
काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’मा पहिलोपटक मुख्य भूमिकामा देखिएका अभिनेता विजय बरालको पुनः प्रमुख भूमिका रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिजको पूर्वसन्ध्यामा छ । यो चलचित्र भदौ ६ गते रिलिज हुँदै छ ।
विजयको मुख्य भूमिका रहेको यो दोस्रो चलचित्र हो । ‘पूर्णबहादुरको सारङ्गी’पछि आउन लागेको यो चलचित्र व्यापारिक रूपमा कति सफल हुन्छ भन्ने यतिबेला धेरैमा जिज्ञासा छ ।
‘पूर्णबहादुरको सारङ्गी’मा वृद्धको भूमिकामा देखिएका विजय यो चलचित्रमा युवकको भूमिकामा छन् । वृद्धको भूमिकामा रुचाएका दर्शकले उनलाई युवावयको भूमिकामा कति रुचाउलान्, भदौ ६ गतेपछि निर्क्यौल हुनेछ ।
‘पूर्णबहादुरको सारङ्गी’जस्तै प्रमुख भूमिका रहेको दोस्रो चलचित्र ‘जनै हराएको मान्छे’ पनि बक्सअफिसमा सफल होला कि नहोला भन्ने दबाबमा विजय छन् । यद्यपि, हरेक चलचित्र नयाँ भएकाले एकसँग अर्को तुलना गर्न नहुने उनको तर्क छ । हरेक चलचित्र विषय र प्रस्तुतिका हिसाबले छुट्टाछुट्टै हुने र सोही अनुसार मूल्यांकन हुनुपर्नेमा उनको जोड छ ।
चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।