-1694222500.jpg)
सोनार बांग्ला
(नियात्रासंग्रह : रामप्रसाद पन्त)
नेपाली साहित्यिक पत्रकारितामा लामो समयदेखि सक्रिय छन्, रामप्रसाद पन्त । उनी साहित्य लेखनमा पनि उत्तिकै क्रियाशील छन् । उनै पन्त अर्को नियात्राकृति लिएर आएका छन्, ‘सोनार बांग्ला’ । उनका डेढ दर्जनभन्दा बढी नियात्राका पुस्तक सार्वजनिक भइसकेका छन् ।
आफ्ना कुरामा नियात्राकार पन्तले लेखेका छन्, “बंगलादेश यात्राले मलाई लेख्न प्रेरित गर्यो र आफ्ना अनुभव र अनुभूतिहरू लिपिबद्ध गरेँ । ‘भिन्न रुचिर्हिलोकः’ कसैलाई ‘यसो भएको भए अझ राम्रो हुन्थ्यो’ भन्ने पनि होला ! त्यो सबै एउटा लेखकबाट सम्भव नहुन सक्छ ।...।”
नियात्राकृतिको भूमिकामा अर्का नियात्राकार पवन आलोकले लेखेका छन्, “नियात्राकारले बंगलादेशको भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक र अन्य विविध पक्षलाई प्रस्तुत नियात्रामा विम्बात्मक र कलात्मक ढंगले पाठकसमक्ष राख्नुभएको छ ।...।”
‘दायित्व’ साहित्यिक पत्रिकाका सम्पादक पन्तको यस नियात्राकृतिमा सात नियात्रा छन्, ती केही दिनको बंगलादेश यात्राले जन्माएको हो ।
‘जहाँ बंगबन्धु मारिए, जहाँ लेखकहरू गडिए’ शीर्षकको नियात्रामा पन्तले लेखेका छन्, “प्रदर्शनीद्वारबाट छिर्नेबित्तिकै दायाँबायाँ देखिन्छन् विभिन्न लेखक, साहित्यकारका तस्बिरहरू । अनि देखिन्छ, फरक विषयमा बाँडिएका सयौँको संख्यामा पुस्तक कक्षहरू ।” (पृष्ठ – ४५)
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित ८०+४ पृष्ठको यस पुस्तकको मूल्य २२५– रुपैयाँ राखिएको छ ।
०००
मलामी पहाड र सारङ्गी
(कवितासंग्रह : रमेश श्रेष्ठ)
रमेश श्रेष्ठ विम्बकविका रूपमा परिचित छन् । उनको पछिल्लो कृति हो, ‘मलामी पहाड र सारङ्गी’ ।
पुस्तकको ब्लर्बमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले लेखेका छन्, “समयको आँखामा उभिएर कलात्मक काव्यका लागि नवविम्बहरू निर्माण गर्न सक्ने उनको क्षमता वास्तवमै लोभलाग्दो छ । यसरी नै नेपाली काव्यको फाँट भरिँदै जानेछ । विम्बकवि रमेश श्रेष्ठलाई धेरैधेरै शुभकामना ।’
कवि रमेश १५औँ कवितामा यसरी पोख्छन् आफ्ना भाव–
बारम्बार
बिथोलिएपछि पनि
मुसारी रहन्छु सपनाहरूलाई
अनौठो भइ बस्छन् हरेक उत्सवहरू
मानौँ,
फूलहरू निदाइरहेका छन्
अर्को बिथोलिएका
सपनाहरूको खोजीमा । (पृष्ठ – ३०)
कवि श्रेष्ठले आफ्ना कुरामा लेखेका छन्, “नमरीकन मात्र मलामी हुनुपरेको अभिशप्तताबाट म साह्रै प्रभावित भएको रहेछु, आफूभित्रको सारङ्गीलाई रेटेर अनुप्रस्थ धुन निकाल्न मैले पनि यत्न गरेको रहेछु भन्ने कुरा यही पुस्तकको पाण्डुलिपिमा आफैँलाई खोज्दा भेटेको रहेछु ।”
साहित्यकार गोविन्दराज विनोदीले भूमिकामा लेखेका छन्, “रमेश जीवनलाई कवितामा हेर्न चाहन्छन् । कविताको ‘सारेगम’मा जीवनको संगीत खोज्न चाहन्छन् । कविताको रङमा जीवनको भावमय चित्र उतार्न चाहन्छन् । उनका कविता स्वयम्मा कला पनि हुन्, संगीत पनि हुन् र काव्य पनि ।...।”
एक कुशल चित्रकार पनि रहेका कवि श्रेष्ठको कृतिभित्र ‘मलामी पहाड’ शीर्षकअन्तर्गत ६१ छोटा कविता छन् । ‘सारङ्गी’ खण्डमा १७ कविता समेटिएका छन् ।
साहित्यपोस्टद्वारा प्रकाशित १३४+४ पृष्ठको यस पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।
०००
मानस की सीता
(विवेचना : वीरेन्द्र प्रसाद मिश्र)
दर्शनशास्त्रका प्राध्यापक डा. वीरेन्द्र प्रसाद मिश्र लेखनमा पनि सक्रिय छन् । उनले समसामयिक राजनीतिक विश्लेषणमा लामो समयदेखि कलम चलाउँदै आएका छन् । डा. मिश्रले राम र सीताका विविध प्रसंगलाई समेटेर दुई छोटा कृति प्रकाशित गरेका छन् । उनको पछिल्लो पुस्तक हो, ‘मानस की सीता’ ।
उनको यसअघि ‘तुलसी के राम’ प्रकाशित भइसकेको छ ।
प्राक्कथनमा डा. मिश्रले लेखेका छन् “तुलसी के राम नामको एउटा पातलो पुस्तिका प्रकाशित भएपछि यस्तो लाग्थ्यो, जगत् जननी जानकीका सम्बन्धमा पनि रामचरितमानसका आधारमा केही लेखूँ । किनभने, जुन क्षेत्रमा माता सीताको प्रादुर्भाव भएको होला, त्यसैको नजिकनजिकै मेरो पनि जन्म भएको हो । लगभग एक वर्षपछि फेरि यो अर्को पुस्तिका ‘मानस की सीता’को नामबाट पाठकवर्गसमक्ष ल्याउने धृष्टता गरेको छु, मैले । हिन्दी साहित्य तथा भाषाबाट टाढा रहेका कारण यसमा त्रुटिहरू पाठकले फेला पार्न सक्नुहुनेछ ।”
पुस्तकको भूमिकामा प्रा. डा. उषा ठाकुरले लेखेकी छन्, “अन्ततः म यो भन्न चाहन्छु, ‘तुलसी के राम’ पछि ‘मानस की सीता’ जस्ता कृतिहरू प्रदान गरेर प्रा. मिश्रजीले महत्त्वपूर्ण कार्य गर्नुभएको छ । तुलसी के रामझैँ मानस की सीतामा पनि दर्शंन र साहित्यको अद्भूत समन्वय छ ।...।”
चार अध्याय – ‘मानस की सीता’, ‘जनकपुर और रामचरितमानस’, ‘राम और शिव’ र ‘उत्तरकाण्ड और दार्शनिक विवेचना’भित्र सीताका यावत् पक्षको विश्लेषण र विवेचना गरेका छन् लेखकले ।
डा. कृष्णचन्द्र मिश्र पब्लिकेसन प्रालिद्वारा प्रकाशित ८८+४ पृष्ठको यस पुस्तकको मूल्य ३००– रुपैयाँ राखिएको छ ।