site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उन्मुक्त ज्योत्सना, शब्दहार र परावर्तन 

उन्मुक्त ज्योत्सना 
(मुक्तकसंग्रह : नवराज पुडासैनी ‘ज्योत्सना’)
नवराज पुडासैनी ‘ज्योत्सना’ लामो समयदेखि लेखनमा सक्रिय छन् । कथा, कविता, गीत, गजल लेख्दै आएका उनको पहिलो मुक्तककृति हो ‘उन्मुक्त ज्योत्सना’ । उनका यसअघि कथाकृति र ‘ज्योत्सनाका गीत गजल’ सार्वजनिक भइसकेको छ ।

साहित्यिक पत्रिका कल्पतरुको सम्पादन गर्दै आएका नवराजले आफ्नो मुक्तककृतिमा लेखेका छन्, “दश कक्षामा स्कुल पढ्दाताका एउटा कविता नलेखेको दिन निद्रा लाग्दैनथ्यो मलाई । यस्तो हुटहुटी चारपाँच वर्षसम्म रह्यो । बैंकमा नोकरी सुरु गरेपछिका दिनमा धादिङबेसीको थोपल खोलाका ढुंगामा बसेर दैनिक केही न केही लेखिन्थ्यो । फाट्टफुट्ट त्यस बेलाका पत्रिकाहरूमा छापिन्थ्यो पनि ।...।”

नवराजले आफ्नो मुक्तकमा लेखेका छन्–
न त गाह्रो हिमाल चढ्न, न त जँघार तर्दा हुन्छ
होला गाह्रो रुँदै बाँच्न, न त गाह्रो मर्दा हुन्छ 
मेरो पालो आओस् मात्रै अनि थाहा पाउली मोरी 
कति गाह्रो देखेर नि नदेखेझैँ गर्दा हुन्छ !
(पृष्ठ – १)

Argakhachi Cement Island Ad

यो कृतिभित्र कुल २८८ मुक्तक छन् । जसले समय, सन्दर्भ, समाज, राजनीति, विकृति, विसंगतिविरुद्धका भाव बोकेका छन् ।

प्रसिद्ध कवि एवं गीतकार कन्चन पुडासैनीले काव्यात्मक शुभकामना दिएका छन् यसरी–
देख्तैछु यहाँ चौबाटा छन्, पुग्न जता पनि सक्छन् मान्छे,
लहडी छन् यी लेखक बालक, बहु व्यञ्जनका यी छन् भान्छे ।

कल्पतरु द्वैमासिकले प्रकाशित गरेको १०४+४ पृष्ठको यो मुक्तककृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।

०००
शब्दहार 
(गीतसंग्रह : राजेन्द्र गुरागाईं)
राजेन्द्र गुरागाईं साहित्यिक कृति अनुवादका क्षेत्रमा परिचित छन् । विभिन्न नेपाली साहित्यिक कृतिहरूलाई बंगाली भाषामा अनुवाद गर्न उनी पोख्त छन् । नेपालीबाट बंगाली, बंगालीबाट नेपाली भाषामा साहित्यिक सामग्री अनुवाद गर्दै आएका गुरागाईंको पहिलो मौलिक कृति हो, ‘शब्दहार’ । यसमा उनले लेखेका गीतहरू समेटिएका छन् ।

कृतिकार गुरागाईं आफ्नो भनाइमा लेखेका छन्, “आफ्ना मौलिक रचनाहरूलाई पनि अब कृतिको आकार दिनुपर्छ भन्ने सोचले पुराना कविता, लेखजस्ता फुटकर रचनाहरू भेला पार्दा तीनवटा जति कृति तयारी अवस्थामा छन् । दशकौंअघि आफूले रचना गरेका ती पुराना गीति सिर्जनाहरू पुराना डायरीबाट निकाल्दै परिमार्जन गरी यो २०७९ सालमा बल्ल तिनीहरूले कृतिको आकार पाउन सकेको छ ।...।”

विराटनगरका साहित्यकार दधिराज सुवेदीले भूमिकामा लेखेका छन्, “मलाई लाग्छ, वसन्तका वनमा काफल टिप्दै कोइलीले गाउन पायो भने रनवन थर्कने छ, स्रोताहरू हाल्हादित हुनेछन् । गीत र संगीतले चेतनशील प्राणी मात्र होइन पक्षी आदि पनि रमाउँछन् भनेर विज्ञानले प्रमाणित गरेको छ । गीति रचनाभित्र रस, भाव, ताल, चाल, मात्रा, लय आदिको सम्मिश्रण चाहिन्छ । राजेन्द्र गुरागार्इंका गीतभित्र यी कुराको संयोजन राम्रोसँग भएको अनुभव हुन्छ ।...।”

गीतकार दिनेश अधिकारीले शुभकामनामा लेखेका छन्, “सर्सती पढेर कुनै गीतका बारेमा धारणा बनाउनुअघि अमुक गीत कुन पृष्ठभूमिमा वा कुन उद्देश्यले लेखियो भन्ने कुराको हेक्का गरिनुपर्छ भन्ने मलाई लाग्दछ । भन्नुको अर्थ हो, गीतका धेरैवटा आँखीझ्यालहरू लेखियो कि ? वा जागरणको उद्देश्यले गीत लेखिएको थियो कि ? अथवा संगीतका लागि लेखिएको हो कि ? वा भनौँ मनजस्तै स्वतन्त्र रूपमा विचरण गर्दाको परिणति पो थियो कि ? भन्नेतिर पनि मेरो ध्यान जाने गरेको छ । यी र यस्तै आधारमा गीतको रसास्वादन गर्ने मलाई बानी परेको छ ।”

यो गीतिसंग्रहभित्र कुल ४६ गीत छन् । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले प्रकाशनमा ल्याएको ६४+४ पृष्ठको यो कृतिको मूल्य १७५– रुपैयाँ राखिएको छ ।

०००
परावर्तन 
(मुक्तकसंग्रह : रेहित सैजु)
पछिल्लो समय साहित्यिक पत्रकारितामा संलग्न रेहित सैजुको पहिलो काव्यकृतिका रूपमा पाठकमाझ ‘परावर्तन’ पस्किइएको छ । यसमा उनले आफ्नो मनका भावना प्रस्तुत गरेका छन् ।

मुक्तककार सैजुले आफ्नो भनाइमा लेखेका छन्, “यहाँ संग्रहित मुक्तकहरू के कस्ता छन्, म भन्न सक्तिनँ । मेरा लागि सबै समान छन् । म आफ्नो सिर्जनालाई आफैंले मूल्यांकन गरेर खुट्ट्याउन सक्तिनँ । यसको जिम्मा भगवान्रूपी मेरो पाठक हजुरहरूलाई नै छोडिदिएको छु ।...।”

कृतिको भूमिकामा साहित्यकार रुद्र ज्ञवालीले लेखेका छन्, “मुक्तककार रेहित सैजुद्वारा संरचित मुक्तकहरू अध्ययन गर्दा उनका मुक्तकको रचना विधान पोखरा घोषणापत्रद्वारा स्थापित मान्यताअनुरूपकै देखिन्छ । यी मुक्तक रुवाई शैलीमा संरचित भए पनि यिनमा छन्द विधान नभएकाले यी शुद्ध रुवाई भने होइनन् ।...।”

मन्तव्यमा राजेन्द्र कार्कीले लेखेका छन्, “साहित्य समाजको प्रतिविम्ब हो । साहित्यले समाजको अनुहारलाई देखाउँछ र आजको त्यो अनुहार भोलिका लागि इतिहास हुन्छ ।...।”

यो कृतिभित्र २४० मुक्तक छन् । एउटा मुक्तकमा उनले लेखेका छन्–
चर्किएर यो चाटी फुटे जस्तो लाग्छ 
राहु केतु आपसमा जुटे जस्तो लाग्छ 
एक्लिएको महसुस हुँदै छ जिन्दगीमा 
निकटमा रहेकाहरू छुटे जस्तो लाग्छ ।
 (पृष्ठ – २१०)

उदय विष्टद्वारा प्रकाशित ९६+४ पृष्ठको यो पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्