site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिले भने– घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताएका छन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा शीतलनिवासमा आइतबार आयोजित राष्ट्रपतिसँग बालबालिका विषयक कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै उनले पौडी र घोडचडीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताए ।

“पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पु¥याएको छ,” राष्ट्रपति पौडेलले भने, “अहिले त स्विमिङ पुल छन्, त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र  सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथे ।”

आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको उनले बताए । बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात् शोक न सुर्ता, भोक न भकारीको रहने गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भने ।

अहिलेको बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै उनले त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भातपकाइ खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताए ।

राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताए । 

अहिलेको आधुनिक समयमा बालबालिकाको लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उनीहरुको सर्वाङगीण विकासको लागि सरकारले अझै धेरै काम गर्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro