजन समूहको पोल खुल्न सक्ने भन्दै छोटा राजन समूहबाटै गोली हानी हत्या गरिएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सुरुआतमा छोटा राजन समूहमा रहेर काम गर्दै आएका भनिएका नेपालीले पछिल्ला दिनमा दाउद ग्याङमा प्रवेश गरी नेपालमा काम गर्ने गरेको सुइँको पाएपछि राजन समूहले हत्या गरेको प्रहरी निष्कर्ष थियो । नेपालीको हत्यामा पनि भारतीय सुटरकै प्रयोग भएको प्रहरी निष्कर्ष थियो ।
माजिद मनिहार
२०६४ असोज १९ गते नेपालगन्जमा माजिद मनिहारको हत्या भयो । मनिहारले अन्डरवल्र्ड डन दाउद इब्राहिम समूहसँग मिलेर नक्कली भारतीय नोटको कारोबार गर्ने गरेको भारतीय पक्षले आरोप लगाएको थियो । मुस्लिम इत्तेहाद संगठन बाँकेका जिल्ला उपाध्यक्ष समेत रहेका उनी उत्तरप्रदेश बहराइचका मनिहार भारतीय प्रहरीको समेत मस्ट वान्टेडको सूचीमा थिए ।
जमिम शाह
२०६६ माघ २४ गते सञ्चार उद्यमी जमिम शाहको काठमाडौंको लाजिम्पाटमा दिउँसो गोली हानी हत्या गरियो । होटल याक एन्ड यतिमा सञ्चालित हेल्थ क्लबमा ‘फ्रेस’ भएर पानीपोखरीस्थित निवास फर्किँदै गर्दा लाजिम्पाटमा फ्रान्सेली दूतावास अगाडि जमिममाथि गोली प्रहार भएको थियो । उनको हत्यामा भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहकै हात रहेको चर्चा थियो र अझै छ ।
सौकत अली बेग
२०६६ पुस १० गते बुटवलको मैनाबगरमा परवेज ठान्डा भनिने सौकत अली बेगको हत्या भयो । भारत उत्तरप्रदेश ह्यातगन्जका बेग नेपालको तौलिहवा, जमुहार क्षेत्रमा बस्दै आएका थिए । उनको नाममा भारतका विभिन्न अदालतमा हत्या, अपहरण र तथा तस्करीका ४१ वटा मुद्दा दर्ता भएका थिए । भारतीय प्रहरीको खोजीमा रहेका बेग १९९३ मा नेपाल छिरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
युनुस अन्सारीको हत्या प्रयास
०६७ फागुन २६ गते केन्द्रीय कारागार सुन्धारामा जेल सजाय भुक्तान गर्दै आएका युनुस अन्सारीमाथि हत्या प्रयास भयो । भारतीय ‘सार्प सुटर’ मनमित सिंह भाटियाले कारागारभित्रै छिरेर अन्सारीमाथी गोली प्रहार गरेका थिए । नक्कली भारतीय नोटको तस्करीमा अन्सारीको मिलेमतो रहेको भन्दै उनको हत्या गर्न भाटियालाई नेपाल पठाएको रहस्य खुलेको थियो ।
फैजान अहमद अन्सारी
२०६८ असोज ९ गते काठमाडौंको घण्टाघर नजिकै इस्लामी संघ नेपालका महासचिव फैजान अहमद अन्सारीको हत्या भयो । मस्जिदमा नमाज पढेर फर्कंदै गरेका फैजानमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आडैमा ‘सार्प सुटर’ ले तीन राउन्ड गोली हानेर उनको हत्या गरे । टाउको, घाँटी, छाती र कोखामा उनलाई गोली हानिएको थियो । फैजान हत्यामा पनि भारतीय ‘कन्ट्याक्ट किलर’ को प्रयोग भएको प्रहरी अनुसन्धानको निष्कर्ष निकालेको थियो ।
मोहम्मद आलम
२०७० असोज १८ गते बारामा दोस्रो संविधान सभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उमेदवारी दिएका एमाले नेता मोहम्मद आलमको गोली हानी हत्या गरियो । एमालेका पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहाले हत्या योजना बनाएका थिए । र हत्यामा भारतीय ‘सार्प सुटर’ को प्रयोग भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
“सुरक्षाकर्मीहरु निर्वाचन सुरक्षामा व्यस्त भएको मौका छोप्नेहरु यस्तै बेलामा जाग्ने गर्छन्,” नेपाल प्रहरीका पूर्व एआईजी नवराज ढकाल भन्छन्, “ठूला आपराधिक घटनामा भारतीय नागरिक प्रयोग भएको इतिहास छ । नेपाल–भारत सीमा क्षेत्रमा हजारौँ बाटाहरु छन् । हतियार भित्र्याउनेदेखि अपराधमा संलग्न भाग्नेहरु त्यही बाटो प्रयोग गर्ने गर्छन् ।”
चुनावका मुखमा यसरी हतियारसहित भारतीय नेपाल प्रवेश गर्नु सुरक्षा चुनौती भएको उनको विश्लेषण छ ।
त्यस्तै गरी नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल पनि खुला सिमानाको फाइदा लिएको बताउँछन् । उनी भन्छन्, “खुला सिमानाका कारण अपराधी धेरै आवतजावत गर्ने गरेको भनिन्छ । तर त्यो कुरा केही हदसम्म भए पनि खुला सीमालाई मात्र दोष दिन मिल्दैन । प्रहरीले पनि अनुसन्धानको दायरालाई फराकिलो बनाउनुपर्छ ।”
उनले थपे, “राजधानीमा यतिधेरै हतियार बरामद हुन थालेका छन्, हतियार कुन उद्देश्यले बोकिएका हुन् र कस्तो अवस्थामा बरामद भएको भन्ने कुराले निर्धारण गर्छ ।”