नेपाली साहित्यिकवृत्तमा पुरस्कारको चर्चा हुँदा पहिलो नम्बरमा आउने गर्छ, मदन पुरस्कार । हरेक वर्ष मदन पुरस्कार गुठीले अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये एकलाई चार लाख रुपैयाँ नगद राशिको मदन पुरस्कार प्रदान गर्दै आएको छ ।
विक्रमाब्द २०१३ सालमा पहिलोपटक मदन पुरस्कार प्रदान गरिएको थियो । त्यति बेला पुरस्कार प्राप्त गर्ने सर्जकहरू थिए, सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी ।
६७ वर्षसम्म मदन पुरस्कारको परम्परा निरन्तर छ । यो वर्ष पनि पुरस्कार प्रदान गरिँदै छ । ०७९ सालको मदन पुरस्कार प्रदान गर्न गुठीले पाँच कृति छनोट गरिसकेको छ ।
छनोट सूचीमा सुबिन भट्टराईको उपन्यास ‘इजोरिया’, विवेक ओझाको उपन्यास ‘ऐँठन’, द्वारिकानाथ ढुंगेलको गैरआख्यान ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ छन् । यिनै सर्जक प्रत्येकलाई हामीले तीन प्रश्न गरेका छौँ ।
१. तपाईंको पुस्तकमा के थियो, जसले मदन पुरस्कारको मनोनयनमा पर्यो ?
२. प्रतिस्पर्धी अरू पुस्तक पढ्नुभएको छ ?
३. पठन संस्कृति घटेको र लेखकले गुणस्तरीय लेखनमा ध्यान दिन छोडेको टिप्पणी हुँदै आएको छ, के भन्नुहुन्छ ?
सुबिन भट्टराई (इजोरिया)
१. मेरा यसअघि पाँच किताबहरू प्रकाशित छन् । यो उपन्यास छैटौँ हो । र, लेखनीका दृष्टिकोणबाट मैले सबैभन्दा बढी मिहिनेत गरेको किताब पनि यही हो । अर्को कुरो, यो उपन्यास मैले लामो समय तराई–मधेसका गाउँघर र बजारमा बसेर, अनुसन्धान गरेर, स्थानीय बासिन्दासँग कुराकानी गरेर लेखेको हुँ । तराईका धार्मिक–सांस्कृतिक पक्ष, स्थानीय लबज तथा भाषाको प्रयोग, त्यहाँको जनजीवन र अवस्था सबैलाई उपन्यासमा प्रस्तुत गरेको छु । उपन्यास पढ्दा त्यो देखिन्छ भन्ने लाग्छ, मलाई । मूलतः यो उपन्यास चार वर्ष लामो साधना र अनुसन्धानको परिणति हो ।
२. प्रतिस्पर्धी पुस्तकहरू मैले ल्याएको छु । केही पुस्तक पढ्न बाँकी नै छन् । ती पुस्तकहरू पढ्छु नै । पढ्नु नै पर्छ ।
३. पठन संस्कृति घटेर लेखकहरूले लेखनमा ध्यान नदिएजस्तो मलाई लाग्दैन । पठन संस्कृति घट्नुका अन्य कारणहरू पनि होलान् । त्यसमा छुट्टै बहस हुनुपर्छ भन्ने लाग्छ । यतिखेर हामी डिजिटल जमानामा बढी गएका छौँ । डिजिटल प्रयोगमा रमाएका छौँ । त्यसैले किताबसँग केही टाढिएको जस्तो अनुभव हुन्छ । तर, यो केही समयका लागि मात्रै हो । किताबको समय फिर्ता आउँछ । किनभने, हजारौँ वर्षदेखिको चलन हो किताब पढ्ने । डिटिजल हावाको सानो झोक्काले यो हराउँछ भन्ने मलाई लाग्दैन । जहाँसम्म लेखकहरूको कुरा छ, लेख्नेहरूले मिहिनेत गरेकै छन् । कतिपय किताब मिहिनेत नगरी पनि आएका होलान् । तर, साधना गर्ने सर्जकले मिहिनेतका साथ किताब लेखेका छन् । र, तिनले गतिलो सामग्री पाठकसामु पस्केकै छन् ।
विवेक ओझा (ऐँठन)
१. भर्खरै पुरस्कारको मनोनयनमा परिएको छ, त्यसैले यस विषयमा अहिले नै केही बोलिहाल्नु ठिक होलाजस्तो मलाई लाग्दैन । किताब कसरी सिफारिसमा पर्यो, त्यो गुठीको कुरा हो । तिनका आफ्नै नीति–नियम होलान् ।
२. मदन पुरस्कारको मनोनयन सिफारिसमा परेका प्रायः सबै किताब पढेको छु । ‘इजोरिया’, ‘थाङ्ग्रा’, ‘माटाको घर’ सबै । अहिलेसम्म नपढेको किताब ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ हो । तर, अब त्यो किताब पनि पढ्छु ।
३. मलाई के लाग्छ भने हाम्रा पाठक जुन गुणस्तरका छन्, लेखन पनि त्यही गुणस्तरको लेख्न सकिन्छ । एउटा राम्रो लेखक हुनका लागि उसले त्यतिकै पढ्नुपर्छ । फेरि, लेखकले संख्याको हिसाबले पढेर मात्रै हुँदैन, गुणस्तरीय किताब पढ्नुपर्छ । एउटा राम्रो लेखक एक गम्भीर पाठक हुनुपर्छ । मैले बुझेको के हो भने एउटा राम्रो लेखकले राम्रो पढ्न सक्छ । राम्रो पढ्नेले राम्रो लेख्छ ।
प्रगति राई (थाङ्ग्रा)
१. उपन्यासमा मैले नारी र पुरुषबीचको असमानतालाई उठाउने कोसिस गरेकी छु । महिलालाई जन्मजात निर्वासित गर्नुपर्ने र पुरुषलाई जन्मजात सामाजिक अभिभारा दिनुपर्ने रीतिमाथि विनिर्माण गर्दै उपन्यास लेखेकी छु । छोरी जन्मिनेबितिक्कै अर्काको घर जाने जात भनिन्छ भने छोरा जन्मिनेबितिक्कै यसले कमाएर घरपरिवार धान्नुपर्छ भन्ने भन्ने दृष्टिकोण छ । उपन्यासमा यिनै विषयहरूलाई फरक किसिमबाट प्रस्तुत गर्ने प्रयास गरेकी छु ।
२. प्रतिस्पर्धामा रहेका ‘इजोरिया’ र ‘ऐँठन’ पढेको छु । ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ पढेको छैन । अनुसन्धान गर्नेहरूका लागि त्यो किताब महत्त्वपूर्ण छ । ‘माटाको घर’ पढन पाएको छैन । हामीले एकार्काका किताब पढ्नुपर्छ भन्ने मलाई लाग्छ । हामीलाई मदन पुरस्कारले प्रतिस्पर्धीका रूपमा खडा गरे पनि एउटा परिवारजस्तो बनाइदिएको छ । हामीलाई नजिक बनाइदिएको छ ।
३. एउटा लेखकको पाठक सीमित संख्यामा हुन्छ । यस्ता पुरस्कारहरूले लेखकलाई पाठक थपिदिन्छन् । तर, कसैलाई पढ्न खोज्ने पाठकले जसरी पनि पढिरहेका नै हुन्छन् । पछिल्ला वर्षमा देखापरेको कोभिडले हरेक क्षेत्रमा असर परेको छ । यो परिस्थितिमा पठन संस्कृतिमा ह्रास आउनुलाई अस्वाभाविक मान्न सकिन्न । पाठक घट्दैमा लेखनको स्तरीयता घट्छ भन्ने मलाई लाग्दैन । लेखकले आफ्नो किताबलाई सधैँ उत्कृष्ट बनाउन खोजेको हुन्छ ।
द्वारिकानाथ ढुंगेल (चक्रव्यूहमा नेपालको जलस्रोत)
१. पुस्तक मनोनयनमा किन पर्यो भन्ने कुरा मदन पुरस्कार गुठीले नै भन्न सक्ला । हो, मैले यो किताब किन लेखेँ भन्नेबारे बताउन सक्छु । मैले भोगेका कुरा, आफ्नो अनुभवहरू भविष्यका पुस्तालाई छाड्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले सरकारी सेवामा रही विभिन्न ठाउँमा काम गर्दाका अनुभवहरूलाई किताबमार्फत भविष्यका पुस्तालाई छोड्न चाहेको हुँ । मैले जलस्रोत मन्त्रालयमा पनि काम गर्ने मौका पाएँ । त्यहाँ काम गर्दा भारतसँगको महाकाली सन्धि, त्यसपछि विद्युत् व्यापार सम्झौता, मुलुकको विद्युत् उत्पादन, प्रसारण र विकासमा लागेको विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्य भएर काम गर्नुपर्यो । अर्को कुरो, मन्त्रालयको सञ्चालन र व्यवस्थापनमा कस्ताकस्ता खेलहरू हुँदा रहेछन्, कसरी चलाइँदो रहेछ, के गरिँदो रहेछ भन्ने विषयमा पनि अनेक अनुभव गरेँ । मैले अढाई वर्ष काम गर्दा मुलुकको प्राकृतिक स्रोत जलस्रोतमा भारतको अभिरुचि के रहेछ, हामीले विद्युत् विकास गर्छौँ भन्दा विदेशीहरूले हामीलाई कस्तो व्यवहार गर्दा रहेछन्, तिनको सोच के रहेछ, नेपाल विद्युत् प्राधिकरण कसरी चल्दो रहेछ ? साथसाथै, जल तथा शक्ति आयोग (जो एउटा मुलुकको जल तथा ऊर्जाको विकासमा राष्ट्रिय योजना आयोग भएर काम गर्नुपर्ने संस्था हो) के तालमा चलेको रहेछ ? यस्तायस्ता अनुभवहरू मनग्य प्राप्त गरे । पछिल्लो समय मलाई लाग्यो– मेरा अनुभवहरू भविष्यका पुस्ताका लागि काम लाग्ने हुनसक्छ । मैले जे गरेँ (राम्रो गरेँ÷नराम्रो गरेँ) त्यो भविष्यका अध्येतालाई छोड्नुपर्छ भन्ने लागेर नै मैले यो किताब लेखेको हुँ । यो एउटा दस्ताबेज हो । यो किताब मैले पुरस्कार पाउँछु वा पुरस्कार देलान् भनेर लेखेको होइन । त्यता सोचेको पनि छैन । यो त मेरा अनुभवहरू यत्तिकै खेर नजाऊन् भनेर लेखेको मात्रै हुँ ।
२. मैले मनोनयनमा परेका बाँकी किताबहरू पढेको छैन । म पढ्छु, प्रशस्त पढ्छु । मेरो इतिहास, नियात्रा, जीवनी, संस्मरणहरू पढ्नमा रुचि छ ।
३. म एउटा सामान्य पाठक हुँ । मैले आवश्यक देखेका पुस्तकहरू पढ्दै आएको छु । म जुन पुस्तक पढ्छु, त्यसबाट केही न केही नयाँ सिक्ने प्रयास गर्छु । त्यसकारण कसैलाई पनि लेखन स्तरयुक्त भएन भन्दिनँ । मैले कतिपय पुस्तकहरूको समीक्षा पनि गरेको छु । त्यसबखत भने कुनैकुनै किताब पढ्दा मलाई लाग्थ्यो– पुस्तक सम्पादनमा खासै ध्यान दिइएको छैन भन्ने । तर, म के भन्छु भने हरेक व्यक्तिसँग अनुभवको भण्डार हुन्छ । ती अनुभवहरू खेर जानु हुँदैन, आउने पुस्ताका लागि लेखनीमा आउनैपर्छ ।
०००
यो वर्ष मदन पुरस्कारका लागि छनोटमा परेको अर्को कृति हो, ‘माटाको घर’ । सर्जक सञ्जय विष्ट हुन् । उनीसित पनि हामीले सम्पर्क गरेका थियौँ । तर, जवाफ प्राप्त हुन सकेन ।