
काठमाडौं । सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २–४ दिनभित्रै चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सुपथ मूल्य पसल खोल्ने निर्णय भइसकेको बताए ।
असोज १ गतेदेखि नै पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयातसम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुने देखिएको सचिव मरासिनीले बताए । उनले खुला बजार भएका कारण आमउपभोक्ताहरूले पनि सचेत भएर वस्तुको खरिद बिक्री गर्नुपर्ने अवस्था रहेको बताए ।
"हामीले दसैँ बजारलक्षित पसल खोल्छौँ । त्यो खोलिसकेपछि पनि मूल्यवृद्धिलाई त्यसले पनि काउन्टर दिन्छ," उनले भने ।
सचिव मरासिनीले कालोबजारी हुन नदिन सरकारले अनुगमनको कामलाई तीव्रता दिने र दोषी भेटिए कारबाही गर्ने पनि बताए ।