site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किन धाइरहेछन् एमाले र माओवादी टोली पालैपालो चीन भ्रमणमा ?

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल नेतृत्वको ‘जम्बो’ टोली चीन भ्रमणमा गएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा पोखरेल नेतृत्वको २२ सदस्यीय टोली शनिबार राति चीन उडेको हो । तिनको भ्रमण तालिका १२ दिनको छ ।

पछिल्लो समय एमाले र माओवादीका नेताहरू कम्युनिष्ट शासित मुलुक चीन धाउने क्रम बाक्लिएको छ । निकट छिमेकी देश भएकाले नेताहरूबीच विचार आदान–प्रदान गर्न यस्ता भ्रमण हुने गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन् ।

“नेपाल–चीनबीच परम्परागत, मैत्रीपूर्ण र हार्दिक सम्बन्ध छ । वैचारिक विषयमा कतिपय विमति र कतिपय एकरूपताका विषय छन्,” उनले बाह्रखरीसित भने, “निकट छिमेकका पार्टी भएकाले विचार आदान–प्रदान हुनु स्वाभाविक हुन्छ ।”

भ्रमण टोलीमा पार्टीका स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत नेताहरू छन् ।

पोलिटब्युरो सदस्य एवं सांसद ज्वालाकुमारी साह, केन्द्रीय सदस्य एवं कोसी प्रदेशसभा सदस्य रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय सदस्य सहदेव बोगटी, केन्द्रीय सदस्य निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ पनि भ्रमण टोलीमा छन् ।

यस्तै, केन्द्रीय सदस्यहरू अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल टोलीमा छन् । जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभागका सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य एवं घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी,   राजेश राई र सरोजकुमार रेग्मी टोलीमा छन् ।

टोलीलाई चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ स्वागत गरेका छन् ।

एमाले प्रचार विभागका अनुसार, भ्रमण टोलीले चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा सीपीसीका उच्चस्तरका नेतासँग टोलीको भेटवार्ता हुनेछ ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र सीपीसीबीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमालेले जनाएको छ । गएको जेठमा पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटासहितको २० सदस्यीय टोली चीन भ्रमणमा गएको थियो ।

जेठ ५ गते १५ दिने भ्रमणका लागि माओवादी सचिवहरू गणेश शाह, डिलाराम आचार्य, हितमान शाक्यसहितका नेताहरू चीन गएका थिए । साउन २५ गते माओवादी महासचिव देव गुरुङ चीन भ्रमणमा गएका थिए ।

माओवादीको २० सदस्यीय टोलीलाई प्रविधिमा चीनले गरेको विकास, राष्ट्रपति सी चिनफिङको विचारधारा, गरिबी नियन्त्रणका लागि भइरहेका प्रयासलगायत विषयमा जानकारी गराइएको थियो । यस्तै, फाइबरका कम्पनी, ल्याब, युनिभर्सिटी, मोबाइललगायत कम्पनीको भ्रमण गराएको थियो ।

सो टोलीमा सहभागी अनेरास्ववियु क्रान्तिकारीका नेता जिपी मैनालीले त्यहाँको विकास गतिविधिको प्रचारका लागि धेरै मुलुकबाट मानिसलाई भ्रमण गराइने गरेको आफूले पाएको बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro