काठमाडौं । महँगी र कालोबजारीले जनताको ढाड सेकिएको भन्दै सांसदहरूले आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने सत्ता र प्रतिपक्ष दलका सांसदहरूले चाडपर्वको समयमा महँगी र कालोबजारीको मारमा जनता पिल्सिएको तर सरकारले नियन्त्रणतर्फ ध्यान दिन नसकेको बताए ।
शून्य समयमा बोल्ने क्रममा सांसद अमृता अग्रहरीले माइतीघरमा नबसेर न्याय नपाइने अवस्था आएको हो भनेर प्रश्न गरिन् । देशमा सरकार छ कि छैन भनेर जनताले प्रश्न गरिरहेको उनको भनाइ छ ।
सांसद आश्मा कुमारी चौधरीले सरकार चाडपर्वको समयमा महँगी बढाएर जनताको जीवनमाथि खेलबाड गर्न लागिपरेको बताइन् ।
“यो सरकार चाडबाड नजिकिँदै जाँदा महँगी बढाएर जनताको जीवनमाथि खेलबाड गरिरहेको छ । हरेक सामानको मूल्य आकाशिएको छ । सहुलियत प्रदान गरी बजार नियन्त्रण गर्नुपर्छ,” उनले भनिन् ।
सांसद ईश्वरबहादुर रिजालले 'सरकार जे बोल्छ, ठिक उल्टो गर्छ' भन्दै सरकारले 'मूल्यवृद्धि गर्छु' भन्यो भने 'नियन्त्रण हुन्थ्यो कि' भनेर व्यङ्ग्य गरे ।
“सरकार जे बोल्छ, त्यसको ठिक उल्टो काम गर्छ । त्यसकारण म सरकारलाई सुझाव दिन चाहान्छु कि सरकारले मूल्यवृद्धि बढाउँछु भनोस्, त्यसपछि अहिले आकाशिएको महँगी घटिहाल्ला कि ?,” उनले भने ।
अर्का सांसद उदय शमशेर राणाले तीन महिनाभित्र अत्यधिक महँगी बढेको भन्दै चाडपर्वको समयमा यसतर्फ सरकारको ध्यान नगएको बताए । उनले कालोबजारी र महँगी नियन्त्रण गर्न बजार अनुगमन गर्न सरकारसँग माग गरे ।
“तीन महिनामा दसैँका मुखमा अत्यधिक बढेको छ । चिनी टमाटरको भाउ बढेको छ । चामलको मूल्य २० प्रतिशतले बढेको छ । बजारहरूमा कालोबजारी बढेको छ, दसैँलाई ध्यान गरेर बजार अनुगमन आग्रह गर्दछु,” राणाले भने ।
सांसद उर्मिला माझीले प्रधानमन्त्रीले विदेश भ्रमणबाट फर्किने बित्तिकै जनतालाई तर्साउने काम गरेको आरोप लगाइन् । उनले महँगीको मारबाट जनता बचाउन उच्चस्तरीय संयन्त्रण नियन्त्रण गरेर समस्या समाधान गर्न माग गरिन् ।
“प्रधानमन्त्री स्वदेश फिर्ता भएको ग्यास चाडबाडको मुखमा दसैँको जनता तर्साउने काम भयो । अहिले बजारमा खाद्यान्नलगायत सबै उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । यसको अन्त्य गर्न उच्चस्तरी संयन्त्र निर्माण गरी मूल्य वृद्धिको आतंक अन्त्य गर्न जोडदार माग गर्दछु,” उनले भनिन् ।
सांसद अञ्जनी श्रेष्ठले पनि सरकारले महँगी नियन्त्रणमा काम नगरेको भन्दै आलोचना गरिन् ।
“महँगी, भ्रष्टाचार र बिचौलियाको जगजगीले जनतामा त्रास छन्, निराश छन्,” उनले भनिन्, “यस्तो बेला सरकार कहाँ छ ? दसैँ तिहार नजिकिएको छ, यस्तो बेला बजार सस्तो हुनुपर्ने हो । तर महँगी दोब्बर भइरहेको छ । महँगी नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ?”