
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्राथमिक सेयर (आईपीओ) मा १० कित्ते नीतिले समस्या ल्याएको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको 'आर्थिक मन्दीमा पुँजीबजार : सम्भावना र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा उनले १० कित्ते नीतिलाई समयसापेक्ष बनाउनुपर्ने बताए ।
त्यस्तै, हकप्रदसम्बन्धी पनि केही समस्या भएकाले त्यसलाई बोर्डले परिमार्जन गर्न खोजेको उनले बताए ।
"राइट सेयरमा केही गर्न खोज्दै छौँ । यसमा केही समस्या देखिएको छ । आईपीओमा १० कित्ते नीतिको केही सकारात्मक पक्ष पनि छन् । तर, खराब पक्षको म विरोधी हो," उनले भने, "सबल पक्षलाई हामीले राख्नुपर्छ । तर, अहिले आईपीओमा १० कित्ते नीतिले समस्या निम्त्याएको छ ।"
त्यस्तै, केही नीतिले गर्दा एनआरएनहरूलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन नसकेको पनि अध्यक्ष हमाले बताए ।
आईपीओमा प्रिमियम मूल्यको कुरा निकाल्दै अध्यक्ष हमालले बजारलाई नै मूल्य छोड्ने बताए । तर, अहिलेको अवस्था त्यस्तो नभएकाले आफूले आलोचना भोग्नुपरेको बताए ।
"यो नीति मैले ल्याएको हैन । पहिलेकै व्यवस्था हो," उनले भने ।