काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले कुशललाई व्यक्तिगत ३८ रनमा गुमाएको हो ।
९.५ ओभरमा भारतका शार्दुल ठाकुरको बलमा कुशल विकेटकिपर इशान किसनबाट क्याच भए । जारी खेलको ९.५ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ६५ रन बनाएको छ ।
एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।
आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।