
काठमाडौं । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कक्षा–१२ को निर्धारित परीक्षामा शिक्षक नै सहभागी भए राम्रो हुने बताएका छन् । विद्यार्थीको अधिकारलाई सम्मान गरिनुपर्नेमा उनले जोड दिए ।
शिक्षक आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले जिल्लाका निजामती कर्मचारी खटाएर भए पनि निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पूरा नभई परीक्षामा सहभागी नहुने बताएका छन् ।
यस्तो स्थितिबीच कक्षा–१२ को परीक्षा यही वैशाख ११ गतेदेखि सुरु हुँदै छ । विद्यार्थीको हितमा सरकारले निर्णय गर्नुपर्ने पक्षमा आफूहरू रहेको भण्डारीले बताए । “उहाँहरू (शिक्षक)को सहभागिता नभएता पनि कर्मचारी वा अन्य तरिकाले सरकारले सोच्या होला,” उनले बाह्रखरीसित भने ।
परीक्षा गराउने विषयमा कुनै द्वन्द्व हुन नहुने र शान्तिपूर्ण तरिकाले सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । “विद्यार्थीको पढ्न पाउने, पढिसकेको कारणले परीक्षा दिन पाउनुपर्ने उसको पनि अधिकार छ,” उनले भने, “त्यो अधिकारलाई हेक्का राखेर सरकारले द्वन्द्वमा नलगेर र शिक्षकहरूको कन्फिडेन्ट जितेर, शिक्षकहरूलाई मनाएर, शिक्षकहरूलाई पनि परीक्षामा सहभागी गराएर गर्दा राम्रो हुन्छ ।”
सामुदायिक विद्यालयका शिक्षक नभएको अवस्थामा निजामती कर्मचारी, निजीतर्फबाट पनि सहभागी हुन सक्ने आफूले सुनेको उनले बताए ।
परीक्षाका निम्ति सबैले आ–आफ्नो तयारी गरिसकेको उनले सुनाए । “तयार पारिसकेको प्रश्नपत्र, सबै मनोविज्ञान तयार गरेर बसेका विद्यार्थीहरू, अभिभावकहरू, कतिपय ठाउँमा त गाउँपहाडमा सेन्टर भएको ठाउँमा डेरा लिएर पनि बसिसकेको अवस्था छ,” उनले भने ।
सरकारको पहिलो प्राथमिकता शिक्षकसँग सार्थक संवाद हुनुपर्ने उनले बताए । यसअघिका परीक्षामा पनि प्रमुख जिल्ला अधिकारी (सीडीओ) संलग्न हुन गरेका उनले उल्लेख गरे ।
“योभन्दा पहिला पनि परीक्षा त यस्तै तरिकाले हुन्थ्यो । शिक्षकले गर्नुहुन्थ्यो, सीडीओ अध्यक्ष हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने शान्ति सुरक्षा प्रहरी नै राखेर गर्ने हो पहिला पनि,” उनले भने, “हामीले देख्दा त्यही नै देख्थ्यौँ ।”
उनले अगाडि भने, “अलिक के थियो भने, त्यहाँभित्र सहभागी हुने शिक्षकहरूचाहिँ हुनुहुन्थ्यो । अहिले शिक्षकहरू हुनुहुन्न होला कि भन्ने आशंकाचाहिँ छ ।”
शिक्षकले आन्दोलनका स्वरूप परिवर्तन गरेर परीक्षा सञ्चालनमा सहभागी हुँदा उपयुक्त हुने उनको धारणा छ । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थीमाथि ‘विभेद’ भएको उनले टिप्पणी गरे । उनीहरूको अधिकार हनन भएको उनको भनाइ छ ।
आन्दोलन गर्न पाउने शिक्षकको पनि अधिकार रहेको भन्दै उनले जायज माग पूरा गरिनुपर्ने बताए ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ सुन्नोस्–