site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रको निर्देशकमा नेपाल चौथो पटक भिड्दै, मार्लान् त डा. आचार्यले बाजी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो कात्तिक १४ गते (अक्टोबर ३१) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाल र बंगलादेशका उमेदवार प्रतिस्पर्धा गर्दै छन् । निर्देशक पदको उमेदवारमा नेपालले डा. शम्भुप्रसाद आचार्यको नाम मनोनयन गरेको छ । उनी जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् ।

बंगलादेशले साइमा वाजिदलाई उमेदवार खडा गर्ने निर्णय गरेको छ । वाजिद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

“सबै हिसाबले हाम्रो उमेदवार अब्बल हुनुहुन्छ । आचार्यसँग लामो समय डब्लूएचओको मुख्यालयमा बसेर काम गरेको अनुभव छ । उहाँले डब्लूएचओको सिस्टम बुझ्नु भएको छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

२०७८ भदौ १० गतेको मन्त्रिपरिषद् बैठकले डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा उमेदवारी दिने निर्णय लिएको थियो ।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको निर्देशक भारतकी पुनम क्षेत्रपाल सिंह कार्यरत छिन् । उनको यो दोस्रो कार्यकाल हो । २०१४ र २०१८ मा उनी उक्त पदमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनको कार्यकाल २०२४ जनवरीसम्म छ । निर्वाचित हुने नयाँ निर्देशकले २०२४ फेब्रुअरी १ बाट कार्यभार सम्हाल्नेछन् । 

Global Ime bank

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ देश सदस्य छन् । नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य हुन् ।

निर्वाचनमा जित हासिल गर्न ६ देशको मत चाहिन्छ । जित हासिल गर्न नेपालले कम्तीमा पनि पाँच राष्ट्रलाई आफ्नो पक्षमा ल्याउनुपर्छ । “हाम्रो ध्यान कसरी सदस्य राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउने र जित्ने भन्नेमा छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता अधिकारीले भने, “सबै सदस्य राष्ट्रहरूसँग समन्वय गरिरहेका छौँ । यसमा सरकार, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगहरू सबै लागिपरेका छन् ।”

यसअघि नेपालले डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा तीन पटक उमेदवारी दिँदा हार व्यहोर्नु परेको थियो । विगतको तीतो अनुभवबाट पाठ सिकेर यसपटक विजयको मीठो स्वाद चाख्ने प्रयासमा नेपालले मिहिनेत गरिरहेको छ । यसका लागि परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्बन्धित नेपाली नियोगहरू र उमेदवार आचार्य खटिरहेका छन् ।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा नेपालबाट पहिलो पटक उमेदवारी नारायणकेशरी शाहले दिएका थिए । उनी पहिलो नेपाली राजदूत बिन्देश्वरी शाहका पति र बैंकर अनिलकेशरी शाहका पिता हुन् । नारायणकेशरी शाह निर्वाचनमा मात्र एक मतले पराजित भएका थिए ।

नेपालले दोस्रो पटक डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा डा. मृगेन्द्रराज पाण्डेलाई बनाएको थियो । उनी पनि विजयी बन्न सकेनन् ।

नेपालले तेस्रो पटक डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदमा डा. रीता थापालाई उठाएको थियाे । थापा पूर्वपरराष्ट्र मन्त्री तथा राजदूत भेषबहादुर थापाकी पत्नी हुन् । रीता थापा पनि निर्वाचनमा पराजित भएकी थिइन् ।

नेपालले उमेदवार बनाएको व्यक्ति डा. आचार्य विश्व स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम भएकाले जित्ने सम्भावना छ । आचार्य सन् १९९९ देखि डब्लूएचओको उच्च ओहोदामा पुगेर काम गर्ने पहिलो नेपाली हुन् । उनी डब्लूएचओको महानिर्देशक डा. टुड्रोस अधानोम गेहब्रेयसको मातहतको विभागमा काम गर्दै आएका छन् । जेनेभास्थित डब्लूएचओको मुख्यालयमा रहेको कन्ट्री स्ट्राटेजी एण्ड सपोर्ट विभागमा उनी निर्देशक पदमा कार्यरत छन् ।

पाल्पाको भुटुका गाउँमा जन्मेका आचार्यले सुरुमा बाँसबारी छाला जुत्ता कारखानामा काम गरेका थिए । त्यसपछि परिवार नियोजन संघमा संलग्न भए । यसैबीच, उनी अमेरिका पढ्न गए र स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका थिए ।

अमेरिकामा अध्ययन सकेपछि उनले वासिङ्टनस्थित विश्व बैंकमा इन्टर्नको रूपमा काम गरेका थिए । उनीसँग बंगलादेशको ढाकामा परामर्शदाता भएर काम गरेको अनुभव पनि छ ।

आचार्य ३३ वर्षको हुँदा प्रोग्राम म्यानेजरका रूपमा डब्लूएचओमा प्रवेश गरेका थिए । उनीसँग भारतमा काम गरेको अनुभव पनि छ । उनी सन् २०१५ बाट डब्लूएचओमा निर्देशक भएका थिए ।

जनस्वास्थको क्षेत्रमा मात्र होइन डब्लूएचओमै लामो समय काम गरेको अनुभव आचार्यसँग छ । यही कारण पनि उनको उमेदवारीलाई अन्य सदस्य राष्ट्रले विशेष चासोका साथ हेरेका छन् । “डब्लूएचओ र जनस्वास्थ क्षेत्रलाई बुझ्ने डा. शम्भुप्रसाद आचार्यजस्तो उमेदवार सायदै पाइन्छ,” प्रवक्ता अधिकारीले भने ।

परराष्ट्र मन्त्रालय र सदस्य राष्ट्रमा रहेका नेपाली दूतावास तथा ती देश हेर्ने नेपाली दूतावास आचार्यको पक्षमा माहोल बनाउन लागि परेका छन् । सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने, मत माग्ने काम नेपालले गरिरहेको छ । आचार्य आफैँ पनि सक्रिय हुँदै आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् । जुन क्षेत्रको निर्देशक पदमा उनले उमेदवारी दिएका छन्, त्यहाँ झण्डै दुई अर्ब मानिसको बसोबास छ । उनले ती दुई अर्ब मानिसको स्वास्थमा सुधार ल्याउन पाँचबुँदे रणनीति तयार पारेका छन् ।

स्वास्थ्यसम्बन्धी तीनवटा महत्वपूर्ण कार्यक्रममा भाग लिन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत मंगलबार भारत गएका छन् । उनको साथमा आचार्य पनि छन् । डब्लूएचओको आयोजनामा बुधबार र बिहीबार गुजरातमा क्षयरोगसम्बन्धी कार्यक्रम भयो । कार्यक्रममा दक्षिण–पूर्वी एशियाली देशहरूसमेत सहभागी थिए । त्यहाँ सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग भेट गरी निर्वाचनको माहोल आफ्नो पक्षमा बनाउने काम भएको छ ।

शुक्रबारदेखि सुरु भएको ‘वन अर्थ, वान हेल्थ’ समिटमा पनि मन्त्री बस्नेत र आचार्य सहभागी भएका छन् । त्यहाँ अरु देशका स्वास्थ्य मन्त्री तथा प्रतिनिधिसँग उनले भेटवार्ता गरेका छन् । दक्षिण–पूर्वी एसियाको स्वास्थ्य क्षेत्रलाई कसरी सुधार्न सकिन्छ भन्नेमा उनले आफ्ना योजना उनीहरूलाई सुनाइरहेका छन् । 

“क्षेत्रीय बैठकहरूमा मन्त्रीज्यूसँगै आचार्यजी पनि हिँडिरहनु भएको छ । सम्बन्धित क्षेत्रका मानिसहरूलाई भेटिरहनु भएको छ । नेपालको पक्षमा माहोल बनेको छ,” प्रवक्ता अधिकारीले भने । यसपटक डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदका लागि हुने निर्वाचनमा नेपालले बाजी मार्ने उनको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय