site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारत र क्यानडाबीच बढ्दो तनाव : ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा कस्तो पर्ला असर ?
तस्बिर : एनआई ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको नयाँ दिल्लीमा यही सेप्टेम्बर २६ र २७ मा ‘इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स’ हुँदै छ ।

सम्मेलनमा नेपालसहित इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) क्षेत्रका ३० देशका सेना प्रमुखहरू सहभागी हुँदै छन् ।

भारतीय सेनाले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी म्याकनभिलले भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेसँगको सह–आयोजनामा सम्मेलन आयोजना हुने जानकारी दिए ।

Agni Group

आगामी साता नयाँ दिल्लीमा हुन लागेको इन्डो–प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनको १३औँ सस्करण हो । यसअघि १२ वटा यस्ता सम्मेलन भइसकेका छन् ।

यसपटकको सम्मेलनलाई विशेषरूपमा हेरिएको छ । विशेष यसकारण– भारत र क्यानडाबीच तनाव बढिरहेका बेला सम्मेलन हुँदै छ ।

Global Ime bank

सम्मेलनमा क्यानडा अनुपस्थित भए त्यसको सन्देश अर्कै हुने छ । अमेरिकी नेतृत्वमा अघि बढिरहेको हिन्द–प्रशान्त गतिविधिको गतिमा ‘ब्रेक’ लाग्ने छ । 

तनाव जति नै बढ्दै गए पनि क्यानडाका सेना प्रमुख सम्मेलनमा सहभागी हुने कुरामा हालसम्म भारत विश्वस्त छ । बुधबारको पत्रकार सम्मेलनमा भारतीय सेनाका अतिरिक्त महानिर्देशक (रणनीतिक योजना) मेजर जनरल अभिनय रायले भारतले क्यानडासँग कूटनीतिक र सैन्य तहमा संलग्नता जारी राख्ने बताए ।

मेजर जनरल रायले एक प्रश्नको जवाफमा भने, “भारत र क्यानडाबीच जे भइरहेको छ, त्यसले असर गर्दैन ।”

भारत र क्यानडाबीच के भइरहेको छ ?

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात हुन सक्ने आशंका व्यक्त गरेका थिए । उनले क्यानडाको संसद्लाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका थिए ।

गएको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा सिख पृथकतावादी अभियन्ता हरदीप सिंह निज्जरको हत्या गरिएको थियो । ब्रिटिस कोलम्बियाको सरे सहरमा सिख मन्दिरबाहिर ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरिएको थियो ।

भारतको पन्जाब राज्यलाई टुक्राएर एक अलग सिख देश ‘खालिस्तान’ बनाउनुपर्ने माग राख्दै सुरु गरिएको आन्दोलनका निज्जर प्रमुख अभियन्ता भएको भारतीय विश्वास छ ।

क्यानडाले उक्त घटनामा भारतीय सरकारी एजेन्टको संलग्नताको आरोप लगाएसँगै दुई देशबीच तनाव बढेको हो ।

ट्रुडोले भारतमाथि आक्षेप लगाएलगत्तै क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ)का अधिकारी पवनकुमार रायलाई क्यानडाबाट निष्कासन गरिएको घोषणा गरिन् ।

त्यसको बदलास्वरूप मंगलबार भारतले क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दियो । भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यानडाका प्रधानमन्त्रीले लगाएको आरोप अस्वीकार्य भएको बतायो ।

भारतले प्रतिक्रिया जनाएपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोले मंगलबार भने, “सिख पृथकतावादी नेताको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आशंका व्यक्त गर्नुपछाडिको उद्देश्य भारतलाई उक्साउनु थिएन । क्यानडा चाहन्छ, भारतले यस घटनालाई ठिक तरिकाले सम्हालोस् ।”

क्यानडाका प्रधानमन्त्रीले यस घटनालाई गम्भीरताका साथ लिन भारतलाई आग्रहसमेत गरे । यो एकदमै गम्भीर विषय भएकाले अन्तर्राष्ट्रिय कानूनमा यसले दूरगामी असर गर्ने चेतावनीसमेत उनले भारतलाई दिए ।

एक–अर्काको देश नजान ‘ट्राभल एडभाइजरी’

क्यानडा र भारत दुवै यत्तिमै रोकिएनन् । स्थानीय समयअनुसार क्यानडाले मंगलबार एक ट्राभल एडभाइजरी जारी गर्दै भारतमा रहेका आफ्ना नागरिकलाई एकदमै सावधान रहन अनुरोध गर्‍यो ।

अप्रत्याशित सुरक्षा स्थितिका कारण केन्द्र शासित जम्मू–कश्मीरको यात्राबाट जोगिन क्यानडाले आफ्ना नागरिकलाई अनुरोध गर्‍यो । 

मंगलबार जारी गरिएको ट्राभल एड्भाइजरीमा क्यानडाले भनेको छ, “जम्मू–कश्मीरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ । यसमा लद्दाखको यात्रालाई समेटिएको छैन ।” 

क्यानडले भारतको पूर्वोत्तर क्षेत्रमा पनि आफ्ना नागरिकलाई नजान सल्लाह दिएको छ । गुजरात, पन्जाब र राजस्थानको पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा नजान क्यानडाले भनेको छ । 

क्यानडालाई जवाफ दिन भारतले पनि बुधबार ट्राभल एडभाइजरी जारी गर्‍यो । भारतले क्यानडामा रहेका र क्यानडा जान चाहने आफ्ना नागरिकलाई ‘अत्यन्त सावधानी अपनाउन’ अनुरोध गर्‍यो ।

भारतको विदेश मन्त्रालयले जारी गरेको ट्राभल एडभाइजरीमा क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अन्यन्त सावधानी अपनाउन अनुरोध गरिएको छ । 

हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको ट्राभल एडभाइजरीमा उल्लेख छ ।

“यसकारण भारतीय नागरिकहरूलाई क्यानाडामा यस्ता घटनाहरू देखिएका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न सल्लाह दिइन्छ,” ट्राभल एडभाइजरीमा भारतले भनेको छ ।

क्यानडामा रहेको भारतीय उच्चायोग/वाणिज्य दूतावासले त्यहाँ रहेका भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्ने भारतले जनाएको छ । 

क्यानडासँग बिग्रिएको सुरक्षा वातावरणलाई ध्यानमा राख्दै भारतको विदेश मन्त्रालयले विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरेको छ ।

अन्य देश पनि तानिँदै

भारत र क्यानडाबीच बढ्दो तनावमा अन्य देश पनि तानिएका छन् । क्यानडाका प्रधानमन्त्रीको भनाइलाई लिएर गम्भीर अभिव्यत्ति दिन थालेका छन् ।

हिन्द–प्रशान्त क्षेत्रमा प्रभावकारी भूमिका खेल्दै आएको अस्ट्रेलियाले भारत र क्यानडाबीचको तनावलाई लिएर मुख खोलेको छ । अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङले क्यानडामा भएको हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता हुनु ‘चिन्ताजनक’ विषय भएको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेकी उनले मिडियाँहरूसँग कुराकानी गर्दै उक्त टिप्पणी गरेकी हुन् ।

“घटनाको अनुसन्धान चलिरहेको छ,” वोङले भनिन्, “तर, यो रिपोर्ट चिन्ताजनक छ । हामी हाम्रा सहयोगीसँगै यो घटनालाई नजिकबाट नियालिरहेका छौँ ।”

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई एक्ल्याउन अमेरिका, भारत, जापान र अस्ट्रेलियाले महत्त्वपूर्ण साझेदारी गर्दै आएका छन् । भारत र क्यानडाबीच तनाव बढ्दा अन्य राष्ट्रहरू अप्ठेरोमा परेका छन् । कसलाई साथ दिने वा नदिने उनीहरू अन्योलमा छन् ।

“कुनै पनि देशको सम्प्रभुताको सम्मान गर्नुपर्छ भन्ने अस्ट्रेलियाको मान्यता छ । कानूनी शासनको सम्मान हुनुपर्छ भन्ने हाम्रो विश्वास हो,” अस्ट्रेलियाकी विदेशमन्त्रीले भारत र क्यानडाबीच बढ्दो तनावलाई लिएर भनेकी छन् ।

क्यानडाका प्रमुख तीन सहयोगी अस्ट्रेलिया, अमेरिका र बेलायतले आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनीहरूले जारी गरेका वक्तव्यले क्यानडाका प्रधानमन्त्रीलाई साथ दिएको स्पष्ट देखिन्छ ।

क्यानडाले भारतमाथि लगाएको आरोपप्रति अमेरिकाले गहिरो चासो व्यक्त गरेको छ । “क्यानडा अगाडि बढ्नुपर्छ र अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउनुपर्छ,” अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले प्रतिक्रिया जनाएका छन् ।

यसबीचमा बेलायतले पनि घटनाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । जुन विषय क्यानडाका अधिकारीहरूले हेरिरहेका छन्, त्यो ठिक भएको बेलायती प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् ।

बेलायतको लेबर पार्टीका सांसद तनमनजीत सिंहले पनि क्यानडाका प्रधानमन्त्रीले भारतमाथि लगाएको आरोप चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् ।

“स्लओ (बेलायतको सहर) र यसभन्दा बाहिर रहेका कैयौँ सिखले मलाई सम्पर्क गरेका छन् । उनीहरू चिन्तित छन् । उनीहरू डराइरहेका छन्,” तनमनजीत सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

यसैबीच क्यानडाको न्यू डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंहले क्यानडामा भारतले गरेको हस्तक्षेपको जाँचको माग गर्दै आयोगलाई पत्र पठाएका छन् ।

“मैले विदेशी हस्तक्षेपको जाँच गर्ने आयोगको आयुक्तलाई चिठी लेखेको छु र क्यानडामा भारतको (विदेशी) हस्तक्षेपको जाँच गर्न माग गरेको छु,” सामाजिक सञ्जाल एक्समा जगमीतले चिठ्ठी सेयर गर्दै लेखेका छन्, “म हरेक क्यानडेली नागरिकको सुरक्षाको सुनिश्चितता गर्न आफ्नो क्षमताअनुसार जे गर्न सक्छु, त्यो गर्छु ।”

इन्डो–प्यासिफिक सम्मेलन

इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स नयाँ दिल्लीको मानेकशा सेन्टरमा आयोजना हुँदै छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार दुई दिने सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहयोग र सामूहिक रणनीतिबारेमा छलफल हुने छ ।

सम्मेलनमा क्षेत्रीय आपसी हितका विषय र यस क्षेत्रको संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकाबारे पनि छलफल हुने छ ।

विश्वका ६४ प्रतिशत बासिन्दा इन्डो–प्यासिफिक क्षेत्रमा बस्ने गर्छन् । विश्व व्यापारको ४६ प्रतिशत सहित कुल गार्हस्थ उत्पादनमा ६३ प्रतिशत योगदान यो क्षेत्रको छ ।

दुई दिने सम्मेलनमा तीनवटा कार्यक्रम रहने छन् । इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स, इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरममा सैनिक प्रमुखहरू सहभागी हुने छन् ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायतका देशका सेना प्रमुख सहभागी हुने छन् ।

बुधबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय सेनाका उपप्रमुख एम.भी. सुचन्द्र कुमारले भने, “स्वतन्त्रतापछि भारतीय सेनाले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता प्रर्बर्द्धन गर्न महत्त्वपूर्ण योगदान गरेको छ ।”

भारतीय सेनाका उपप्रमुखले बुधबार जुन दाबी गरे, के क्यानडाले यसलाई स्वीकार्ला ? यसको जवाफ पक्कै पनि क्यानडाका सेना प्रमुखले आगामी इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्समा सहभागी हुने क्रममा माग्ने छन् ।

क्यानडाले भारतले आफ्नो देशभित्र हस्तक्षेप गरेको र अशान्ति मच्चाएको आरोप लगाइरहेको छ । यसमा पक्कै पनि सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रहरूबीच मतभिन्नता देखिने छ । इन्डो–प्यासिफिक क्षेत्रका राष्ट्रहरूबीच हरदीप सिंह निज्जरको हत्यालाई लिएर मतभिन्नता बढ्दो छ ।

यस घटनामा अब भारतले क्यानडालाई आश्वस्त पारेर मात्र पुग्दैन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान जस्ता इन्डो–प्यासिफिक क्षेत्रमा खेल्न चाहने शक्ति राष्ट्रको पनि विश्वास जित्नुपर्ने छ ।

अहिलेकै गतिमा क्यानडा र भारतले एक–अर्काविरुद्ध कदम चाल्दै गए सम्मेलनको दिनसम्म ठूलै रूप लिने देखिन्छ । सम्मेलनमा क्यानडाका सेना प्रमुख सहभागी नहुन पनि सक्छन् । यसले झन् जटिलता बढाउने छ ।

यो जटिलतालाई भारतीय कांग्रेसका नेता शशि थरुरले बुधबार स्पष्ट शब्दमा भनेका छन् । समाचार एजेन्सी एएनआईसँग उनले भनेका छन्, “क्यानडाका प्रधानमन्त्रीले यसलाई सार्वजनिक गर्नु र संसदमा बयान दिनु दुर्भाग्यपूर्ण हो । यस्तो गरेर उनले एकदमै राम्रो सम्बन्धलाई जोखिममा राखिदिएका छन् ।”

तनाव बढ्दै जाँदा जोखिम भारत र क्यानडाबीच मात्र सीमित हुने हो कि बढ्दै गएर इन्डो–प्यासिफिक क्षेत्रका राष्ट्र र अन्य शक्ति राष्ट्रलाई समेत दुई कित्तामा विभाजन गर्छ, त्यो आगामी दिनले स्पष्ट पार्ने छ ।

(एजेन्सीहरूको सहयोगमा)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu