
काठमाडौं । हङकङविरुद्ध उच्च मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन् । बुधबार हङकङस्थित स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङलाई नजिकबाट नियालेको बताए ।
हङकङ बलियो टोली भएको बताउँदै मुख्य प्रशिक्षक रसले राम्ररी अध्ययन गरेको बताए । रातिको खेलमा हङकङको अवस्था राम्रो भए पनि आफूहरूले पछिल्लो करिब एक महिना कडा मेहनत गरेको उल्लेख गरे ।
उनले भने, “हामीले एसियन च्याम्पियनसीप छनोटमा लाओसविरुद्धको खेलपूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ । हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौँ । यो सुखद् पक्ष हो ।”
हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्ण रूपमा तयार रहेको प्रस्टाए ।
उच्चस्तर खेल हुने बताएका मुख्यप्रशिक्षक रसले हङकङविरुद्ध आफूहरूले उत्कृष्ठ खेल प्रस्तुत गर्ने उल्लेख गरे ।
प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ट अभ्यास गरेको बताए । उनले भने, “हामी विपक्षीलाई सम्मान गछौँ । तर, पाहुनाका रूपमा हामी भोलि हुने खेलका लागि तयारीमा रहेका छौँ ।”
बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार अन्तिम अभ्यास गरेको छ । हङकङले यसै मैदानमा केहीदिन अघि म्यानचेष्टर युनाइटेडसँग ३–१ गोल अन्तरले हारको स्वाद पाएको थियो । हङकङको टोली फिफा वरीयतामा १५३औँ स्थानमा रहेको छ ।