site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घरमा किन लगाएका थिए प्रदर्शनकारीले आगो ? 

काठमाडौं । गत चैत १५ गते राजतन्त्र पुनस्र्थापनाको माग गर्दै तीनकुनेमा आयोजना गरिएको अराजक प्रदर्शन र उत्पात मच्चाउने ८२ जनामाथि प्रहरीले मुद्दा चलाएको छ । केहीको खोजी अझै जारी छ ।

प्रदर्शन अराजक बनाउने मूख्य नाइके विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमेशर जवरासमेत प्रहरीको हिरासतमा छन् ।

जवरालाई उपचारका लागि भन्दै छाड्ने प्रहरी तयारी छ ।  उनीहरुमाथि प्रहरीले राज्यविरुद्धको अपराध संगठित अपराध मुद्दामा अदालतबाट थुनामा राखेर अनुन्धान गर्ने अनुमति पाएको थियो । 

पक्राउ परेका उनीहरुमाथि बयान लिने काम प्रहरीले गरिरहेको छ । मिश्र र राणा प्रदर्शन गरिएकै राति पक्राउ परे पनि दुर्गा प्रसाईंलाई भने पक्राउ गर्न प्रहरीलाई हम्मेहम्मे नै परेको थियो ।

प्रसाईं प्रदर्शनको १४ दिनपछि गएको शुक्रबार झापाको भद्रपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको थियो । 

तर, उनी भारतको असामबाट पक्राउ परेका हुन् । दुर्गाविरुद्ध भने प्रहरीले ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान सामाजिक उपद्रोसहितका मुद्दा समेत चलाउने तयारी थालेको छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले संगठित मुद्दा चलाएको कारण प्रहरीलाई उनीहरु थुनामा राखेर अनुसन्धान गर्न मिल्ने अझै समय छ । संगठित अपराध मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको समय हुन्छ ।

चैत १५ को प्रदर्शन अराजक बन्दा दुई जनाको ज्यान नै गएको थियो । 

प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने प्रदर्शनकारीले लगाएको तीनकुनेको एक घरमा फसेका ताहाचलका ३२ वर्षीय सुरेश रजकको जलेर ज्यान गएको हो । उनी पत्रकारसमेत हुन् ।

प्रदर्शनमा नेपाल प्रहरी तर्फ ५५ जना र सशस्त्र प्रहरीका २५ जना घाइते भएका थिए । हाल सबै डिस्चार्ज भइसकेका छन् । त्यसरी नै प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका थिए । जसमध्ये २० जनालाई प्रहरीको गोली तथा छर्रा लागेको थियो । घाइते प्रदर्शनकारी समेत डिसचार्ज भइसकेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आर्चायका अनुसार प्रदर्शनकारीले व्यक्तिका घर, निजी संस्था, सरकारी कार्यालय, प्रहरी कार्यालय र राजनीतिक दलका कार्यालय गरी ४० घरहरुमा क्षति पुर्‍याएका थिए । प्रहरीको तथ्यांकअनुसार पाँचवटा व्यक्तिको घर, २९ वटा निजी संस्था, तीनवटा सरकारी कार्यालय, तीनवटा प्रहरी कार्यालय र दुईवटा राजनीतिक पार्टीका कार्यालयमा क्षति पुर्‍याएका थिए ।

यसरी क्षति पुर्‍याइका मध्ये तीनकुनेस्थित प्रेम श्रेष्ठको घरमा भने सबैभन्दा बढी क्षति पुगेको थियो ।  सोही घरभित्र फसेका सुरेशको जलेर ज्यान गएको हो । बाहिरपट्टि कालो सिसा राखिएको घरमा प्रदर्शनकारीले अन्धाधुन्ध ढुंगामुढा प्रहार गरेका थिए ।

पछि प्रदर्शनकारी आफैँ घरभित्र चढेर आगजनी नै गरेको भिडियो सार्वजनिक भएको छ ।  आगजनी गर्ने धादिङका सन्तोष सिलवालले निर्माण गरेको एनि टाइम फोर्स (एटीएफ) का सदस्य रहेको खुलेको हो । आजगनी गर्ने रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षका सरोज गौतम र अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही पक्राउसमेत परिसकेका छन् । 

उनीहरु दुवैजना एटीएफका सदस्य हुन् । परिसरका एसपी अपिल बोहराका अनुसार गौतम एटीएफका प्रवक्ता र शाही सदस्य रहेको खुलेको हो ।

किन पर्‍यो श्रेष्ठको घर टार्गेटमा ?

प्रदर्शनमा उत्रिएका अराजक समूहले निजी घरहरुमा समेत ढुंगा प्रहार विरलै गर्ने गर्छन् । तीनकुनेको एक निजी घरपछि टार्गेटमा परेको थियो कोटेश्वरको भाटभटेनी सुपरस्टोर ।

कम्तिमा पनि ७०–८० लाख रुपैयाँको क्षति पुग्नेगरी सो स्टोरमा लुटपाट मच्चाइएको थियो । त्यहाँ रहेको सुरक्षा गार्ड लुटेरा समूहसँग भिड्न नसकेको भए भाटभटेनीले पनि तीनकुनेकै क्षति बेहोर्नुपर्ने अवस्था आइसकेको प्रहरी अधिकारी बताउँछन् ।

प्रदर्शनकारीले प्रेम श्रष्ठको घर र भाटभटेनीलाई किन टार्गेट गरे त ?

प्रेम श्रेष्ठको घरमा सुवाल ल एसोसियट्स सेन्टर फर इन्टेलिजेन्स प्रपर्टी नेपाल प्रा.लिको कार्यालय समेत थियो ।  प्रर्दशनकारीले लगाएको आगोमा परेर सुरेश रजकको ज्यान नै गयो भने घरमा राखिएको कार्यालयका कागजात समेत जलेर नष्ट भए ।

पहिले सोही घरमा सुनौलो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पनि थियो । श्रेष्ठकाबाहेक सँगैका सुधा पन्त, मिरा न्यौपाने, गणेश ढकालसहितको घरका सिसा फुटाइएका थिए ।

यसरी नै कोटेश्वरस्थित भाटभटेनीमासमेत लुटपाट मच्चाएका थिए । तर, प्रेम श्रेष्ठको घरमा भने ठूलो क्षति पुग्यो । आफु लाजिम्पाट बस्दै आएका श्रेष्ठको त्यो घर सुनौलो बचत तथा ऋण सहकारीकै नाममा छ । प्रेम श्रेष्ठ आफैँ उक्त सहकारीका सञ्चालक हुन् ।

श्रेष्ठ भन्छन्,‘‘मेरो सहकारीको अफिस बानेश्वरमा छ । तर, त्यो सहकारीकै नाममा भएका कारण भाडामा लगाइएको थियो । सहकारीको बोर्ड भने राखेका थियौँ । तर, पूर्णरुपमा क्षति भएको छ । मेरो घरलाई किन टार्गेट गरे । अहिलेसम्म बुझेका छैनौँ । प्रहरीले समेत त्यसको जानकारी दिएको छैन ।’’

चैत १५ गतेको प्रदर्शनका संयोजक पूर्वपञ्च नवराज सुवेदीले भने व्यक्तिका घर–घरको छतमा प्रहरी बसेर अश्रुग्यास प्रहारहुँदा प्रदर्शन अराजक बनेको दाबी गरेका छन् ।

श्रेष्ठका अनुसार प्रर्दशनकारीले आगजनी गरेको आफ्नो उक्त घरको एक फ्ल्याट भाडामा लिन यसअघि सहकारी पीडित नै पुगेका थिए ।  तीनकुनेमै लामो समय धर्नामा बसेका सरकारी पीडीतहरुको समूहले नै कार्यालयका लागि भाडामा लिएका थिए ।

श्रेष्ठ भन्छन्,‘‘मेरो घर नै जलाउनुपर्ने कोहीसँग त्यस्तो दुस्मनी त थिएन । तर, बाख्रा हराउनु र बाघ कुराउनु जस्तै भएको छ । मेरो घरमा पहिला दुर्गा प्रसाईंकै समूह हुँ भनेर ६० दिन धर्नामा बसेकाहरु असिफ खोज्न पुगे । मैले दिएँ पनि । उनीहरुको १८ वटा कुर्सी पनि थियो । तर, पछि दुर्गाको टिमबाट छुट्टियौँ भन्दै थिए । पछि आउँदा पनि आएनन् । उनीहरुसँगै कुरा गरेर मैले चाबी फुटालेको थिएँ । पछि दुर्गा प्रसाईंले नै नेतृत्व गरेको समूहले मेरो घरमा तोडफोड गरे ।”

प्रदर्शनकारीले दाबी गरेजस्तै आफ्नो घरमा प्रहरी चढेर अश्रुग्यास प्रहार गरेको प्रमाण फेला परे राज्यविरुद्ध मुद्दा लिएर जाने तयारी श्रेष्ठले गरेका छन् ।  उनले अहिलेसम्म आफूले प्रमाण खोजी गरिरहेको बताउँदै भने, “प्रमाण फेला परे राज्यविरुद्ध नै मुद्दा लिएर अदालत जान्छु ।”

काठमाडौं प्रहरीले पनि प्रदर्शनकारीले किन आगो लगाए भन्नेबारे अनुसन्धानकै क्रममा रहेको जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro