
काठमाडौं । यो वर्ष तिजका गीतको रेकर्डिङमा ठूलो संख्याले गिरावट आएको छ । स्टुडियोमा रेकर्डिङ हुने तिजका गीतको संख्या विगतका वर्षहरूको तुलनामा निकै कम छ ।
स्टुडियो सञ्चालक, गायक तथा म्युजिक भिडियो निर्देशकहरूले यसलाई पुष्टि गरेका छन् । स्टुडियो वानडीबीले यो वर्ष तिजका गीतको रेकर्डिङमा ठूलो गिरावट आएको जानकारी दिएको छ ।
वानडीबीका सञ्चालक एचीबीएन किस्मत गत वर्षको तुलनामा यसपालि ६० प्रतिशतले तिजका गीत कम भएको बताउँछन् । “संख्या त यति नै हो भनेर भन्न कठिन होला, तर यो वर्ष तिजका गीत करिब ६० प्रतिशतभन्दा कम छन्,” उनले भने ।
मालश्री स्टुडियोमा पनि गत वर्षको जस्तो यसपालि तिजका गीतको चाप छैन । मालश्री स्टुडियोका सञ्चालक शम्भु कुँवर गत वर्षहरूभन्दा तिज गीतको संख्या कम रहेको बताउँछन् ।
“समग्रमा अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष केही कम नै छ । हाम्रो स्टुडियोमा चाहिँ त्यति धेरै कम छैन, तर गत वर्षहरूको जस्तो चापाचाप पनि छैन,” कुँवरले भने ।
म्युजिक भिडियो निर्देशक मौसम हिमाली पनि गत वर्षहरूको जस्तो यसपालि तिजका गीत धेरै रेकर्ड नभएको बताउँछन् । म्युजिक भिडियो निर्देशनका लागि आउने अफर, समकालीन निर्देशक, कलाकार र कोरसहरूको कामका आधारमा ठूलो संख्यामा तिज गीतको रेकर्डिङमा कमी आएको मौसम सुनाउँछन् ।
“यो वर्ष बढीमा २०० वटा तिज गीत रेकर्ड भए होला,” उनी भन्छन्, “गत वर्षहरूमा यो संख्या निकै धेरै हुन्थ्यो ।”
आफ्नो मन स्टुडियोकी सञ्चालक सारिका घिमिरे पनि ठूलो संख्यामा तिज गीत रेकर्डिङमा कमी आएको बताउँछिन् । “हाम्रो स्टुडियोमा गत वर्षको तुलनामा करिब ५०/६० प्रतिशत मात्रै गीत रेकर्ड भए,” सारिका भन्छिन्, “हाम्रोमा नआएर अरूकोमा गएको भए छुट्टै कुरा हो, तर हाम्रो स्टुडियोमा रेकर्ड हुने गीतको संख्यामा भने ठूलो मात्रामा कमी आयो ।”
कारण के ?
यसअघिका वर्षहरूमा तिजका गीत राम्रा नआउनु नै यसको मुख्य कारण भएको किस्मत बताउँछन् । “तिजका नाममा कति गीत भल्गर आए । त्यस्ता गीतको नकारात्मक प्रभाव पर्यो,” उनी भन्छन्, “नकारात्मक प्रभाव पर्दा तिजका गीतको रेकर्डिङको संख्यामै कमी आयो ।”
गायिका समेत रहेकी सारिका दर्शकको मन छुने गीत नआउनु नै यसको संख्या ओरालो लाग्नुको मुख्य कारण भएको बताउँछिन् । “दर्शकको मन नछुनु नै सम्भवतः तिजका गीतको संख्या कम हुनुको मुख्य कारण हुनसक्छ,” सारिका भन्छिन्, “म आफैँ पनि गायिका र गीत पनि लेख्ने भएकाले यो भन्न मिल्छ वा मिल्दैन थाहा छैन, तर दर्शक भएर हेर्दा कमजोर गीत भए भन्ने लाग्छ ।”
गीतको कुनै न कुनै पक्षले स्रोताको मन जित्नैपर्ने उनको बुझाइ छ । कुनै वर्ष एउटा गीत चले लगातार त्यस्तै ल्याउने गरिएको उनको भनाइ छ ।
“यस्तो गीत चल्ने रहेछ भन्दा पनि म यस्तो गीत गाउँछु भनेर नयाँपन दिनुपर्छ जस्तो लाग्छ,” सारिका भन्छिन्, “सायद त्यही भएर होला, यो वर्ष पनि अहिलेसम्म तिजका जति पनि गीत आए खासै धेरै चलेका छैनन् ।”
चलेनन् चल्तीकै कलाकारका गीत
अहिले बजारमा राम्रो नाम र भरोसा गरिएका गायकगायिकाकै तिजका गीतले पनि खासै धेरै लोकप्रियता बटुल्न सकेनन् । यो वर्ष समीक्षा अधिकारी, एलिना चौहान, प्रकाश सपूत, शान्तिश्री परियारका तिज गीतले पनि दर्शकको मन जित्न सकेनन् ।
बजारमा रहेको चर्चा, टिकटक र युट्युबकै भ्युजलाई हेर्ने हो भने प्रकाश सपूत र शान्तिश्रीले ल्याएका गीत पनि दर्शकको नजरमा परेनन् । ठूलो प्रचारप्रसार र लगानी गरेर ल्याइएका गीतले पनि यो वर्ष हालसम्म स्रोताको मन जित्न सकेनन् । पछिल्लो समय टिकटक र युट्युबमा ‘हिट’ नभएसम्म गीतको चर्चा हुन छोडेको छ । गीत लोकप्रिय हुन छाडेका छन् ।
“यो वर्ष अहिलेसम्म तिज गीत भनेर सार्वजनिक गरिएको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ अरूभन्दा चलेको देखिन्छ,” सारिका भन्छिन् ।
यो गीतमा हालसम्म एक लाख ४० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेको चलचित्र ‘कोशेढुंगा’का निर्देशक सरोज पौडेल बताउँछन् ।
“टिकटकमा १३ मिलियन लाइक्स आएको छ । टिकटकमा दुई मिलियन कमेन्ट आएको छ,” निर्देशक पौडेल भन्छन्, “यो गीत हिट हुन्छ भन्नेमा हामी सुरुमै ढुक्क थियौँ । योपटकको तिजमा नाच्ने गीत नै ‘नत्र भने जिन्दगी व्यर्थ छ’ हुनेछ भनेरै हामीले तिजलाई लक्षित गरेर यो गीत सार्वजनिक गरेका हौँ ।” मौलिक र नाच्ने खालको गीत भएकैले स्रोताले मन पराएको उनको भनाइ छ ।
किन चलेनन् अधिकांश तिज गीत ?
तिजका नाममा अरू नै गीत ल्याइनु पनि तिज गीत नचल्नुको कारण हुन सक्ने निर्देशक मौसम हिमाली बताउँछन् । “तिज गीत भनेर रिलिज गर्ने तर अरू नै गीत बनाउने प्रवृत्ति विकास भएको छ,” उनी भन्छन्, “तिज गीत भनेर ल्याउने तर सुन्दा वा हेर्दा टिपिकल तिज गीत हुँदैनन् ।”
तिज गीत भनेर सार्वजनिक गरेपछि मौलिक तिज गीत नै हुनुपर्ने उनको भनाइ छ । मौलिक तिज गीत स्रोताले नपाउनु नै गीत नचल्नुको मुख्य कारण भएको उनको ठहर छ ।
तिज गीत एक महिनाका लागि मात्रै हुने भएकाले पछिल्लो समय तिजमा सदाबहार गीत नै ल्याउनेक्रम बढेको उनको भनाइ छ ।
“अडियोबारे त मैले बोल्ने कुरा भएन, तर पछिल्लो समय तिजको गीत भनेर तिजको समयलाई लक्षित गरेर यो समयमा सदाबहार गीत बनाउने गरेको चाहिँ सत्य हो,” उनी भन्छन्, “सायद टिपिकल मौलिक गीत आउने हो भने अहिले पनि चल्छ जस्तो लाग्छ । पछिल्लो समयका गीत हेर्ने हो भने तिजका गीत भनिए पनि टिपिकल तिज गीत आएका छैनन् ।”
खेर गयो लगानी
गीत हिट नहुँदा ठूलो परिमाणमा तिजका गीतका नाममा गरिएको लगानी खेर गइरहेको छ । गीत लोकप्रिय नहुँदा लगानी उठ्न सकेको छैन ।
पछिल्लो समय गीतको लगानी उठाउने माध्यम युट्युबबाट आउने पैसा भएको छ । तर, युट्युबमै गीतले भ्युज नपाउँदा लगानी फिर्ता हुन सकिरहेको छैन ।
गीत हिट हुँदा त्यही गीत गाउन कलाकारलाई देश–विदेशबाट अफर आउँछ । र, त्यहाँबाट पनि कलाकारले गीतको लगानी उठाउन सक्छन् । तर, गीत गुमनाम हुँदा युट्युब र स्टेज कार्यक्रम दुवै स्रोत बन्द भएका छन् ।
पछिल्लो समय गीत सुन्नेभन्दा पनि हेर्ने भएको छ । अडियोसँगै भिडियो अनिवार्य प्रायः भएको छ । त्यसैले गीतको लगानी पनि बढेको छ ।
एउटा तिज गीतको भिडियो बनाउन न्यूनतम दुईदेखि साढे दुई लाख रुपैयाँ खर्च हुने गरेको छ । त्यसबाहेक अडियोमा लगानी हुन्छ ।
“गीतको भिडियो कस्तो बनाउने त्यहीअनुसारको खर्च हुन्छ । तर, न्यूनतम पनि दुई लाख एउटा भिडियो बनाउन खर्च हुन्छ,” म्युजिक भिडियो निर्देशक मौसम भन्छन् ।
‘आन्टी लवर’ गीतमा ५० जना कोरस राखेर भिडियो बनाउँदा पाँच लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् । ‘आन्टी लवर’को कोरियोग्राफर मौसम नै हुन् ।
विष्णु माझीको गीतको भिडियोको कोरियोग्राफी पनि मौसमले नै गरेका हुन् । “यो गीतमा चाहिँ कति लगानी लाग्यो मलाई थाहा भएन । यो गीतका लागि म कोरियोग्राफर मात्रै हुँ,” उनी भन्छन्, “तर, ठूलो सेट, प्रप्स, लोकेसन र कोरस धेरै हुनेबित्तिकै लगानी यसै पनि ठूलो हुन्छ ।”
औसतमा एउटा गीतको भिडियो निर्माणका लागि तीन लाख लगानी लाग्दा यो वर्ष तिजका २०० गीत रेकर्ड हुँदा ६ करोड रुपैयाँभन्दा धेरै लगानी भएको छ । युट्युबमा भ्युज नआउँदा यी अधिकांश गीतले लगानी नउठाउने निश्चित प्रायः छ ।