काठमाडौं । फिफा महिला विश्वकपको उपाधि दिलाउन फाइनलमा निर्णायक गोल गरेकी स्पेनकी कप्तान ओल्गा कार्मोनाका बुवाको उक्त खेलअघि नै निधन भएको खुलेको छ ।
युवा उमेरमै स्पेनको कप्तानी सम्हालेकी २३ वर्षीया कार्मोनाले फाइनलमा इंग्ल्यान्डविरुद्ध १–० को जित निकाल्दा निर्णायक गोल गरेकी थिइन् ।
रोयटर्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार लामो समयको रोगका कारण गएको शुक्रबार नै कार्मोनाको बुवाको निधन भएको थियो । फाइनल खेल आइतबार थियो ।
“मलाई थाहा छ, तपाईंले आज राति मलाई हेरिरहनुभएको छ र तपाईं मप्रति गर्व गर्नुहुन्छ । रेस्ट इन पिस बुवा,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “यसबारे जानकारीबिना नै मैले फाइनल खेलेँ । मलाई थाहा छ, केही फरक कुरा प्राप्त गर्न तपाईंले मलाई शक्ति दिनुभयो ।”
स्पेनको फुटबल फेडेरेसनले पनि कार्मोनाले फाइनलपछि निधनबारे जानकारी पाएको जनाएको छ ।
स्पेनिस फुटबल संघले सामाजिक सञ्जालमा लेखेको छ, “...कार्मोनाले आफ्नो बुवाको निधनबारे खेलपछि मात्र जानकारी पाएकी थिइन् ।”