काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसीसी एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । प्रतियोगिताका लागि सोमबार नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अगस्ट ३० देखि सुरु हुने प्रतियोगिताको एक हप्ताअघि नेपालले पाकिस्तानमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले व्यवस्थापन गरेको टिमसँग अभ्यास खेल खेल्नेछ ।
एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानको मुल्तानमा हुने यो खेल अगस्ट ३० मा हुनेछ । यस्तै, नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकामा खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित कुल ६ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । एसीसी प्रिमियर कपको विजेताको रूपमा एसिया कप प्रवेश गरेको नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् ।
एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाएको थियो । तर, राजनीतिक तिक्तताका कारण भारतले आफ्नो टिम पाकिस्तान पठाउन अस्वीकार गरेपछि प्रतियोगितालाई ‘हाइब्रिड मोडेल’मा सञ्चालन गर्ने सहमति बनेको छ ।
जसअनुसार भारतबाहेक प्रतियोगितामा सहभागी सबै टिमले समूह चरणको एक खेलका लागि पाकिस्तानको यात्रा गर्नुपर्नेछ । र, भारतको सहित अन्य सबै खेलहरू श्रीलंकामा सञ्चालन हुनेछन् ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम शार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल (मौसम) ।