site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पक्राउ परेनन् मुख्य आरोपी विकास लामा, चेक दिनेमाथि अनुसन्धान गर्दै भन्सार कार्यालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिब एक किलो सुन तस्करी घटनाका फरार आरोपी काभ्रेका विकास लामाको कारमा भेटिएको चेकबारे अनुसन्धान सुरु भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दुबई हुँदै हिमालयन एयरलाइन्सबाट काठमाडौं तस्करी भएको ९६० ग्राम सुन प्रकरणको अनुसन्धान थालेको हो ।

काठमाडौं प्रहरीको विशेष टोलीले २५ भदौमा सुनसहित काभ्रे खानीखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको थियो । त्रिभुवन विमानस्थल जाँचपास गरेर बाहिरिएका दोङको शरीर जाँच गरेको प्रहरीले सुन भेटेपछि पक्राउ गरेको थियो । दोङले ल्याएको सुन काभ्रेको महाभारत गाउँपालिकाकै विकास योञ्जन लामाको भएको खुलेको छ ।

सो प्रकरणमा जोडिएका अन्य दुईजना आरोपी काभ्रेको रोशी गाउँपालिका–३, घट्टेखोलाका ३३ वर्षीय जगत लामा र काभ्रेकै महाभारत गाउँपालिका–३ का ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तानलाई समेत प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, आरोपी विकास लामा भने अझै फरार छन् । आफूलाई पक्राउ गर्न प्रहरी पुगेको चाल पाएपछि विकास लामा काठमाडौंको डल्लूबाट कार नै छाडेर भागेका थिए । प्रहरीले उनको कार भने नियन्त्रणमा राखेको छ ।

उनको कारणमा करोडौँ रुपैयाँको चेक फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलको भनाइ छ । प्रहरीले बरामद गरेको सुन र विकासको कारमा भेटिएको चेक भन्सार कार्यालय बुझाएको छ ।

Global Ime bank

भन्सार कार्यालयले प्रहरीले बरामद गरी बुझाएको चेकबारे अनुसन्धान भइरहेको जनाएको छ । भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले विकासको कारमा भेटिएको चेकबारे अनुसन्धान भइरहेको बताए ।

“बरामद चेकबारे हामीले अनुसन्धान थालेका छौँ । केका आधारमा विकाससँग लाखौँको कारोबार भयो ? चेक दिनेमाथि हामी सोधपुछ र बयान लिन्छौँ । आवश्यक परे पक्राउ पुर्जीको लागि प्रक्रिया अगाडि बढाउँछौ,” प्रवक्ता खनालले भने ।

भन्सार कार्यालयले अनुसन्धान अधिकृत नारायण गौतमलाई जिम्मा दिएर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार सुनका मालिक भनिएका विकास लामाको बरामद भएको वाग्मती प्रदेश ०१२७ च ९९६० नम्बरको क्रेटा गाडीमा काभ्रे क्षेत्र नम्बर–१ ‘ख’का प्रदेशसभा सदस्य तथा वाग्मती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले दिएको ६ लाख रुपैयाँको चेक समेत भेटिएको दाबी गरेको छ ।

जसकारण मन्त्री लामासमेत विवादमा परेका छन् । तर, लामाले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् । परिसरका एसपी ढुंगेलले उक्त सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीलेसमेत आफ्नो तरिकाले गरिरहेको बताए ।

“यो सुन तस्करीको अनुसन्धान प्रहरीले गर्नुपर्ने देखिन्छ । हामीले आफ्नो तरिकाले पनि अनुसन्धान जारी राखेका छौँ । भन्सारले पनि अनुसन्धान गर्न फाइल हामीलाई पठाउने भनेको छ,” एसपी ढुंगेलले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन तस्करीका लागि विकासले काभ्रेबाट १५ देखि २० युवालाई नियमित दुबई पठाउने र फर्कँदा सुनको भरिया बनाउने गरेको तथ्य फेला पारेको छ ।

विकास लामा समूहले काभ्रेकै नवीन दोङलाई दुबईमा सुन पठाउने धन्दामा प्रयोग गर्ने गरेको दाबी गरेको छ । दोङले सुनको लेदो बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका थिए ।

विकास करिब दुई वर्षदेखि सुन तस्करीमा सक्रिय रहेको आशंका गरिएको छ । उनी काभ्रे कांग्रेसको राजनीतिमा समेत सक्रिय छन् । विभिन्न आपराधिक गतिविधिमा सक्रिय उनी यसअघि मोटरसाइकल चोरी अभियोगमा जेलसमेत परेका थिए ।

०७९ मा भएको निर्वाचनमा विकास नेपाली कांग्रेसमार्फत काभ्रे क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभा सदस्यका लागि समानुपातिकमा सिफारिसमा परेका थिए । त्यसबेला उनी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘क’ क्षेत्रकै प्रचारप्रसार समिति संयोजक समेत थिए । पछिल्लो दुई वर्षमा विकासले अस्वाभाविक रुपमा सम्पत्ति जोडेको प्रहरीको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय