site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सम्बन्ध, मन्दोदरीदेखि मार्क्ससम्म र कञ्चनपुरदेखि कञ्चनजङ्घासम्म : कवितामय फन्को देशको

सम्बन्ध
(उपन्यास : ओमशंकर श्रेष्ठ)
साहित्यकार ओमशंकर श्रेष्ठको औपन्यासिक कृति हो, ‘सम्बन्ध’ । यो उपन्यास केही महिनाअघि प्रकाशनमा आएको हो । यसलाई सामाजिक उपन्यास भनिएको छ । उपन्यासकार श्रेष्ठका यसअघि पनि एउटा कथाकृति प्रकाशनमा आइसकेको छ ।

आफ्नो भनाइमा उपन्यासकार श्रेष्ठ लेख्छन् : ‘... यो उपन्यास ‘सम्बन्ध’ मेरो पहिलो प्रयास भए पनि म यसबाट यति सन्तुष्ट हुनपुगेँ कि कलमै रोकिएन र ‘नतालिया’ र ‘श्राप’ शीर्षकका अन्य दुई उपन्यास पनि तयार भए । अहिले अर्को एउटा उपन्यास अंग्रेजी भाषामा लेखिरहेको छु ।

पत्रकार कपिल काफ्ले भूमिकामा लेख्छन् : ‘सम्बन्ध उपन्यास नयाँ र पुरानो मिडियामा अभ्यस्त पाठकहरूप्रति लक्षित छ । सबै खाले पाठकले यसको माया पाउने पर्याप्त आधार देखिन्छ । ...’

पत्रकार कुमार रञ्जित लेख्छन् : ‘नेपाली साहित्यिक क्षेत्रमा उपलब्ध यथार्थ प्रतिविम्बित गर्ने यथार्थवादी उपन्यासहरूमा धेरैजसो प्रयोग हुँदै आएका कथावस्तुहरू प्रेम सम्बन्ध, गरिबी, भेदभाव, पीडा, मिलन–बिछोड आदि जे–जस्ता विषयहरू हुने गरेका थिए; प्रस्तुत उपन्यासमा ती सबै समेटिएका छन् । ...’

उपन्यासको अंशमा लेखकले लेखेका छन् : ‘भोलि जनरल वार्डमा मेरा आँखाले के कस्ता मानिसहरूलाई देख्ने हुन भन्ने कौतुहल पनि बढ्न थाल्यो । यत्तिकैमा क्याविनमा नारी हाँसो नजिकिन थाल्यो । जिना र निशा कुनी के कुरामा हो गलल्ल हाँस्दै भित्र छिरे । ...’ (पृष्ठ — ७३)
रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको ३०४+४ पृष्ठको यस कृतिको मूल्य ५९५– रुपैयाँ राखिएको छ ।

Global Ime bank

०००

मन्दोदरीदेखि माक्र्ससम्म
(विमर्श : राप्रउ पोखरेल)
नेपाली साहित्यिकवृत्तमा चिरपरिचित सर्जक हुन् राप्रउ पोखरेल अर्थात् रामजीप्रसाद उपाध्याय पोखरेल । उनका अनगिन्ती लेख रचना विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् । उनको प्रकाशनमा आएको पछिल्लो कृति हो, ‘मन्दोदरीदेखि माक्र्ससम्म’ । यसको सहायक शीर्षकमा समाज, संस्कृति र साहित्यविमर्श उल्लेख छ ।

यसभन्दा अघि उनको दुई कृति ‘सर्वधर्म समभाव’ र ‘विचार मिमांशा’ प्रकाशित भइसकेको छ । लामो समय सरकारी सेवामा बिताएका सर्जक पोखरेल निबन्धकारितामा पनि चर्चित छन् ।

मदनमणि दीक्षितले कृतिभित्र भूमिकामा लेखेका छन् : ‘जीवनमा सुखदुःख, आनन्द र पीडा, दुर्घटना र सुखद् अवसर आइरहन्छन् । संसारको कोही पनि यो द्वन्द्वबाट मुक्त छैनन् । राप्रउमा समेत ती द्वन्द्व छन् भन्ने म सहज अनुमान गर्छु । ...’

प्राक्कथनमा सर्जक पोखरेल लेख्छन् : ‘संग्रहमा समेटिएका विषयलाई हेर्ने कोण र विवेचनमा केही फरक बाटोबाट हिँड्ने प्रयास गरिएको हो । सफल असफल जे छ, त्यसको विवेक गर्ने दायित्व विज्ञ पाठकमा सुम्पिन्छु ।’
यस कृतिभित्र पाँच खण्डमा २० वटा लेख रचना समाहित छ । 

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको २६२+४ पृष्ठको यस विमर्श कृतिको मूल्य ४९०– रुपैयाँ राखिएको छ ।

०००

कञ्चनपुरदेखि कञ्चनजङ्घासम्म : कवितामय फन्को देशको
(कवितासंग्रह : हिकमत सिंह ऐर)
पछिल्लो समय कविता लेखनमा निकै सक्रिय रहँदै आएका सर्जक हुन हिकमत सिंह ऐर । उनका कविताहरू स्थान विशेषमा केन्द्रित रहँदै आएका छन् । पर्यटन क्षेत्रसँग आवद्ध कवि ऐरले पर्यटन विकासका लागि प्रेरक हुने कविताकृति ल्याएका छन्, जसको नाम हो ‘कञ्चनपुरदेखि कञ्चनजङ्घासम्म : कवितामय फन्को देशको’ ।

कृतिमा कवि ऐरले लेखेका छन् : सातै प्रदेशको हिमाल, पहाड, तराई, चुरे र भावरका जंगल, निरन्तर बगिरहेका नदी नाला, जीवन्त संस्कृति र सम्पदाले भरिपूर्ण यो अलौकिक, अद्भूत देवभूमिका मठ मन्दिर, गुम्बा, चैत्य, स्थानीय बासिन्दाहरू र मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तब्यहरू नै मेरा सृजनाका अनन्त स्रोत हुन् ।’

कृतिभित्र भूमिकामा कवि गीतकार शंकरप्रसाद कोइराला (एसपी कोइराला) लेख्छन् : ‘यस कृतिमा मनका कविताहरू धेरै छन् । हुन पनि कविता भनेको मन हो । अनुभूति भनेको नि मन हो । र अभिव्यक्ति भनेको पनि मन नै हो । ...’
यस कृतिभित्र कवि ऐरले सातै प्रदेशका विभिन्न स्थाहरूलाई काव्यात्मक स्वरूपमा प्रस्तुत गरेका छन् ।
कविता ‘मभित्रको देश मिथिला मधेशमा उनी लेख्छन् :
सहलेश राजाको स्वागतमा फुल्दछ फूल लहानमा ।
ऋदभूत छ यसको आकर्षण, फूल्दछ अर्को एक वर्षमा । (पृष्ठ — १९)
बुक्स हिमालय प्रा.लि.द्वारा प्रकाशित, विभिन्न ठाउँको तस्विरसहित सम्पूर्णतः रंगिन कलेवरमा सजिएको १०२+४ पृष्ठको यस कविता कृतिको मूल्य ६००– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu