
काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक ‘फ्लाइङ ट्याक्सी’ (उड्ने ट्याक्सी) सार्वजनिक भएको छ । नाडा अटो साे २०२५ अन्तर्गत चीनको चर्चित अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको डिपल ईभीटीएल (इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ) ‘फ्लाइङ ट्याक्सी’ सार्वजनिक भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको फ्लाइङ ट्याक्सी नाडा अटो साे २०२५ मा विशेष आर्कषण बनेको छ । नाडाले अटो साे लक्षित गरेर नै यो ‘फ्लाइङ ट्याक्सी’ तातोपानी नाकाबाट भरियालाई बोकाएर ल्याएको थियो ।
इह्याङ–चांगानको सहकार्यमा तयार भएको ‘डिपल ईभीटीएल’ पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित छ । यसले सिधा माथि–तल उडान तथा अवतरण गर्ने क्षमता राख्छ । यसलाई खासगरी छोटो दुरीको सहरी हवाई यातायातका लागि प्रयोग गर्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ ।
नाडामा सार्वजनिक भएको फ्लाइङ ट्याक्सीमा दुईजनासम्म बस्न सक्ने क्षमता, करिब ३० देखि ५० किलोमिटर उडान दायरा र छोटो समयमा चार्ज गर्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।
अझ महत्त्वपूर्ण पक्ष भनेको यो ट्याक्सी पूर्ण रूपमा स्वचालित (अटोमेटेड नेभिगेसन) प्रणालीमा आधारित छ । यसमा पाइलट वा चालकबिनै सुरक्षित उडान सम्भव बनाउने निर्माता कम्पनीको दाबी छ ।
नाडामा किन उडेन फ्लाइङ ट्याक्सी ?
मंगलबारदेखि सुरु भएको नाडाको मुख्य आर्कषणको रूपमा रहेको फ्लाइङ ट्याक्सी नेपालमा भने उड्नेछैन । उक्त फ्लाइङ ट्याक्सी उडाउनको लागि कुनै पनि कानुन नभएका कारण हाललाई प्रदर्शनी मात्रै भएको हो ।
नेपालमा यसलाई उडाउने कानुन नभएकाले हाललाई प्रदर्शनीको लागि मात्रै ल्याइएको चांगान नेपालका मार्केटिङ प्रमुख रमेश दनेखुले जानट्याक्सी दिए ।
“यो हाललाई सार्वजनिक प्रदर्शनीको लागि ल्याइएको हो । नेपालमा यसको कुनै कानुन छैन । यसलाई उडाउन छुट्टै कानुन आवश्यक पर्छ,” उनले भने, “यो यहाँ प्रदर्शनीपछि पुनः चीन नै फर्किन्छ ।”
नेपालजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण र सडक सञ्जाल सीमित मुलुकका लागि यस्तो प्रविधि भविष्यमा यातायात प्रणालीको महत्त्वपूर्ण विकल्प बन्न सक्ने दनेखुले बताए । यसले आपतकालीन उद्धारदेखि सहरी भिडभाड व्यवस्थापनसम्म ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नाडा अटो साे २०२५ मा ‘डिपल ईभीटीएल’ को प्रदर्शनलाई धेरैले ऐतिहासिक कदमका रूपमा लिएका छन् । नेपालमा पहिलो पटक सार्वजनिक गरिएको फ्लाइङ ट्याक्सीले यहाँको अटोमोबाइल उद्योगलाई नयाँ युगतर्फ डोर्याएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाए ।