site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय समितिका सभापतिका लागि भोलि उमेदवारी र पर्सि निर्वाचन
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ ।

आइतबार सभापतिको उमेदवारी प्रस्ताव दर्ता गर्ने र त्यसको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,” प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी अर्को कुनै एक सदस्यको समर्थनसहित भोलि बिहान ११ः०० देखि अपराह्न ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची भोलि बेलुका ४ः३० बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमानुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।

दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले पर्सि प्रस्तुत गर्नेछन् । समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतबारसम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ । प्रतिनिधिसभाको सदस्य नरहेका पदेन सदस्यले भने निर्वाचनमा मत दिन पाउने छैनन् ।

समिति सभापतिका लागि एक मात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमानुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro