
काठमाडौं । थुप्रै कमजोरीका बाबजुद नेपाली चलचित्र उद्योगमा वर्षैपिच्छे सयभन्दा बढी चलचित्र निर्माण हुँदै आएका छन् । वर्षैपिच्छे २०० को हाराहारीमा निर्माणका लागि चलचित्र दर्ता हुँदा १०० भन्दा धेरै निर्माण हुँदै आएका छन् । ७०/८० वटा चलचित्र वार्षिक प्रदर्शन हुन्छन् ।
यसमध्ये कति चलचित्र त कहिले प्रदर्शनमा आए र कहिले उत्रिए, धेरैलाई थाहै हुँदैन । यसको कारण कमजोर पब्लिसिटी नै हो । सिनेमाअनुसार पब्लिसिटी नहुँदा र हरेक चलचित्रको पब्लिसिटी एकै खालको हुँदा प्रचार प्रभावकारी हुन सकेको छैन ।
कमजोर पब्लिसिटीको असर बक्सअफिसमा देखिने गरेको छ । जानकारहरू चलचित्रको विषयअनुसार त्यसको पब्लिसिटी हुनुपर्नेमा जोड दिन्छन् । तर, त्यसको ठिक विपरीत नेपालमा हरेक सिनेमाको प्रचार एकै खालको हुनु नै मुख्य समस्या भएको चलचित्र निर्देशक तथा फिल्म फेस्टिभल सञ्चालक केपी पाठक बताउँछन् ।
नेपाली चलचित्र उद्योगमा पब्लिसिटीको रणनीति नै नरहेको उनी बताउँछन् । एउटाले जे गर्यो, अर्कोले पनि त्यही नै गर्ने गरेको केपीको टिप्पणी छ ।
नेपाली चलचित्र उद्योगमा रूपान्तरण भइसक्दा पनि पूर्णव्यावसायिक छैन । काम गर्ने तौरतरिकादेखि बक्सअफिसको सेयर बाँडफाँटसम्ममा पूर्ण व्यावसायिकता देखिँदैन ।
चलचित्र निर्देशकीय माध्यम हो । चलचित्रको क्याप्टेन निर्देशक हो । निर्देशक कच्चा भए चलचित्र पनि त्यस्तै बन्छ, निर्देशक राम्रो र परिपक्व भए चलचित्र पनि त्यस्तै बन्छ ।
तर, यहाँ कति निर्देशक सेटमा एक्सन–कट गरिसकेपछि पनि सिनेमालाई लिएर गम्भीर छन्, यो महत्त्वपूर्ण प्रश्न हो । सेटमा एक्सन कट गरेर सम्पादकलाई फुटेज जिम्मा लगाएपछि मेरो काम सकियो भन्ने बुझाइ भएका निर्देशकले चलचित्रलाई कसरी रिलिजसम्म लिएर हिँड्छन् ? यो अर्को गम्भीर प्रश्न हो । वर्षमा तीनवटा सिनेमा खिच्ने र दुईवटा रिलिज गर्नेको संख्या पनि सानो छैन ।
चलचित्र सम्पादनको टेबुलमा रहेका बेला अर्को चलचित्रको छायांकनमा जाने निर्देशकको संख्या अधिक रहेको चलचित्र उद्योगमा क्रिएटिभ पब्लिसिटीको अपेक्षा राख्नु नै बेकार हो ।
नेपालमा निर्माताले नै चलचित्र पब्लिसिटी गर्नुपर्ने अवस्था रहेको निर्देशक पाठक बताउँछन् । ग्लोबल अभ्यासमा यो सम्भव नरहेको उनी बताउँछन् ।
मार्केटिङ एजेन्सी हुनुपर्ने र त्यसले सिनेमाअनुसारको प्रचारको रणनीति बनाउनुपर्ने उनको धारणा छ । तर, नेपालमा हालसम्म यसको अभ्यास सुरु हुन पनि सकेको छैन । निर्माताले जे जति गर्न सक्छन्, त्यसकै भरमा चलचित्रको प्रचार हुन्छ । त्यो प्रभावकारी भए सिनेमाको रिलिज डेट र विषयबारे दर्शक जानकार हुन्छन्, होइन भने चलचित्र आए/गएको थाहै हुँदैन ।
चलचित्र बनाइसकेपछि मार्केटिङ र पब्लिसिटीको रणनीति बनाएर सोहीअनुसार लक्षित वर्गमा पुग्ने गरी काम हुनुपर्नेमा त्यसो हुन नसकेको उनी बताउँछन् ।
मेकरहरू सधैँ आफैँ मात्रै चलचित्रको पब्लिसिटीमा दौडिन सम्भव नरहेको तर चलचित्र हलमा रिलिज नहुँदासम्म भने समय र शिल्प खर्चिनुको विकल्प छैन । यद्यपि, रिलिजका लागि मेकरको दिमाग र समयले मात्रै पुग्दैन । यसका लागि रणनीतिसहितको छुट्टै टिम आवश्यक हुन्छ ।
बलिउड, हलिउड वा चिनियाँ चलचित्र जो ग्लोबल मार्केटमा जान्छन्, उनीहरूका लागि मेकर वा कलाकार नै दौडिन नसक्ने हुँदाछुट्टै मार्केटिङ एजेन्सी हुने गरेको र त्यसैले पब्लिसिटी डिजाइन गर्ने उनी बताउँछन् ।
नेपालमा अहिले बढी पारिश्रमिक दिएको हल्ला चलाउने, चलचित्र रिलिज भएपछि कलाकार र सञ्चारकर्मीलाई लिएर हलहलमा जाने चलन छ । यो आफैँमा ग्लोबल प्राक्टिस होइन । चलचित्रको बक्सअफिसका लागि यो कति प्रभावकारी छ, समीक्षाको विषय हो ।
तर, यसले यसै पनि कलाकारको खस्किँदो स्टारडमलाई झन् तल झार्दै छ । कलाकार सहज भइदिँदा हलहलमा पुगेर दर्शकसँग सेल्फी खिच्ने र नाच्ने ट्रेन्ड विकास भएको छ । यसले कलाकारको ‘वेट’लाई अझै मजबुत बनाउँदै छ कि झन् कमजोर पार्दै छ, यो पब्लिसिटीको भरपर्दो र प्रभावकारी माध्यम हो, हरेक हलमा हरेक शोमा पुगेर दर्शकसँग भेट्नु नै चलचित्रको प्रचार हो ? यो अर्को समीक्षाको विषय हो ।
सिनेमा हलभित्रै पसेर दर्शकको प्रतिक्रिया लिने, हलमा कोको चलचित्र हेर्न गएका छन् भनेर देखाउन पाइन्छ कि पाइँदैन ? यो अर्को गम्भीर विषय हो । दर्शकको गोपनीयता सुरक्षित गर्ने कि क्यामेरासहित हलभित्रै मिडिया लगेर व्यक्तिको गोपनीयता भंग गरिदिने ? कि यही हो पब्लिसिटी डिजाइन ? मेकरले यसमा जवाफ दिनुपर्छ ।
निःसन्देह नेपाली चलचित्र उद्योग आफैँमा सानो छ । ग्लोबल मार्केटमा आफूलाई अब्बल प्रमाणित गर्न सकेका छैनन् । नेपाली डायस्पोराभन्दा माथि उठ्न सकेको छैन । नेपाली बजार सानो छ । त्यसैले ठूलो लगानीमा चलचित्र बनाउन सम्भव छैन । जति लगानी धेरै हुन्छ, त्यति नै लगानी सुरक्षित नहुने अनुपात बढ्दै जान्छ । त्यसैले ठूलो लगानी गर्न सम्भव छैन । जति लगानी खुम्च्याउनुपर्छ, त्यति नै पब्लिसिटी डिजाइनको सम्भावना पनि कम हुन्छ । प्रभावकारी प्रचारको सम्भावना न्यून हुँदै जान्छ ।
तर, समय निकै धेरै अगाडि बढिसकेको छ । सुलभ प्रविधि र यसमा रहेको सहज पहुँचका कारण थोरै बजेटमा पनि धेरै काम गर्न सकिन्छ । तर, यसका लागि क्रिएटिभ आइडिया चाहिन्छ ।
यसको उदाहरण ‘मुगल–ए–आजम’लाई लिन सकिन्छ । सन् १९६० मा रिलिज भएको बलिउड सिनेमा ‘मुगल–ए–आजम’को विषय दरबारको थियो । त्यसैले दरबारिया विषय भएकाले यसको प्रचार पनि त्यही शैलीमा गरिएको थियो ।
यसको प्रिमियर शाही शैलीमा गरिएको थियो । अरू सिनेमाले गरेको प्रिमियरभन्दा पूरै फरक तरिकाले गरिएको थियो ।
‘मुगल–ए–आजम’को प्रिमियर मुम्बईको मराठा मन्दिरमा शाही शैलीमा गरिएको थियो । ‘मुगल–ए–आजम’का सिनेम्याटोग्राफर आर.डी. माथुरले सजाइएको हात्तीमा सिनेमाको प्रिन्ट बोकेर प्रिमियरमा पुगेका थिए ।
प्रचारको नयाँ शैली अपनाउँदै प्रिमियरको निमन्त्रणापत्र फ्रिन्ज्ड रेशमी कपडामा छापिएको थियो । पात्रहरू अकबर, अनारकली र सलीमको तस्बिरसहित रंगीन टिकटहरू छापिएका थिए ।
कसरी सिनेमाको प्रचार फरक तरिकाले गर्ने भनेर निर्माण टिमले भरपूर नयाँ उपाय लगायो । भइरहेकाभन्दा फरक तौरतरिकाबाट सिनेमाको हाइप बढाउने रणनीति बनायो ।
थिएटरबाहिर एउटा सुन्दर बगैँचा बनाइएको थियो । थिएटरभित्र नरम कार्पेट, पछाडिको सिट र एसी थियो । बाहिर महिला शौचालयमा लिपस्टिक र पाउडरसहित अत्तर र मेकअपका सामानहरू निःशुल्क उपलब्ध थिए । यो आफैँमा नयाँ शैली थियो । आज पनि यस्ता धेरै नयाँ उपाय प्रचारमा कमैमात्र अपनाएको पाइन्छ ।
नेपाली चलचित्र उद्योगमा अहिले कलाकार हल–हलमा पुग्छन् । निर्माताले कुन दिन कुन हलको कुन शोमा जाने भनेर सूची नै कलाकारलाई थमाउँछन् । त्यसबाहेक कुनै शो हाउसफुल भयो भने त्यहाँ दौडिएर कलाकारसहित निर्माता हलमा पुग्छन् । दर्शकको बीचमा लगेर छोडिदिन्छन् ।
दर्शकसँगको सेल्फी, मिडिया र युट्युबसँगको अन्तर्वार्ता यति धेरै हुन्छ । जता हेरे पनि सामाजिक सञ्जालमा कलाकार र उनीहरू नै देखिन्छन् । उनीहरूकै अन्तर्वार्ता भेटिन्छ । यस चलचित्रको प्रचारको राम्रो विकल्प हो ? हो भन्ने लागेरै त निर्माता/निर्देशकले यसो गरेका होलान् ।
अहिले बलिउडमा गजब व्यापार गरिरहेको चलचित्र ‘सैयारा’को निर्माणपक्षलाई भने नेपाली मेकरलाई जस्तो लागेन । उसले फरक खालको प्रचार रणनीति अपनायो ।
चलचित्र उद्योगका विज्ञ र समीक्षकहरूले चलचित्र ‘सैयारा’को सफलताका धेरै कारणहरूमध्ये यसको प्रचारलाई पनि मुख्य कारण मानेका छन् । करिब चार दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार मीना अय्यरले ‘सैयारा’को प्रचार गर्ने तरिकाले ध्यान आकर्षित गरेको बताएकी छन् ।
यशराज फिल्म्सले ‘सैयारा’को प्रमोसनमा गरेको सबैभन्दा महत्त्वपूर्ण पक्ष फिल्म रिलिज हुनुभन्दा धेरैअगाडि अहान पाण्डे र अनित पड्डालाई एक्सपोज नगर्नु भएको धेरैले बताएका छन् ।
उनीहरूलाई रिलिजभन्दा धेरै अगाडि सञ्चारमाध्यममा पठाइएन । उनीहरूलाई सहर–सहर घुमाइएन । यसले दर्शकमाझ उनीहरूको बारेमा रहस्य र उत्साह कायम राख्यो, जुन रिलिजको समयमा उपयोगी बन्यो ।
यसलाई नेपालसँग तुलना गरौँ, नेपालमा सकेसम्म अन्तर्वार्ताका लागि कलाकारले मिडिया छुटाउँदैनन् । सम्भव भएसम्म कुनै युट्युब च्यानल छोड्दैनन् । बजेट भयो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कलाकार लिएर निर्माता पुग्छन् ।
चलचित्रमा कलाकारको चरित्रको नाम के हो, उसको गेटअप कस्तो छ भनेर दिनकै निर्माणपक्षले सामाजिक सञ्जालमात्रै होइन सञ्चारमाध्यममा प्रकाशनका लागि भन्दै इमेलमा समाचार पठाउनेहरूको संख्या सानो छैन । सिनेमाभित्र को के छ र कस्तो छ भन्ने कौतुहल नै बाँकी नरहेपछि त्यो चलचित्र दर्शकका लागि कति प्रतीक्षित रहला ? यो मेकरका लागि गम्भीर प्रश्न रहेको ‘सैयारा’को प्रचार शैलीले प्रस्ट पारेको छ ।
नेपाली चलचित्र उद्योगले आमिर खानबाट पनि सिनेमाको प्रचार कसरी गर्ने भन्ने कुरा सिक्न सक्छ । आमिर पनि चलचित्रको प्रचारका लागि मास्टरमाइन्ड मानिन्छन् ।
केही समयअगाडि ‘सितारे जमीन पर’ रिलिज हुँदा आमिरले चलचित्रको प्रचारको रणनीति फेरे । उनले धेरै प्लेटफर्महरूमा लामालामा अन्तर्वार्ता दिए ।
पहिले लगभग सबै ठूला स्टारहरू टीभी स्टुडियो र पत्रपत्रिकाको कार्यालयमा गएर आफ्नो फिल्मको व्यापक प्रचार गर्थे । तर, कोभिडपछि कम्तीमा ठूला बलिउड स्टारहरूले यस्ता प्रचारात्मक अन्तर्वार्ता दिन लगभग बन्द गरे । उनीहरू अक्सर प्रश्न र उत्तरको कुरा ट्रेलर लन्चमा नै दिन थाले ।
शाहरुख खानले ‘पठान’ र ‘जवान’का लागि कुनै पनि टीभी च्यानल, पत्रिका वा प्रभावशाली व्यक्तिलाई कुनै अन्तर्वार्ता दिएनन् । उनले ट्विटर (एक्स)मा ‘आस्क मी एनिथिङ’मार्फत सबै प्रचार सम्हालेका थिए ।
प्रचारमा माहिर आमिरले धेरै सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरू, अनलाइन च्यानलहरू, टीभी च्यानल र पत्रपत्रिकाहरूलाई लामो अन्तर्वार्ता दिए । उनका धेरै अन्तर्वार्ता एक घण्टाभन्दा लामा थिए ।
अन्तर्वार्ताहरूमा, आमिरले ‘लाल सिंह चड्डा’को असफलता, थिएटर व्यवसायमा ओटीटीको घाटाजस्ता विषयमा मात्रै बोलेनन्, आफ्नो व्यक्तिगत जीवनका पक्षहरू पनि उजागर गरे । दुई सम्बन्धविच्छेद, रक्सीको लत, डिप्रेसन, बच्चा र परिवारलाई समय नदिँदाको पछुतोबारे प्रस्ट बोले । आफ्नो नयाँ पार्टनर गौरीको उल्लेखदेखि पुराना विवादहरूसम्म खुलेर बोले । धेरै ठाउँमा, उनी क्यामेराको अगाडि भावुक भए र आँसु बगाए ।
बलिउडमा ‘१०० करोड क्लब’लाई कुनै पनि सफल सिनेमाको मापदण्ड मानिन्छ । आमिरको सिनेमा ‘गजनी’ (सन् २००८) भारतमा १०० करोड कमाउने पहिलो चलचित्र थियो । ‘थ्री इडियट्स’ (सन् २००९) २०० करोड कमाउने पहिलो सिनेमा थियो । ‘पीके’ (सन् २०१४) ३०० करोड क्लबको सुरुवाती सिनेमा बनेको थियो । बीबीसी हिन्दीका अनुसार यी सफलताहरूको पछाडि आमिरको प्रचार शैलीको ठूलो भूमिका थियो । त्यसैले चलचित्र प्रवर्द्धन र प्रचारमा आमिर विशेषज्ञ मानिन्छन् ।
आमिर पटकथा छनोटमा मात्र होइन, हरेक सिनेमा कसरी बेच्ने भन्ने कुरा पनि उनलाई थाहा छ ।
‘गजनी’मा उनले नांगो टाउको भएको लुकमात्र अपनाएनन् । इन्डियाका धेरै सहरहरूमा चलचित्रको प्रमोसनका लागि दर्शकहरूको कपाल आफैँ काटे । त्यसले चलचित्रका लागि ठूलो चर्चा बटुल्यो । त्यसपछि ‘थ्री इडियट्स’का लागि उनी एक सामान्य विद्यार्थीजस्तै कलेज–कलेजमा घुमेका थिए । ‘पीके’को प्रमोसनका लागि आमिर रेडियो जक्की बनेका थिए ।
आमिरको यो शैलीले सिनेमाअनुसारको प्रचार शैली अपनाउनुपर्ने देखाउँछ । नेपालमा चलचित्रको विषयअनुसार चलचित्रको पब्लिसिटी भइरहेको छ ? मेकरले आफ्नो समीक्षा आफैँ गर्दै 'म कहाँनेर छु' भनेर मूल्यांकन गर्नुपर्ने बलिउडकै प्रचार शैलीले झक्झक्याइरहेको छ ।