
काठमाडौं । थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । सोमबार थाइल्यान्डको थम्मासत रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन चात्चावन रोथ्डोङ र जिरापोनले मोगंकोल्डेले समान एक गोल गरे । नेपालले दुवै गोल दोस्रो हाफमा बेहोरेको हो ।
खेलको ६०औँ मिनेटमा चात्चावनले फ्रिकिक अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाइन् । ७३औँ मिनेटमा जिरापोनले अग्रतालाई दोब्बर बनाइन् । हारसँगै नेपाल थाइल्यान्डसँगको दुवै खेलमा पराजित भएको छ ।
यसअघि गत शुक्रबार (मे ३०) टोलीले बन्द रंगशालामा सम्पन्न खेलमा १–० को हार बेहोरेको थियो । नेपालले दुवै खेल आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन महिला कप छनोटको तयारीस्वरुप खेलेको हो ।
एएफसी महिला एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ ।
छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसित खेल्ने तालिका छ ।