site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे ६६ लाख घरमध्ये ०.४८ प्रतिशतमा मात्रै विद्युतीय चुलो, किन बढेन प्रयोग ?

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेको देखाएको छ । जसमध्ये आधाभन्दा बढी अर्थात् ३३ लाख ९८ हजार ३१६ (५१.०१ प्रतिशत) परिवारले खाना पकाउन काठ तथा दाउरा प्रयोग गर्छन् ।

दोस्रो नम्बरमा २९ लाख ४९ हजार ९९५ (४४.२८ प्रतिशत) परिवारले खाना पकाउन ग्यास प्रयोग गर्छन् । २.८ प्रतिशत अर्थात् एक लाख ९१ हजार ५३१ परिवारले खाना पकाउन गाईको गोबर प्रयोग गर्ने गरेका छन् । ७८ हजार ४०६ (१.१७) प्रतिशत परिवारले बायो ग्यास प्रयोग गर्छन् । 

बिजुलीको प्रयोग गरेर खाना पकाउने परिवारको संख्या ३२ हजार ५७४ मात्रै रहेको छ । जुन ०.४८ प्रतिशत मात्रै हो ।

Dabur Nepal
NIC Asia

मट्टीतेलबाट खाना पकाउने परिवारको संख्या तीनहजार २९७ र अन्य इन्धनको प्रयोग गरी खाना पकाउने परिवारको संख्या ६ हजार ७२२ छ ।

कति आयात हुन्छ विद्युतीय चुलो ?

आर्थिक वर्ष २०७८/०७९ मा एकलाख १६ हजार ८१० वटा खाना पकाउने विद्युतीय चुलो (इन्डक्सन स्टोभ) आयात भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा एक लाख ३० हजार ७४५ वटा इन्डक्सन स्टोभको आयात भएको छ । एक वर्षमा करिब १४ हजारको संख्यामा मात्रै इन्डक्सन चुलोको आयात बढेको देखिन्छ ।

यस्तै, २०७८/०७९ सालमा ४१ हजार ४५४ वटा इन्फ्रारेड स्टोभ आयात भएको छ । आर्थिक वर्ष २०७९/०८० मा भने करिब ३० हजार बढी अर्थात् ७३ हजार ६४८ वटा इन्फ्रारेड स्टोभ आयात भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा चार लाख तीनहजार ८९० वटा राइस कुकर आयात भएको छ । २०७९/०८० मा दुई लाख ८३ हजार १८ राइस कुकर आयात भएको छ ।

भन्सार विभागको तथ्यांक हेर्दा राइसको कुकरको आयात झन्डै दुई लाखले घटेको देखिन्छ । अन्य विद्युतीय चुलोको आयात पनि ठुलो संख्यामा बढेको देखिँदैन ।

यसले पनि विद्युतलाई खाना पकाउने इन्धनका रूपमा प्रयोग गर्ने परिवारको संख्यामा खासै वृद्धि नभएको संकेत गर्छ ।

विद्युत्मा विश्वास नहुनुमा के भन्छ प्राधिकरण ?

नेपालमा खाना पकाउन बिजुलीको प्रयोग न्यून रहेको नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्ध निर्देशक मनोज सिलवाल स्वीकार्छन् । प्राधिकरणले खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढाउन कुनै प्रकारको विशेष अभियान नचलाएको उनको भनाइ छ । 

“ग्यासको प्रयोग घटाउनुपर्छ र बिजुलीको प्रयोग बढाउन कुनै विशेष अभियान हामीले गरेका छैनौँ । सुरुमा प्राविधिकरूपमा हामी आफैँ बलियो हुनुपर्‍यो भन्ने छ,” सिलवालले भने ।

तर, विद्युत्को आपूर्ति पहिलाभन्दा प्रभावकारी भएको र काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा विद्युतीय चुलोको प्रयोग बढेको उनको भनाइ छ ।

“पहिलेको तुलनामा अहिले विद्युत् आपूर्तिमा सुधार छ । पहिले पानी पर्दा वा सामान्य अवस्थामा पनि बत्ती जाने निकै धेरै समस्या थियो । अहिले काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा त्यो निकै कम छ,” सिलवालले भने ।

कम भोल्टेजको विद्युत्का कारण खाना पकाउने उपकरणहरू नचल्ने स्थिति भने नभएको र त्यस्तो गुनासो नआएको उनले बताए । अहिले सबै जसो वितरण केन्द्रमा १०० किलो भोल्टको ट्रान्सफर्मर प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

देशका सबैजसो क्षेत्रमा विद्युत् आपूर्ति नियमित बन्दा मान्छेहरू आफैँ भान्सामा विद्युतीय उपकरणको प्रयोग गर्ने र ग्यासलाई ‘ब्याकअप’का रूपमा प्रयोग गर्ने स्थिति बन्ने उनको विश्वास छ । यसका लागि प्राधिकरणले विद्युत्को आपूर्ति बलियो बनाउन काम गरिरहेको उनले बताएका छन् ।

५१ करोड लिटर खाना पकाउने ग्यास आयात

गत आर्थिक वर्ष २०७९/०८० मा ५८ अर्ब १५ करोड रुपैयाँ बराबरको ५१ करोड ४३ लाख लिटर खाना पकाउने एलपी ग्यास आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ६५ अर्ब ५५ करोड रुपैयाँ बराबरको ५३ करोड ५८ लाख लिटर खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

भन्सार विभागको तथ्यांक हेर्दा गत वर्ष झन्डै दुई करोड लिटरको ग्यास आयात घटेको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब १५ करोड रुपैयाँ बराबरको ४७ करोड ७४ लाख लिटर खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

नेपाली भान्सामा विद्युतीय ऊर्जाका साधनको प्रयोग बढाउन सकिए खाना पकाउने ग्यासको आयातमा कमी आउने विश्वास गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro