site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
...अनि बंगलादेशमा क्रिकेटले फुटबललाई उठ्नै दिएन, त्यही लयमा नेपाली फुटबल

काठमाडौं । देश क्रिकेटमय बनेको छ । माहोल हेर्दा लाग्छ, नेपालमा क्रिकेटबाहेक अरू खेल खेलिँदैन । नेपाली खेलकुदमा क्रिकेट र फुटबलको बलियो प्रभाव छ । फुटबलको पकड सबैभन्दा मजबुत रहेको मानिन्छ ।

तर, पछिल्लो वर्षयता नेपाली समर्थकमाझ ‘क्रिकेट–क्रेज’ ह्वात्तै बढेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ खेलसँगै नेपाली क्रिकेटले लय समातेको हो । लिग–२ हुँदै विश्वकप छनोट अनि घरेलु मैदानमै सम्पन्न एसीसी प्रिमियर कपको उपाधि, जसले क्रिकेटको माहोलमा रौनक थप्ने काम गर्‍यो ।

त्यसमाथि एसिया कप–२०२३ को अर्को आयाम । नेपाल विश्वभर क्रिकेटप्रति बलियो लगाव भएको देशका रूपमा परिचित बनेको छ । नबनोस् पनि किन, एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व विजेतासँग नेपालले अवसरको उपयोग मात्र गरेन, ‘हामी यहाँ प्रतिस्पर्धाका लागि आएका हौँ’ भन्ने सन्देशसहित दुई विश्वकप विजेतासामु बलियो चुनौती प्रस्तुत गर्‍यो ।

f6-1695097116.jpg

यो चर्चाले विश्व क्रिकेटमा नेपालको उपस्थिति बलियो बनाइरहँदा नेपाली खेलकुदको एक सदाबहार खेलको माहोललाई भने खुम्चाउँदै लगेको छ ।

०००

सन् १९८० दशकसम्म बंगलादेश दक्षिण एसियामा ‘फुटबल–राष्ट्र’का रूपमा परिचित थियो । बंगलादेशी घरेलु लिगमा मोहम्मदन र अबाहानीबीचको खेल हेर्न रंगशाला पुगेका दर्शक व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे हुन्थ्यो ।

तर, सन् २००० को दशकपछि त्यो छवि खस्कियो । कुनै समय राष्ट्रकै गौरवका रूपमा चिनिने बंगलादेशको घरेलु लिगप्रति दर्शकको चासो निरन्तर घट्दै गयो ।

यति बेला बंगलादेशी फुटबल खेल ‘खिया लागेको’ अवस्थामा पुगिसकेको छ । बंगलादेशी फुटबल संघभित्रको भ्रष्टाचार र बेथितिको सिधा प्रभाव मैदानभित्रको नतिजामा पनि देखियो । फलतः बंगलादेशी फुटबल निरन्तर ओरालोको बाटोमा लाग्यो ।

त्यही समयमा क्रिकेटले गरेको प्रगतिका कारण समर्थक त्यतातिर आकर्षित भए । सन् १९९० को दशकको अन्त्यतिर बंगलादेशले आईसीसी ट्रफीको उपाधि जित्यो । सन् २००० मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य बनेपछि बंगलादेश पूरै क्रिकेटमय बन्यो । यसपछि क्रिकेटको प्रभुत्वले बंगलादेशी फुटबललाई उठ्नै दिएन । नेपाली फुटबल ठ्याक्कै त्यही बाटोमा देखिन्छ ।

“सन् १९८० र ९० को दशकसम्म पनि बंगलादेशमा फुटबलको क्रेज निकै बढी थियो,” पछिल्लो डेढ दशकयता बंगलादेशी खेलकुदलाई नियालिरहेको ढाकापोस्ट डटकमका खेलकुद पत्रकार अराफत जुबाएरले बाह्रखरीसँग भने ।

f3-1695097157.jpg

“तर, बंगलादेशी फुटबल फेडेरेसन र क्लबहरूले त्यो क्रेजलाई कायम राख्न कुनै योजना ल्याएनन् । बंगलादेशी क्रिकेट टिमले क्रिकेट विश्वकप खेल्न लाग्यो, विश्वकपमा केही खेलहरू जित्यो पनि । क्रिकेटले राम्रो प्रदर्शन गरिरहँदा फुटबलको प्रदर्शन भने निरन्तर कमजोर हुँदै गयो । त्यही बेला ‘म्याच फिक्सिङ’को समस्या पनि देखियो । यसैकारण ठूला क्लबका समर्थकहरू पनि आफ्नो टिमको खेल हेर्न मैदान जान छोडे । यसपछि दिन प्रतिदिन बंगलादेशमा फुटबल कमजोर बन्दै गयो,” जुबाएर थप्छन् ।

कुनै समय बंगलादेश फुटबल फेडेरेसनले त्यहाँको क्रिकेट संघलाई आर्थिक सहायता दिएको रोमाञ्चक इतिहास जुबाएरले सुनाए ।

“कुनै समय बंगलादेश फुटबल फेडेरेसनले बंगलादेशको क्रिकेट संघ सञ्चालन गर्न आर्थिक सहयोग दिएको थियो । तर, अब अवस्था फरक बनेको छ । हालै मात्र बंगलादेशको क्रिकेट संघले साफ महिला च्याम्पियन्स जितेको महिला टिमलाई ५० लाख टाका सहयोग गरेको छ,” जुबाएर भनछन्, “सन् २००३ पछि बंगलादेशले साफ च्याम्पियनसिप जित्न सकेको छैन । बंगलादेशी फुटबल दक्षिण एसियामै संघर्ष गरिरहँदा क्रिकेटले भने विश्वमा अलग पहिचान बनाइसकेको छ । क्रिकेटले नै विश्वकै उत्कृष्ट अलराउन्डर साकिब अल हसनजस्ता खेलाडी जन्माएको छ ।”

f1-1695097178.jpg

नेपाली खेलकुदको परिप्रेक्षमा पनि अवस्था ठ्याकै १९८०–९० दशकको अन्त्यतिर बंगलादेशमा रहेको जस्तै छ । फुटबल निरन्तर ओरालो लाग्दा क्रिकेटप्रति समर्थकको चासो उल्लेख्य रूपमा बढेको छ । घरेलु फुटबलमा दर्शकको उपस्थिति कम छ । तर, फ्रेन्चाइज क्रिकेटमा दर्शकको उपस्थितिको ग्राफ लोभलाग्दो गरी उकालो लागिरहेको छ ।

कतिसम्म भने ‘फुटबलमा भविष्य छैन’ भन्ने भाष्यसहित विदेशिने खेलाडीको संख्या दुई दर्जन नाघिसक्यो ।

राष्ट्रिय फुटबल टिम वा ‘ए’ डिभिजन लिग खेलाडीका लागि विदेश जाने ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)जस्तै बनेको छ । राष्ट्रिय टिम वा कुनै क्लबबाट लिग खेल्यो कि अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतको भिसा हातमा । त्यहाँ पुग्नेहरूले कम्तीमा राम्रो गन्तव्य पाए । खाडी मुलुक पुग्नुपर्ने परिबन्दमा परेका फुटबलरको ह्रदयविरादक कहानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिनजसो भेटिन्छ । खेलाडी पलायन रोक्न चुकिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आगामी दिनको योजना समेत छैन । कति खेलाडी विदेशिए भन्नेबारे तथ्यांक पनि राख्दैन ।

बंगलादेशी पथमा नेपाली फुटबल ?
बंगलादेशमा फुटबलप्रतिको रुचिमा भने अझै कमी आएको छैन । फिफा विश्वकपको हरेक संस्करणमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बंगलादेशी समर्थकको चर्चा हुने गरेको छ । बंगलादेशी अर्जेन्टिनी फुटबलप्रति पागलजस्तै छन् । बंगलादेशको घरेलु लिगमा भने रंगशाला खाली हुन्छन्, एकाधबाहेक समर्थक शून्यप्रायः ।

f4-1695097203.jpg

नेपाली फुटबल पनि यही स्थितिबाट गुज्रिरहेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० का अधिकांश खेल नगन्य दर्शकको उपस्थितिमा भयो । लिगका कुनै खेल त यस्ता पनि थिए, प्यारापिटमा मुस्किलले दर्शक भेटिन्थे । मुख्य प्रायोजनविना नै लिग समाप्ततर्फ अघि बढेको थियो । लिगका अन्तिम १० खेल बाँकी रहँदा कतार एयरवेजबाट दुई सिजनका लागि दुई लाख डलरको प्रायोजन पाएपछि एन्फाले इज्जत ढाकेको थियो ।

नेपाली फुटबललाई पछिल्लो दुई दशकभन्दा लामो समयदेखि नजिकबाट नियालिरहेका नाम हो, हिमेशरत्न बज्राचार्य । पेसाले खेलकुद पत्रकार उनी नेपाली फुटबलको लिखित तथ्यांक राख्ने निकै कम व्यक्तिमध्येमा पर्छन् । नेपाली फुटबलको अवस्था यही रहे आगामी केही वर्षमा देशले फुटबल माहोल गुमाउने हिमेशको टिप्पणी छ ।

“हो, यतिखेर खेलकुदको परिस्थिति क्रिकेटमय बन्दै गएको छ । ठ्याक्कै १९८०–९० को बंगलादेशी फुटबलको अवस्थामै छ, किन भन्दा फुटबल संघ कमजोर भयो । १९९० देखि २०१५ सम्म नेपाली फुटबलको अवस्था समग्रमा बलियो थियो । त्यस बेला नेपाली फुटबल एफए बलियो थियो, फुटबल र लिगको स्तर पनि निकै राम्रो थियो,” उनी भन्छन्, “खेलकुद पत्रकारहरूलाई पनि एन्फाको कार्यक्रमबाट फुर्सद हुँदैन थियो । तर, यतिखेर फुटबल गतिविधि नै शून्यप्रायः छ । क्रिकेटले थिच्दा बंगलादेशको फुटबल उठ्नै सकेन । एन्फाको यही अवस्था रहिरहे नेपाली फुटबलले पनि चाँडै त्यही अवस्था भोग्नेछ ।”

किन खस्कँदै छ फुटबल ?
फुटबल माहोल खस्कनुमा सबैभन्दा ठूलो जिम्मेवार कोही छ भने त्यो नेपाली फुटबलको अभिभावक निकाय एन्फा नै हो । फुटबलको मेरुदण्ड भनेको त्यस देशको घरेलु लिग हो । बर्सेनि करिब नौ महिना लिग हुँदा फुटबल चलायमान हुन्छ । खेलाडीले नियमित प्रशिक्षण र खेल्न पाउँछन् । उनीहरू व्यस्त हुन्छन् । तर, पछिल्लो एक दशकयता नेपाली फुटबलमा नियमितता छैन ।

f2-1695097225.jpg

पछिल्ला १० वर्षमा ‘ए’ डिभिजन लिगका पाँच संस्करण मात्र आयोजना भए । त्यसमध्ये अधिकांश सिंगल राउन्ड रोबिन पद्धतिमा अर्थात् तीन महिना मात्र । व्यावसायिक वातावरणको अभाव, न्यून पारिश्रमिक, त्यसमाथि तीन महिना मात्र खेल्ने अवसर । फुटबलप्रतिको लगावले मात्र परिवारको जिम्मेवारी नधान्ने हुँदा खेलाडी विदेश पलायन भइरहेको तथ्य छर्लंगै छ । त्यसको असर कतिसम्म भने, यस सिजन क्लबहरूले खेलाडी अभाव हुने भनेपछि एन्फाले विदेशी कोटा बढाउनुपरेको थियो ।

‘चेन्ज एन्फा’को नारासहित गत वर्ष नेतृत्वमा आएको नयाँ कार्यसमिति भागबन्डाकै खिचातानीमा व्यस्त छ । जसोतसो २०७९–८० को ‘ए’ डिभिजन लिग टुंग्याएको एन्फा टाट पल्टिएको छ ।

घरेलु फुटबलको संरचनाका लागि आवश्यक ‘बी’ र ‘सी’ डिभिजन लिग कसरी गर्ने भन्ने एन्फासँग जवाफ छैन । अझ ०७५ सालमै हुने भनिएको राष्ट्रिय लिग त एन्फा आफैँका लागि पनि इतिहास भइसक्यो । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय लिगमा छनोट भएका चार टिमको अवस्था कस्तो छ ? एन्फा अनभिज्ञ छ ।

क्रिकेटसँग तुलना गर्नु नेपाली फुटबलको अपमान : एन्फा प्रवक्ता
एन्फाका प्रवक्ता सुरेश शाह भने नेपाली फुटबल बंगलादेशी पथमा रहेको टिप्पणीलाई ठाडै नकार्छन् । “फुटबल नेपालको सबैभन्दा मन पराइएको खेल हो भन्ने सर्वविदितै छ । क्रिकेटले घरमै प्रतियोगिताहरू आयोजना गरेकाले त्यस्तो देखिएको हो । समग्रमा नेपाली फुटबलको स्थितिमा पुग्न क्रिकेटलाई अझै ५० वर्ष लाग्छ,” शाह भन्छन् ।

football-teem2-1695097254.jpg

घरेलु लिगमा दर्शकको उपस्थिति संख्या घट्नु समीक्षाको विषय भए पनि नेपाली फुटबललाई क्रिकेटसँग दाज्नु फुटबलमाथिको अन्याय भएको उनी बताउँछन् ।

“फुटबलको एक संरचना छ । जिल्लामा छनोट हुन्छ अनि जिल्ला लिग हुन्छ । प्रदेशको लिग हुन्छ । तर, क्रिकेटमा त्यो संरचनाको जग बसिसकेको छैन । ए डिभिजन लिगमा समर्थक घटेको कुरामा एन्फाले गम्भीर समीक्षा गर्न आवश्यक छ,” शाह थप्छन् “क्रिकेटले पाइरहेको सफलताका कारण त्यस्तो लागेको हुनसक्छ । समग्रमा त्यस्तो छैन । नेपाली फुटबललाई यतिखेरको परिस्थितिमा क्रिकेटसँग दाँज्नु भनेको नेपाली फुटबलमाथिको अन्याय हो ।”

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro